Posted by: gaalab January 22, 2007
--चौतारी ४२ --
Login in to Rate this Post:     0       ?        
चौतारी स्वस्थानी व्रतकथा - १९ वाचक - गालब यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! यता चौतारी गाउँमा मंसीरका महिनाले तितौरी पनि १४ पुगेर १५ लागिन्। वरिपरिका संगीहरुको बिहा हुन थालेकाले तितौरीका अभिभावक बनेका भउते र पुन्टेलाई पीर लाग्न थाल्यो। हुन त जुरेलीका कुराले यी दुईजनाको बिचमा ठुलो शत्रुता बढेको थियो। कस्तो शत्रुता भने भीरको बाटोमा भेट हुँदा छेउतिर पर्नेले कुनातिर अँचेट्ने, कुनातिर पर्नेले छेउतिर धकेल्ने गरी माघे सक्रान्तिमा जुध्ने साँढे झैं सिंगौरी खेल्थे। एउटाले १५ रुपिया जाने टोपी लगाए अर्कोले २० रुपियाको किन्न जान्थे। तर जुरेली स्वयंले दुवैजनालाई ल्वाप्पा खुवाइदिएर गौशालामा जागीर खान गएदेखि भने शान्तिवार्ता गरेर अन्तरिम विधानको मस्यौदा मार्फत मिलेजस्तो गर्न लागेका थिए। त्यस्तैमा एकदिना जिम्माल बुढा आई भन्न लागे "हे भउते, हे पुन्टे! यो तितौरीको पनि बिहे गर्ने बेला भएको छ। शहरा'ट रिकुटे भन्ने केटो बिहे गर्नको लागि आएको भन्ने सुनेको छु। यसो यी दुई जनाको कुरा मिलाइदिए कसो होला?" घरभित्रबाट सबै सुनेर बसिरहेकी तितौरीले बीचैमा बोल्न लागिन् "हे जिम्मालबा! तपाईं आफैं साठी पुग्न लाग्नु भयो, आफ्नै बिहे गर्न नसक्नेले हाम्रो बिहेको कुरा किन गर्नुहुन्छ?" यस्तो सुनी जिम्मालले पनि सम्झाउन लागे "हे तितु, तिमीलाई काखमा राखेर सिंगान पुछिदिएको हिजो जस्तो लाग्छ। अब डोलीमा राखेर आँसु पुछिदिने बेला भएछ। के गर्नु उमेर भनेको बगेको खोला जस्तै रहेछ। मैले पनि उमेर छँदा बिहेलाई पछि सार्दा अहिले लाला र बाला खेलाउने बेलामा भट्टराईको चाला भयो। त्यसैले योग्य पुरुष पाएको खन्डमा अहिले नै बिहे गरी कामकुरो सकिगए राम्रो।" गामका बुढा-खाडा जिम्मालको यस्तो कुरा भउते र पुन्टेले काट्न नसकी अर्को दिन केटा हेर्ने सहमति गराई बिदा भए। भोलि पल्ट बिहानै भउतेको घरमा रिकुटेलाई लिएर जिम्मालबुढा आए। उता तितौरीलाई हेर्न शहरबाट केटो आएको छ भनेर उनका संगीनीहरु ठुली र सान्नानी भित्र कोठामा तितौरीलाई कोरी-बाटी गराई सिंगार्न लागे। तितौरीले पनि चिया ल्याएर जिम्माल बुढा, रिकुटे, पुन्टे र भउतेलाई राखिदिइन्। सबै चुपचाप देखेर जिम्माल बुढाले शान्तिभङ्ग (आइस-ब्रेकिङ्) गर्दै भन्न लागे, "तितु, चियाको रङ् त राम्रो छ। कुन चिया पकायौ?" तितौरीलाई उत्तर के दिऊँ भयो र भनिन् "खयरछाप"। अहिलेसम्म नसुनेको चियाको नाम सुनेर जिम्मालले पून:प्रश्न गर्न लागे "खयर छाप? पहिलो चोटि सुन्दैछु त त्यस्तो नाम। कस्तो चिया हो?" बुढाको प्रश्न भूईंमा झर्न नपाउँदै तितौरीले बत्तीस दन्त देखाउँदै भन्न लागिन् "हिजो हाम्रो घरमा चिया सक्कियो। यसो हेरेको, भउतेदाले ठेकी बनाउँदाको खयरको धुलो थियो। त्यही हालेर काम चलाएँ।" यस्तो सुनेर बुढालाई त्यो चिया खाऊँ त भने दिनभरिको शिकार नखाऊँ भने कान्छा बाउको अनुहार भयो। तैपनि, तितौरीको बिहेको सबाल देखेर चिया सुरुप्प पार्न लागे। उता रिकुटे चियाको पहिलो सुर्को लिने