Posted by: gaalab January 31, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
आजको कथा पनि कतिले त सुनिसकेको हुनुपर्छ। नरिसाम् है! :) चौतारी स्वस्थानी व्रतकथा - २७ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि, तहाँ उप्रान्त जलदेवताले घन र बन्चरो आफैंले राखेपछि ग्वाँचेलाई पनि पर्नु पीर पर्यो। "त्यो बन्चरो मेरो हो" भनुम् भने जलदेवताले त्यहीं बाबुको बिहे देखाइदेलान् भन्ने पीर। बन्चरो नलिई गए ऋण माथि ऋण। यस्तो दुखमा परेपछि कही नलागेर जीउमा खरानी धसेर जोगी जस्तो बनेर गरी कान्तिपुर तिर लागे। कान्तिपुरमा सडक सडकै डुल्दा एउटा कालो चस्मा लगाएको, कालो सुट लगाएको मान्छेले निकै बेर पिछा गर्न लाग्यो। भाग्ने प्रयास गर्दा पनि केही शीप नलागे पछि त्यस मानिससँग रिसाएर सोध्न लागे "हे मनुष्य! तिमी को हौ? र किन मेरो पिछा गरिरहेका छौ?" ग्वाँचेको यस्तो कुरा सुनेर उक्त मानिसले उनलाई एकान्तमा लगेर सोधपुछ गरेपछि भन्न लाग्यो "हेर, म एक व्यापारी हूँ। दुई चार दिनको लागि तिमीलाई मिल्ने काम छ। पैसा पनि मालामाल हुन्छ। हामी साथीहरु मिलेर पुरातत्व बिभागले हाल नियन्त्रणमा लिएको एउटा मन्दिर र मूर्तिहरु फेला परेको ठाउँ छ। आज राति हामीहरु त्यो मूर्ति अस्ट्रिया र बेल्जियम नाम गरेका मुलुकहरुमा लगेर बेच्ने तर्खरमा छौं। तर एउटा समस्या छ; त्यो के भने भोलि बिहानसम्ममा मूर्ति हराएको कुरा प्रहरीलाई जसरी पनि थाहा भइहाल्छ। तिम्रो अनुहार र शरीरको बनोट शिबजीको मूर्तिसँग दुरुस्त मिल्दो रहेछ। झन यो खरानी धसेपछि त कसैले चिन्ने सम्भावना पनि छैन। त्यसैले केही दिनका लागि शिबजीको मूर्तिको सट्टामा तिमी नचलेर बसिरहनु पर्यो। हाम्रो माल ग्राहकको हातमा परेर कुरा साम्य भएपछि कुनै दिन राति म आफैं तिमीलाई लिन आउनेछु। पैसाको चिन्ता नगर, पाँच लाख रुपियाँ अहिले दिउँला र काम फत्ते भएपछि प्रत्येक दिनको एक लाख पाउनेछौ।" यस्तो सुनेर ग्वाँचे पनि "ऋण तिर्ने उपाय पनि मिल्यो। बसी-बसी लखपति पनि हुने भइयो। कहाँ अरबको घाम, कहाँ नेपालको शीतल!" भन्ने सोची तत्कालै सहमति जनाए। तहाँ उप्रान्त त्यस मानिसले उनलाई गुह्येश्वरीको जंगलमा लग्यो। जंगलको बिचमा उत्खननको अवस्थामा रहेको मन्दिरभित्र पसेपछि उक्त मानिसले उनलाई नक्कली जटा, नक्कली सरप, नक्कली बाघको छाला लगाइदियो र घाँटी, जटा र कुममा रुद्राक्षको माला पहिराइदियो। अनि भन्न लाग्यो "हे ग्वाँचे, तिमी यो मूर्तिजस्तै देखिन्छौ। यो ज्याकेट रातभरि लगाए हुन्छ। तिमी बस्नेठाउँको तलतिर एउटा ठुलो प्वाल खोपेर राखेको छु। राति कोही आयो भने चाहिं