Posted by: Nepe March 9, 2007
मधेश छोड्न पाहाडी वासिन्दालाई टाइगर्सको चेतावनी
Login in to Rate this Post:     0       ?        
समय बित्दै जाँदा मधेसी आन्दोलन पनि संग्लिदै गएर यसले स्वच्छ, शान्त र सक्रियतावादी स्वरुप ग्रहण गर्नेछ भन्ने कुरामा मलाई विश्वास छ । त्यसैले केही अतिशयोक्तिवाद र देखाजायगावाद हावी भएको देख्तादेख्तै पनि मैले संकोचविहिन समर्थन गरेको हुँ । मधेसी आन्दोलनको पहिलो खेपले मधेसी र राष्ट्रिय दुवै महत्वको कम्तीमा दुई ठूला उपलब्धी दियो मेरो विचारमा । एउटा सार्वभौमिक महत्वको कुरा- यसले मधेसी समुदाय वञ्चित भईरहेको "ईज्जत" लाई पुनर्स्थापना गरिदियो । अब एउटा मधेसीलाई प्रत्यक्ष अपहेलना गर्न एउटा शहरिया पहाडी हिच्किचाउने छ । वास्तवमा मधेसी आन्दोलनले हाम्रो पुरानो राष्ट्रिय चेतलाई नराम्ररी हल्लाईदिएको छ । यो अत्यन्त जरुरी थियो र सफलतापूर्वक सम्पन्न भयो पनि । दोश्रो, राजनैतिक महत्वको कुरा, आठदलले झण्डै झण्डै बिर्सन खोजिसकेको कुरा- संघात्मक पुनर्संरचना- लाई पुनर्जीवित गरिदियो मधेसी आन्दोलनले नै । पुनर्जीवित मात्तै होईन, आठैदलले यसप्रति प्रतिवद्धता पुन: व्यक्त समेत गर्नु पर्‍यो । मधेशलाई मात्र लाभ हुने र पहाडलाई अन्याय हुने प्रकृतिको माँग ("भौगोलिक विकटता" प्रति अन्धो रहने चुनावी बाँडफाँड) पुरा गराउन पनि मधेसी आन्दोलन सफल भयो । तर यसप्रति मेरो कुनै गर्व छैन । मधेसी समुदायको ईज्जतवर्धन र संघात्मक संरचनाको बहस (बहस मात्र नि, जातिय संघकै मामलाको कुरा गरेको होईन) को प्रक्षेपणको लागि मधेसी आन्दोलनले मेरो सलाम पाउँछ । किन्तु, परन्तु ... (सि के लालप्रति क्षमायाचना सहित), मधेसी आन्दोलन वयस्क हुँदै जानु पर्ने बेलामा यसलाई केटाकेटीकरण गर्ने काम भएको छ यो दोश्रो चरण भनिएको आन्दोलनमा । मधेसी आन्दोलनको राजनैतिक नेतृत्व पनि हाम्रो राष्ट्रिय राजनैतिक नेतृत्व जस्तै एउटै ड्याङका नालायक मुला देखिए । माँग र शैली दुवैमा केटाकेटीपन छ । अबको खेपको आन्दोलन मुठ्ठीभरले संचालन गर्ने बन्द र तोडफोड होईन विशाल विशाल शान्तिपूर्ण मानव-महासागर उराल्ने प्रदर्शन, बहस, वार्ता र अनवरत सक्रियतावाद (activism) ले गर्ने आन्दोलन भएमा मात्र समर्थित हुन्छ भन्ने कुरो आन्दोलनका संचालकले बुझ्न नसकेको देखिन्छ । मैले माथि भनेनी नेपालको पुरानो राष्ट्रिय चेतलाई मधेसी आन्दोलनको पहिलो चरणले नै नराम्ररी हल्लाईदिइसकेको छ । तर आन्दोलनका संचालकहरु भने धित नमरेर हो कि बढी झर्छ भनेर हो हल्लाएको हल्लाएइ गरिरहन चाहिरहेका छन् । फेरि माँगलाई पनि 'एउटा बलिको बोको देउ' भन्ने जस्तो केटाकेटौलेपनमा पुर्‍याएर टुङ्ग्याएका छन् । बलिको बोको नै खोजेको हो भने एउटा स्यानो पाठो किन खोज्ने, ठूलै डुङडुङती गन्हाएर बसेको माउ बोको पो ताक्नुपर्छ । होईन, बलीको बोको नभएर दण्डप्रणाली खोजेको हो भने भने, खोई प्रणालीगत सुधारको सुझाव/माँग ? खोई अनुशासनविहिन प्रदर्शनकारीले समेत दण्ड भोग्नुपर्ने आधारभूत मान्यताको स्वीकार ? अब बाँकी रह्यो समानुपातिक चुनाव प्रणालीको माँग । मैले धेरै पटक भनिसके, केही मधेसी विद्वानहरु सामु च्यालेञ्जको रुपमा समेत राखेको हुँ, यो माँग राख्ने स्वयंलाई के माँगेको हो भुतोभाङ थाहा छैन । पूर्ण समानुपातिक प्रणाली न सम्भव छ, न उपयुक्त छ, न त माग्ने स्वयंले नै थेग्न सक्छ । सम्भव, उपयुक्त र खोजेको भनेको अर्धसमानुपातिक प्रणाली हो, जुन कुरा मधेसी आन्दोलन जन्मनुभन्दा पहिल्यै पुरा भईसकेको छ, अन्तरिम सम्विधानमा । त्यसैले अब कुनै जल्दोबल्दो राजनैतिक माँग बाँकी छैन । अब त मधेसी सबलीकरणका दीर्घकालिन र मिहिन कुराहरुमा सक्रियतावाद देखाउनुपर्ने चरण हो । अहिले जुन केटाकेटौले शैली र माँगमा आन्दोलन भईरहेछ, गैरमधेसीको त कुरै छाडौं राष्ट्रिय स्तरका मधेसी नेताहरुले पनि असमर्थन जनाईरहेका छन् । हालको मधेसी आन्दोलनको दिशा, लक्ष र शैलीलाई छिट्टै ठीक ठाउँमा ल्याएनन् भने आन्दोलनका नाईकेहरु हाम्रो दलहरुले एक जमानामा सकिनसकि एक दर्जन जति कार्यकर्ताहरुलाई रत्नपार्कमा उभ्याउने खालको आन्दोलनमा गएर तुरिनेछन् र वृहद मधेसी सक्रियतावाद भने पुरानै मधेसी नेतृत्वको हातमा फर्किनेछ । तर मधेसी आन्दोलनको अवनति र त्यसबाट पुग्ने क्षतिको लागि भने म आन्दोलनकारीलाई द्वितियक मात्र र सरकारलाई चाही प्राथमिक जिम्मेवार देख्छु । यस बारे चाही अर्को पटक ।
Read Full Discussion Thread for this article