Posted by: gaalab January 29, 2007
--चौतारी ४४ --
Login in to Rate this Post:     0       ?        
आजको अध्याय चाहिं धेरै जसोले सुनिसक्नु भएको होला । चौतारी स्वस्थानी व्रतकथा - २५ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि, जिम्माल बुढाले तीन बीस हिउँद काट्न लागिसक्दा पनि घरबार भने अँझै नभएकोले गाउँलेहरुले "अब यी बुढाको यस्तै चाला हो भने जिन्दगी यसै बित्ने भयो" भन्ने निर्क्यौल निकाली अर्को गाउँबाट तीन बीसको उमेरसम्म कन्या नै बसिरहेकी स्त्रीसँग बिहे गराइदिए। ती स्त्री कस्ती भने कान पनि कम सुन्ने, आँखा पनि कमजोर, रुघा पनि लाइरहने, घाँटी पनि दुखिरहने। बुढेसकालमा बिहे गरेको, झन घाँडो भयो भन्ने सोची श्रीमतीलाई कसरी अलि तन्दरुस्त र बलियो बनाउन सकिन्छ भनेर पीर गर्न लाग्दा कोही अस्पताल लैजाऊ भन्थे, कोही ब्युटी पार्लर लिएर जाऊ भन्थे। कुनै दिन स्कूल मूनिको चौतारोमा बसेर तमाखु खाइरहँदा लालेलाई आफूतिर आइरहेको देखे। बिहान दाउरा काट्न जान्छु भनेर आफ्नै अगाडि वन पसेको मान्छे २-४ घन्टामा नै फर्केको देखेर अचम्म लाग्यो र सोध्न लागे "हे लाले! तँ त बिहान दाउरा काट्न भनेर हिंडेको थिइस्। खाली हात फर्किस्। निकै खुसी पनि देखिन्छस्। भन् के भयो?" जिम्मालको यस्तो प्रश्न सुनी लाले पनि चौतारीको डिलमा बसेर बोल्न लाग्यो "हेर्नुस् जिम्माल बा! आज त अचम्म भो। मलाई धेरै फाइदा पनि भो। पोखरीको डिलको रुख काट्न लागेको थिएँ। चानस पनि कस्तो पर्यो भने बन्चरो फुस्किएर पोखरीमा झर्यो। आफ्नो भएको जम्मा एउटा बन्चरो पनि पोखरीमा खसेपछि रुन मन लाग्यो र पोखरीको डिलमा बसेर विलाप गर्ने लागें। अनि त अचम्मै भयो नि त, पोखरीबाट जलदेवता उत्पन्न भई सुनको बन्चरो देखाउँदै 'यो बन्चरो तिम्रो हो?' भनेर सोधे। आफ्नो फलामको बन्चरोको सट्टामा सुनको बन्चरो पाउँदा 'हो' भनम् जस्तो लाग्या त थियो। तर, अस्ति ठ्याक्कै मास्टर्नी दिदीले पढा'को 'दाउरे र बन्चरो' कथाको याद आयो। अनि 'आज सुनको बन्चरो पक्का पाइने भइयो' भनी सोच्दै 'हैन, मेरो बन्चरो त्यस्तो छैन। मेरो बन्चरो त फलामको छ' भनें। जलदेवताले 'यो बास्तवमा तिम्रै बन्चरो हो। मैले तिम्रो बन्चरोमाथि सुनको कोटिङ् गरेको हुँ। तिम्रो इमान्दारिता देखि म प्रसन्न भएँ। यो सुनको बन्चरो लैजाऊ' भनेर दिए।" सुनको पहेंलो बन्चरो देखाउँदै लालेले ङिच्च गर्दै त्यहै सुनकै जस्ता पहेंला तीस दन्त देखायो। लालेको यस्तो कुरा सुनी जिम्माल बुढाको मनमा पनि लोभ पलायो। र, भोलिपल्ट "बोटिङ् जाऔं" भनेर रुघाले ग्रसित जिम्माल्नीलाई त्यही पोखरीमा लिएर गए। डुङ्गामा केही समय सफर गरेपछि जिम्मालले जिम्माल्नीसँग