Posted by: gaalab January 27, 2007
--चौतारी ४३--
Login in to Rate this Post:     0       ?        
मेरो तर्फबाट आफूलाई मिल्ने अभिवादन आफैं छान्नुहोला। चौतारी स्वस्थानी व्रतकथा - २३ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! तहाँ उप्रान्त शैलुनभित्र पस्दा लछुमनिया एउटा झ्यापुल्के मानिसको कपाल मिलाइरहेका थिए। साधु आएको देखेर लछुमनिया भन्न लागे "बाबा! यो ठाउँ कपाल काट्नेहरुको लागि हो, पाल्नेहरुको होइन।" लछुमनियाले आफूलाई राम्ररी नहेरिकनै पन्छाउन खोजेको देखेर कुम्ले पनि ठट्टा गर्दै भने "लछुमनिया, मलाई चिनेनौ?" लछुमनियाले कुम्लेको अनुहार एकछिन नियालेपछि उफ्रिंदै "कुमलवा!!!" भनेर कराए। उता त्यो झ्यापुल्के मान्छे करायो "ए दाइ! के गर्या यार? झन नकाट्नु भनेको कपाल ठ्याम्मै फेदैदेखि काटिदिनुभयो। मेरो आजको सुटिङ्नै नहुने भयो।" हे अगस्त्यमूनि, लछुमनियाले त जोसमा उफ्रिंदा नकाट्ने भनेर राखेको त्यस मान्छेको जुल्फी चट् पारिदिएछन्। धेरैबेर झगडा पर्यो र अन्त्यमा कुम्लेको कपाल काटेर त्यस मान्छेको टाउकोमा टाँसिदिने सहमति भएपछि मात्र कुरा साम्य भयो। झ्यापुल्के गएपछि लछुमनिया दुख मनाउ गर्दै कुम्लेलाई भन्न लागे "हे कुमलवा, तिमी किन यस्तो वैराग्य भएर हिंड्दै छौ? कुनै केटीले धोका दिइन् कि? घरबार पो बिग्रियो कि? मजस्तो नजीकको साथीसँग सल्लाह पनि नगरी जोगी भएछौ।" लछुमनियालाई सबै कथा सुनाएपछि कुम्ले भन्न लागे "हे लछुमनिया, केटीले धोका दिएर हैन कि, धोका नदिने केटी खोज्नको लागि यस्तो दुख झेलें। तर काम लागेन। अहिले मलाई भोक पनि लागेको छ, उता जुरेलीले कपाल नकाटी केही खान नदिने भनेकी छ। त्यसैले मेरो कपाल काटिदेऊ।" कपाल काटिसेकपछि लछुमनियाले भने "कुमलवा, तिम्रो केश देवानन्द जस्तो बनाइदिएको छु। अब तिमीलाई कुनै तपस्या गरिरहन आवस्यक रहेन।" कुम्ले पनि लछुमनियाको पसलपछाडिको धारामा नुहाए। अनि खाजाको लागि भनेर राखेको चना तरकारी खान लाग्दा हावाले भूईंको कपाल मुखभरि पर्न गयो। यहाँ खान उचित छैन भनी खाना त्यहीं छोडी रातो रुमाल निधारमा रातो रुमाल बाँधी, लछुमनियाको पाइन्ट, हाफ-भेस्ट र कालो चस्मा अनि निसान्तले छोडेको डिङ्गो लगाई जुरेलीको पसलमा लाग्दा भए। तत्पश्चात कुम्ले त्यस पसलको कुनातिरको कुर्चीमा बसी, टेबुलमा खुट्टा तेर्स्याई अघि काउन्टरमा भेटेकी कन्यालाई बोलाउन लागे। ती कन्या आएर अर्डर माग्दा "मैले अघि नै जुरेलीलाई म:म ठिक पार्नु भनेको थिएँ। लिएर आऊ" भनी आज्ञा दिए। भर्खर जोगीको भेषमा आएको मान्छेले हाँडिगाउले दादाको छनक देखाउन लागेपछि ती कन्या पनि अलि आत्तिई "भैहाल्छ नि दाजु। तपाईं अघि जोगी जस्तो देखेर पो म रिसाएकी त। यस्तो हिरो मान्छे हुनुहुँदो रहेछ।" भनेर पछि हटिन्। म:म पनि आइपुग्यो र कुम्ले पनि म:म खान लागे। तहाँ उप्रान्त कुमारजीले आफ्नो पछाडिबाट टिफिन बाकस झिकी आज्ञा गर्न लाग्नुभयो, हे अगस्त्यमूनि, हिजो एउटी भक्तिनी (तितौरी)ले कुम्लेले कसरी म:म छोडाएर खाए बताउनुहवस् भनेकी थिइन्। त्यो म देखाइदिउँला। यति भन्दै कुमारजी हातमा म:म लिंदै मासु छोडाउँदै खान लाग्नुभयो र अगस्त्यमूनि भने थुक निल्न थाले। (पाठकबृन्द - तपाईंहरु पनि थुक निल्दै हुनुहुन्छ। हो कि हैन नढाँटी आज्ञा गर्नुहोला। :)) म:म खाएसकेपछि कुमारजी अरु आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि! तहाँ उप्रान्त ती कन्याले आफूलाई हिरो भनिदिएकोले कुम्लेको हृदयमा असर पर्न लाग्यो। "साँच्चै म त देवानन्द जस्तै देखिन्छु के रे, देवानन्द देखेपछि त कन्याहरु पाँच तले घरबाट हाम्फाल्थे रे। यो केटीले पनि पक्का मलाई मन पराईछ।" भन्ने सोची, पैसा तिर्ने बेलामा उक्त कन्यालाई भन्न लागे "हे कन्या! तिमीले मप्रति गरेको ब्यबहार मैले माइन्ड गरेको छैन, सन्देह नगर। तिम्रो पसलको म:म मिठो रहेछ, तिम्रो ब्यवहार पनि राम्रो रहेछ। म:म खान मन लागे यहीं आउँला। बरु आउने बेलामा फोन गरेर रिजर्ब गर्दा सजिलो होला। त्यसैले माइन्ड गर्दिनौ भने तिम्रो फोन नम्बर देऊ।" कुम्लेको यस्तो कुरा सुनी ती कन्या पनि लजाउँदै मुस्काएर एक टुक्रो कागजमा नम्बर लेखेर दिइन्। बाटोमा फर्कंदा कुम्ले पनि मनमनै "तरीका यस्तो रहेछ। यतिञ्जेल कासी जान कुतीको बाटो पो हिंडिएछ।" भन्दै आफूले ई-प्रेम र तपस्या गरेकोमा पश्चाताप गर्न लागे। बेलुका कोठामा पुगेर ती कन्यासँग फोन गर्नुपर्यो भनी यतिका दिन कोठैमा छोडेको मोबाइल लिएर फोन गर्न लाग्दा फेरि होस आयो "जा!!! मैले त तिनको नामै सोध्न बिर्सेछु। के भनेर बोलाउने?" निकै बेर दोधारमा बसेपछि अन्त्यमा हिम्मत निकालेर नम्बर डायल गर्न लागे। तीन घन्टी बजेपछि उताबाट पुरुषको आवाज आयो "हेलो! गौशला प्रहरी कार्यालय, अपराध अनुसन्धान शाखा।" इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे त्रयोविंशोध्याय॥२३॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
Read Full Discussion Thread for this article