Posted by: gaalab February 3, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
सबैलाई जदौ छ। स्वस्थानी सुन्ने मान्छे कोही पनि नआए पनि म चैं आफ्नो अगाडिको यो कम्प्युटरलाई भने पनि सुनाउँछु। चौतारी स्वस्थानी व्रतकथा - ३१ (अन्तिम अध्याय) वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि! तहाँ उप्रान्त ग्वाँचेले ममको पैसा तिर्न लाग्दा पसलको टेलिभिजनमा गुहेश्वरीको जंगलमा फेला परेको मन्दिरबाट बाघको र शिवजीको मूर्ति हराएको सूचना आउन लाग्यो। टिभीमा बिहान भर्खर खिचेको सर्भेलियन्स क्यामेराको दृष्य पनि देखाउन थालेपछि त के गर्नु कसो गर्नु भयो र तत्काल पसल बाहिर निस्किन लागे। जुरेली पनि बाहिर आएर एउटा कालो चस्मा थमाउँदै भन्न लागी - "हैन, हाम्रो गामका मान्छेहरुले खान पनि के खान्छन्? जो पनि सधैं छली-ढाँटी र उपद्रो मात्रै गर्छन्। ल, यो चस्मा लगा'र हिंड्नु, उसो भए मान्छेले चिन्न गहारो पर्ला। अब यता २-४ महिना नआउनुस्।" पसलभित्रबाट एउटा ग्राहकको आवाज सुनियो "यो टिभीमा शिवजीको ठाउँमा बस्ने मान्छे त कतै देख्या देख्या जस्तो पो लाग्छ हो!" दिनभरि सडकमा हिंडेपछि साँझ पनि पर्न लाग्यो र रात कहाँ बिताउने भनेर चिन्ता लाग्न थाल्यो। होटलतिर जाऊँ भने टिभी हेरेकोले पक्कै चिनिहाल्लान्। सडकमै बसौं भने लगातार माघको जाडो के चिसोमा बिताउने भन्ने लाग्यो र सोच्दा सोच्दै कुम्लेको याद आयो। कुम्लेले श्लेशमान्तकमा तपस्या गर्दा गर्दै बिचैमा छोडेर हिंडेको र अरु हन्डरहरु खाएको त ग्वाँचेले पनि सुनेका थिए। साँच्चै कुरा के रहेछ सिधै जान्ने ईच्छा पनि पलाएर आयो र कुम्लेको डेरातिर पाइला सार्न लागे। चारपटक ढोका ढकढकाएपछि कुम्लेले ढोका खोलेर "ओहो ग्वाँचे कताबाट बाटो बिराएर आइपुग्यौ? हेर न म पनि भर्खर बाहिरबाट फर्किंदैछु।" भन्दै ग्वाँचेलाई भित्र बोलाएर र ओभरकोटलाई ह्याङ्गरमा झुन्ड्याउँदै बस्ने ईशारा गरे र सोधे "के कति कामले आ'थ्यौ काठमान्डौ?" ग्वाँचेले उत्तर दिए "आउन त त्यसै आ'को यार। तर यसचोटि चैं काठमान्डुमा हन्डर पनि गरियो, भण्डार पनि भरियो! बरु तिम्रो सुनाऊ न, तिमीले त महादेवसँग पनि जम्काभेट गरेछौ के रे!" ग्वाँचे बज्जियाले पनि कता'ड थाहा पाएच भन्ने सोच्दै कुम्लेले जवाफ दिन लागे "ए! म काठमान्डौंको कोलहालदेखि वाक्क लागेर यसो मेडिटेसन् गरौं भनेर श्लेशमान्त गएको थिएँ। महादेवले डिस्टर्व गरेर बबाल। एउटा केटी भिडाएर मेरो मेडिटेसन् भङ्ग गर्न लागे अनि मैले पनि 'महादेवलाई नै यस्तो लाग्छ भने के मेडिटेसन गरिरहने?' भनेर बिचैमा हिंडे।" कुम्लेको जबाफ सुनी ग्वाँचेले सोफातिर देखाउँदै सोध्न लागे "त्यो कहाँबाट यहाँ आयो कुम्ले?" एक्कासि ग्वाँचे कराएको देखेर कुम्ले हडबडाउँदै सोफामाथि राडी फालेर बस्दै भने "यो? यो सोफा मैले अस्ति मात्रै ----" कुम्लेको उत्तरलाई बिचैमा काटेर ग्वाँचे बोले "सोफा हैन क्या, भर्खर यो राडीले छोपिएको कुरा। अहिले तिमी बिचमा बसेकोले छेकियो - मेरो ज्याकेट। आज बिहान मात्रै गुहेश्वरीको जंगलमा एकजना हाम्रो गाउँको मान्छेले मलाई झुक्याएर ----------------------, कुम्ले! तिमी पो?" इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे एकतींसोध्याय॥३१॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्। पुनश्च: आदरणीय पाठक (श्रोता)बृन्द। आज अन्तिम भाग पस्केर स्वस्थानीको सांगे गरेको छु। यो पुस माघको ठण्डीमा दिनदिनै बिहान बिहानै स्वस्थानी भन्दा भन्दा मलाई पनि रुघा लाग्ला जस्तो छ। संयमपूर्वक पढ्नुभएकोमा (सुन्नुभएकोमा) आभारी छु। उप-वाचक चित्रबहादुर मुखियालाई बिशेष धन्यवाद! स्वस्थानीको कथा भित्र छिर्नुभएका सबैलाई पनि धन्यवाद, हाँस्यको पात्र बनाइदिँदा पनि सहेर बसिदिनुभएकोमा धन्यवाद! धन्यवाद!! धन्यवाद!!! ल, स्वस्थानीको प्रसादहरु बाँड्नुहोस्। पुजारीलाई टिका-टालो, दान-दक्षिणा, अन्न-भेटी चढाउनुहोस्। ॐ शान्ति शान्ति शान्ति पुवा पाए खान्थीं रोटी पाए घर लान्थीं॥ :-)
Read Full Discussion Thread for this article