टाइटानिकको पोज गर्न परो भनेर उठाए। जिम्मालले त्यही बेलामा डुङ्गालाई हल्लाइदिए र जिम्माल्नी पोखरीमा खस्न पुगिन्। जिम्माल चाहिं डुङ्गामा बसेर "हे भगवान! यो के अनर्थ भयो? यो बुढेसकालमा बल्ल बल्ल बिहे गरेको। त्यही पनि आज यो पोखरीमा डुबेर मर्ने भई" भन्दै बिलौना गर्न लागे। तहाँ पश्चात, केही बेर पछि पोखरीबाट जलदेवता उत्पन्न भए र सँगै लिएर आएकी युवतीलाई देखाउँदै जिम्माललाई सोध्न लागे "हे जिम्माल! तिम्रो विलौना सुनेर मलाई पनि दुख लाग्यो। यी स्त्री तिम्री श्रीमती हुन्?" हे अगस्त्यमूनि, ती महिला कस्ती भने बत्तीस लक्षणले युक्त भएकी। अस्ट्रीचका जस्ता लामा खुट्टा भएकी, हाँसका जस्ता लामो घाँटी भएकी, मृगका जस्ता आँखा भएकी मृगनयनी र हेर्दामा भर्खर ११ पुरा गरेर १२ शुरु गरेकी। कुमारजीको उक्त कुरामा अगस्त्यमूनि अचम्म हुँदै सोध्न लागे "हे कुमारजी! ११ पुरा गरेर १२ पुरा गरेकी त बालिका भइहालिन् नि, कसरी महिला भइन्?" अगस्त्यमूनिको प्रश्नको उत्तर दिंदै कुमारजी आज्ञा गर्न लाग्नुभयो - हे अगस्त्यमूनि, मैले कक्षाको कुरा गरेको। अहिले जमानामा मान्छेको उमेर पढाइको वर्षले हिसाब गरिन्छ। तिमी त पुराना पो भएछौ। तर जे होस्, ती स्त्री भर्खरकी जस्ती देखिन्थिन् है! तर नाकको टुप्पाबाट चुहिन लागेको सिंगान देखेर जिम्माल पनि आफ्नी श्रीमती भनेर आश्वस्त भए। अनि अघिल्लो दिन लालेले दिएको आइडिया सम्झिंदै 'हो भन्यो भने फेरि पहिलेकी जस्तै बुढी र रोगी नै छोडिदेलान्' भनी सोच्दै उत्तर दिए "हे प्रभो! होइन। मेरी दुलही त अलि दुब्ली, अलि कुप्री र अलि लुरी छिन्। अनि अलि उमेर ढल्केकी, बुढ्यौली सल्केकी छिन्।" जिम्मालको यस्तो उत्तर सुनेर जिम्माल्नीले अलि मुख अँधेरो बनाइन्। जलदेवता पनि दुखित हुँदै "हे जिम्माल, तिमी आफ्नै श्रीमतीलाई पनि नचिन्ने कस्ता मान्छे रहेछौ? तिमीले श्रीमतीको रुपको परिवर्तनको वावजूद पनि चिनेको खन्डमा म खुसी हुँदै तिम्री श्रीमतीलाई त्यस्तै दिउँला भन्ने सोचेको थिएँ। त्यो भएन, त्यसैले तिम्री श्रीमतीलाई पुरानै अवस्थामा फर्काइदिन्छु" भनी अलप हुँदा भए। घर फर्किंदा बाटोमा जिम्माल्नीले "मलाई तपाईंले नचिन्नु नै भएको हो त?" भनेर सोध्दा जिम्माल बुढाले "चिन्या' त थिएँ। तर चिनें भनेको भए तँलाई त्यस्तै छोडिदिन्थे भन्ने पनि थाहा थियो। तँ भर्खरकी भइस् भने गाउँका अल्लारेहरुले साइड दिएर मलाई टेन्सन् हुन्थ्यो क्या! त्यै भ'र चिन्दिन भन्देको।" इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे पञ्चर्विंशोध्याय॥२५॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
Read Full Discussion Thread for this article