ज्याकेट तत्काल त्यहीं लुकाऊ। नत्र भने भोलिबिहान भएपछि त्यहीं लुकाएर दिनभर अचल अवस्थामा बस।" भन्दै लाख-लाखका बिटा पाँच ओटा थमाइदियो र शिवजीको सक्कली मूर्ति बोकेर फर्कियो। रात परेपछि ग्वाँचेलाई वनको एकान्तमा डर लाग्न थाल्यो। कहिले उल्लु कराउँथ्यो भने कहिले जंगलको बिचबाट बाघ कराए जस्तो लाग्न थाल्यो। कहिले मान्छे बात मारेको जस्तो भान हुन्थ्यो। यो पूराना कुराहरु फेला परेको ठाउँमा भूत-प्रेतले तर्साउन पनि के बेर? झन भूत, प्रेत, पिशाच त महादेवको गणमा पर्छन् केरे भन्दै ज्यानको पीर गर्न लागे र भोलिपल्ट बिहान हुने बित्तिकै भागेर गाउँ फर्कने प्रण गर्न थाले। यस्तैमा मन्दिर वाहिर कोही हिंडेको आवाज आएकोले ग्वाँचेले तत्काल ज्याकेटलाई आफू बसेको ठाउँको तल्तिर लुकाए भने पैसा चाहिं बाघको छालाभित्र घुसारे। जुनेली रातमा ढोका बाहिर चारखुट्टे जनावरको छायाँ देखेपछि त झन सातो नै गयो। एक मनले "यो गुह्येश्वरीमा केको बाघ होला र? वानर होला" भन्ने सोच्यो। अर्को मनले "बाघ भनेको त देवीको वाहन पो हो केरे! गुह्येश्वरी भगवतीको वनमा बाघ नभए कहाँ हुन्छ त?" भनी ठम्याएपछि त मुटुमा ढ्याँङ्ग्रो ठोक्न थाल्यो। आङ् पुरै सिरिंग भयो, अनि घुटुघुटु थुक निल्न थाले। नभन्दै ढोकाबाट राजुको पपीजस्ता कुकुरजस्तालाई एकै गाँसमा चारवटा खाइदेला जस्तो ठुलो, ज्याङ्गो, चार खुट्टे पशु लमक लमक गर्दै कोठाभित्र छिर्यो। आफैंले बेरेको जस्तो टाटेपाङ्ग्रे छाला र पिर्लिक्क पारेको आँखा देख्ने बित्तिकै ग्वाँचेलाई के हो भनेर ठम्याउन गहारो परेन; बाघ सामुन्ने खडा थियो। बाघ भने वरिपरि राखिएका सबै मूर्तिहरु एक-एक गर्दै सुङ्दै आफूतिर आउन लाग्यो। आफ्नो पालो आएपछि होस बेहोस होला जस्तो भए पनि सहने साहस गरे र सास रोक्न लागे। तर, माघ महिनाको जाडोले ज्यान लुगलुग काँप्न थाल्यो भने त्यही जाडोको बाबजुद निधारमा चिटचिट पसिना आउन थाल्यो। अन्त्यमा अनायसै घुटुक्क थुक निल्न पुगे। त्यो थाहा पाएर आफूबाट हट्न लागेको बाघ आफूतिर फर्कियो। ग्वाँचे "ल जिन्दगी खत्तम भो" भन्दै मनमनले रामको नाम जप्दै लामो सास तानन लागे। बाघ उनीतिर आएर एकछिन घोरियो र, अचम्मको कुरा, भन्न लाग्यो "ब्रो नयाँ हो? यसो गाँजा छ भने एक स्टिक पास गर न यार। यो जाडो रात के गरेर कटाउने? मेरो पनि तिम्रै जस्तो हाल भ'को ४-५ दिन भयो। आफूले त झन ढाड सिधा बनाएर पनि हिंड्न पा'छैन।" इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे सप्तर्विंशोध्याय॥२७॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
Read Full Discussion Thread for this article