Posted by: gaalab January 30, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
जदौ यो बिर्खे माइलाको! हेहे थुली! ल, नयाँ भाग पढ। :) गामले हो, आजको अध्याय पनि सुनेको सुनेको जस्तो लाग्ला। आज अलि अल्छी लागेकोले भुलचुक र कमी कमजोरी होलान् झैं लाग्छ। दोहोर्याएर हेर्न पनि अल्छी लागो। आफैं मिला'र पढ्नुहोला। अनि बिस्तार बिस्तार माघ सुक्ल पूर्णेमा पनि आउन लाग्यो। स्वस्थानी पढ्न मन लागेका अरुहरुले पनि एक दुई अध्याय हानिहालम् है! चौतारी स्वस्थानी व्रतकथा - २६ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि, तहाँ उप्रान्त जिम्माल बुढाको कथा गोप्य राखेको हुनाले कसैलाई पनि थाहा नभए पनि लालेले फलामको बन्चरोलाई सुनको बनाएर ल्याएको हल्ला गाउँभरि फैलिन लाग्यो। यता घरखेत बेचेर सिरे झैं अरबतिर जाने सुरसार गरेको ग्वाँचेलाई लाग्न थाल्यो "ए रात्तै! काम गरे आफ्नै धर्तीमा सुन फल्छ भन्या त यही पो र'च त। बेकारमा दलालीलाई पैसा सुम्पेर अरबको बालुवामा घाम खानुभन्दा बरु यसरी नै सम्पत्ति जोडे भइहाल्यो नि!" यस्तो बिचार गरी तत्काल नयाँ बन्चरो (axe) र घन (hammer) किनेर ल्याए र केही दिनपछि वनतिर लागे। पोखरीको छेउमा पुगेर वरिपरि कोही पनि नभएको पक्का गरेपछि छेउको रुख ढाल्न लागे र २-४ चोट हानेपछि जानी जानी बन्चरोलाई हातबाट फुस्काएर पोखरीमा फालिदिए। अनि केही समय विलाप गरेजस्तो गरेपछि त्यो रुखलाई घनले हान्दै ढलाउन लागे। फेरि पनि २-४ पटक रुखलाई हानेपछि घन पनि पोखरीमा फालदिए र गोहीले आँसु देखाए झैं गरी नक्कली आँसु निकाल्दै बिलाप गरिटोपले। हे अगस्त्यमूनि! तहाँ उप्रान्त जति बिलाप गरे पनि जलदेवता ननिस्केपछि ग्वाँचेलाई "कतै जलदेवता बसाइँ त सरेनन्?" भनेर शंका लाग्न थाल्यो। हुन पनि श्रीपञ्चमीबाट बसन्त ऋतु सुरु हुन्छ भन्छन्। श्रीपञ्चमी पनि अस्ति भर्खर नै हो। जलदेवता पनि वसन्त ऋतु लागेर देवताहरु बस्ने हिमालयतिर फर्के कि भन्ने पनि लाग्यो। अनि त साँच्चैकै वन थर्किने गरी रुन थाले "हे भगवान! यो के भयो? मैले अस्तिभर्खर मात्रै बनाउन दिएको नयाँ बन्चरो र घन त्यसै स्वाहा भयो। जिम्माल बुढासँग सापटी लिएको पैसा पनि तिर्न भ्याएको छैन। ऋणले गर्दा अरब भासिन पर्नी बेला भा'छ। त्यसमाथि यो ऋण। अब के गरुँ?" उनको रुवाइ सुनेर वनका पशुपंक्षी पनि के भयो भनेर हेर्न थाले। अन्त्यमा जति रोए पनि केही नहुने देखेर, फलामकै भने पनि बन्चरो र घन नलगी भएन भनी नयाँ आइडिया निकाले। वनबाट काठको साटा खोजेर ल्याई त्यसले पोखरीको डिल खोपी पानी तर्काउन लागे। ताल निकै गहिरो भएकोले पानी पुरै तर्काउन्जेलमा साँझ पर्न गयो। हिलै हिलो मात्र बाँकी पोखरीको पिंधमा खोज्दै जाँदा कतै माछा भेटिए, कतै भ्यागुता भेटिए भने कतै गँगटा भेटिन थाले। पोखरीको बीच भागमा मुढो लढे झैं के लढेछ भनी हेर्दा हातमा बन्चरो बोकेका र छातिमाथि घनले च्यापिएर हलचल गर्न नसकेका जलदेवता पो !! होस खुलेपछि जलदेवताले ग्वाँचेलाई भने "यो पोखरीमा आज बन्चरो र घन फाल्ने को हो बाबु? तिमीले चिनेका छौ? म त्यसलाई यही घनले हानेर बेहोस् पारिदिन्छु।" इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे षष्ठर्विंशोध्याय॥२६॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
Read Full Discussion Thread for this article