Posted by: ashu March 19, 2007
Business Shutdown in Nepal
Login in to Rate this Post:     0       ?        
माओवादी ज्यादती गुणराज लुइँटेल माओवादीको राजनीतिक मूलप्रवाहीकरणपछि मुलुकमा दिगो शान्ति स्थापना हुन्छ भन्ने आमअपेक्षामा तुषारापात भएको छ । तिनको व्यवहारले चौतर्फी निराशा छाउन थालेको छ । यसैकारणले मुलुक फेरि अर्को एउटा अनिश्चितकालीन बन्दमा प्रवेश गरेको छ । र बन्दको पछिल्लो आह्वानकर्ता बनेको छ- मुलुकको पाँचौं आयाम अर्थात् व्यापारी वर्ग । देशभरि माओवादीका कार्यकर्ताबाट कुटिएका र दुव्र्यवहार भएका खबरहरू आइरहेका छन् । सबैभन्दा पछिल्लोपटक सार्वजनिक भएको घटना हो- होटल उड्ल्यान्डका मालिक हरि श्रेष्ठमाथिको आक्रमण । माओवादी खुला राजनीतिमा आएपछि यस्ता घटनाहरू रोकिएका छैनन् । कुनैनकुनै रूपमा दुव्र्यहार, कुटपिटले निरन्तरता पाइरहेको छ । मुलुक यतिबेला एउटा गम्भीर अराजकतातर्फ प्रवेश गरेको छ । कुनै पनि व्यक्तिले अब सुरक्षित महसुस गर्न सक्दैन । नागरिकले राज्यमा बसेपछि न्यूनतम सुरक्षा, सम्मानको प्रत्याभूति प्राप्त गर्छ । त्यसैका निम्ति नागरिकले राज्यलाई कर तिरेको हुन्छ । राज्यको नागरिक भएवापत व्यक्तिले आफ्ना केही स्वतन्त्रताहरूलाई छोडेको हुन्छ । राज्य र नागरिकबीचको त्यो सम्झौतालाई तोडेको स्थितिमा मुलुक पुगेको छ । सडकमा कुनै व्यक्ति निर्घात कुटाइ खान्छ, त्यतिबेला प्रहरी मौन बस्छ । मौन नबसोस् पनि किन ? कानुन हातमा लिनेहरू प्रहरीभन्दा शक्तिशाली छन् । गृह प्रशासन पूरै माओवादीको गुलाम बनेको छ । माओवादीका सांसदले संसद्का आपत्तिजनक अभिव्यक्तिका लागि गृहमन्त्रीले माफी माग्छन् । माओवादीका बन्दुक पक्रने प्रहरी सरुवा हुन्छन् वा कारबाहीमा पर्छन् । यो स्थितिमा कुन प्रहरी/प्रशासनले निडर र निष्पक्ष भएर काम गर्न सक्छ ? माओवादीले अहिले यी घटनामा आफ्नो संलग्नता नरहेको बताउन थालेको छ । र आफ्नो पार्टीलाई यस्ता घटनामा नजोडियोस् भन्ने आग्रह पनि यसको नेतृत्वकोे छ । माओवादीकै नाममा चलेका संगठन र व्यक्तिहरूले गरेको घटनामा ऊ नजोडिने प्रश्नै हुँदैन ? पार्टीमा आबद्ध व्यक्तिहरूले पार्टीकै नाममा चन्दा संकलन वा अन्य अभिष्ट पूर्तिका लागि गरेका हर्कतहरूले अहिले समाजमा तनाव सिर्जना गराएका छन् । माओवादीको यो जबर्जस्तीलाई नियन्त्रण गर्ने कुनै संयन्त्र मुलुकमा छैन । त्यसले सबैभन्दा बढ्ता नोक्सानी पनि उसैलाई गरिरहेको छ । यो शक्तिले मुलुकको अग्रगमनका लागि योगदान दिनेछ भनी सोच्नेहरूलाई अहिले निराश पारेको छ । राज्यका संयन्त्रहरूले केही गर्न नसकेका माओवादीका क्रियाकलापलाई उजागर गरेका कारण अहिले प्रेस सबैभन्दा ठूलो दुश्मनका रूपमा चित्रित हुन थालेको छ । माओवादी अध्यक्ष प्रचण्डले नेपाली प्रेसले जनआन्दोलन ०६२/६३ मा जस्तो अग्रगमनकारी भूमिका खेल्न नसकेको र विचलित भएको आरोप आफ्नो पार्टी सम्बद्ध पत्रकारको संस्थाको सम्मेलनमा बताए । उनले भनेका छन्- 'प्रेस जगतमा विग हाउसहरूको विगविगी र विदेशी लगानीको प्रभावका कारण सही सूचनाभन्दा बढी भ्रम सिर्जना गर्ने काम भइरहेको छ ।' निश्चय नै एकदलीय सोच राख्ने कम्युनिस्ट पार्टीको नजरमा स्वतन्त्र प्रेस विचलनको अवस्थामा रहेको अनुभव हुन्छ, किनभने यसले माओवादीका पक्षमा 'प्रोपोगन्डा' नगरेर जनता जगाउने काम गर्छ । माओवादीका लागि सबै प्रेस मुखपत्र भइदियो भनेमात्र विचलित नभएको ठानिन सक्छ । बहुलवादी मुलुकको एउटा आधारस्तम्भका रूपमा प्रेसले सदैव काम गर्छ । यदि यसले सत्यलाई सत्य भन्ने आँट गरेन भने त्यो मुलुक र मुलुकबासीले कसैले नपाएको दुःख पाउँछन् । राजाको निरंकुशताको अन्त्यका लागि नेपालीले गरेको संघर्ष कुनै अर्को पार्टीको निरंकुशता स्थापनाका लागि होइन । अहिले आएर माओवादीका कार्यकर्ताहरूले खुलेआम गोली प्रहार, कुटपिट र दुव्र्यहार गर्न थालेका छन् । यसले त्यो पार्टीको साख असाध्यै घटाएको छ । बालुवाटारमा प्रचण्ड प्रकट भएर अभिव्यक्ति दिँदाको क्षण र त्यसपछि गिर्दै गएको साखलाई यो पार्टी नेतृत्वले महसुस गर्नु उचित हुन्छ । दिगो शान्तिका लागि माओवादी संवेदनशील छ भने यसले तत्कालै आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्नु आवश्यक छ । माओवादीले साम्यवादी शासन व्यवस्था स्थापना होइन लोकतन्त्रको सुदृढीकरण गर्न चाहेको हो भने आफ्नो कारणले अराजक स्थिति आउँछ कि ? भन्नेमा संवेदनशील हुनुपर्छ । माओवादीका यस्ता क्रियाकलापले प्रतिगामीलाई नै फाइदा पुग्न सक्छ । Posted on: 2007-03-19 21:29:42
Read Full Discussion Thread for this article