बित्तिकै जिब्रो फड्कार्न थालेको थियो र कुटनैतिक तवरले भन्न लाग्यो "तपाईंको यतातिर चियामा नून हालेर खाने चलन रहेछ। मलाई पनि नूनिलो चिया मन पर्छ।" यस्तो सुनेर तितौरी १२ हातको जिब्रो निकाल्दै :p गर्न लागिन्। भउतेले पनि थपिदिए "हाम्री बहिनीको बिशेष चिया भनेकै नून हालेको चिया हो। उनले घरमा कसैलाई पनि गुलियो चिया खान दिन्नन्।" यता बिर्खे बुढाले फेरि चियाकै बारेमा प्रतिकृया जनाए "अनि तिमेरुकोमा भैंसीले दूध दिंदैन केरे, पाउडर हाल्यौ कि के हालेका हौ? चियामा अलि थेग्ला भ'को मानिचु।" यस्तो सुनेर तितौरीले भित्रैबाट कराउन लागिन् "यो भउतेदा पनि! पाउडर दूध र पिठो सँगसँगै राखिदिनु भएछ। मैले त चियामा पाउडर भनेर भैंसीलाई दिन राखेको पिठो हालिदिइछु।" कुरा मोड्नलाई भउतेले रिकुटेलाई हेर्दै सोध्न लागे "बाबुको कत्तिको रुमाल बोक्ने चलन छ?" यस्तो अप्रत्यासित प्रश्न सुनेर रिकुटे पनि "किन होला हजुर?" भनेर प्रतिप्रश्न गर्न लागे। भउते पनि कुरा प्रस्ट्याउँदै भन्न थाले "हेर्नुस् न! यो अलि सिंगान निकाल्छे। फेरि अरुको कपडाले सिंगान पुछिदिने बानी छ। त्यही भ'र यल्ले सिँ-सिँ गरे सिंगान निकाल्ने बित्तिकै रुमाल नदेखाए हाम्रा सर्टको बाहुलाले पुछिदिन्छे" रिकुटे हडबडाएको देखेर यतिञ्जेल भावुक स्वभावमा शान्त रहेका पुन्टेले सोध्न लागे "बाबुको कपालमा 'जेली' लाउने बानी छ कि छैन?" फेरि अर्को नसोचेको प्रश्न सुनेर रिकुटे अवाक (के भनुँ के भनुँ) हुन लाग्यो। कारण प्रष्ट्याउँदै पुन्टेले दैलोमाथि टाँसेको लामो जुल्फी पालेको आफ्नो श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइट) फोटो देखाउँदै " हेर्नुस् त दश वर्ष अगाडि मेरो कपालको रौं आँखीभौंसम्मै थे। हाम्री तितेको (तितौरीको) रिस उठ्ने बित्तिकै मान्छेको कपाल तान्ने बानी छ। यसैले तानी तानी अहिले यस्तो अवस्था छ। कपाल तान्दा पनि नझर्ने र झरे पनि अर्को रौं पलाउने गर्ने 'जेल' भन्ने जिनिस् पाइन्छ रे शहराँ। आफू त कहिल्यै यो ठाम छोडेर जान पा' छैन, जेल लाउने कुरा पनि त्यस्तै भो। " भन्दै रिकुटेलाई तालु देखाउन लागे। रिकुटे भने तालुतिर हेर्दै आफ्नो कपाल सम्याउन लाग्यो। एकछिन पछि "मेरो साथी तल्लो घरमा छ। त्यसलाई लिएर दुई मिनेटमा आउँछु।" भनेर गल्लीमा निस्केर ओरालो लाग्यो। दुई मिनेटमा आउँछु भनेको मान्छे दुई बीस मिनेट हुँदा पनि नआएको देखेर यता हलचल हुन थाल्यो र चिन्ताले पुन्टे पनि आँगनमा घरि यता घरि उता गर्न थाले। गल्लीमा घाँसको भारी बोक्दै उकालो चढ्दै गरेकी बाटुली भाउजूलाई देखेर पुन्टेले सोध्न लागे "ए बाटुली! एउटा सुकिलो लाएको केटालाई बाटामा भेटिनस्?" पुन्टेतिर हेर्दै नहेरी बाटुलीले भन्न लागिन् "शहरिया जस्तो देखिने, सिनित्त कपाल मिलाएको केटो भेट्या थिएँ। गैरीको पसलबाट पोखरा जाने बस कति बाजे छुट्छ भनेर सोध्यो। 'नौ बजेको बस लागिरा'छ' भन्दिंदा 'पाँच मिनेट भन्दा टाइम छैन' भन्दै हतार हतार गर्दै ओरालो झर्थ्यो केरे।" इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे एकोनविंशोध्याय॥१९॥ उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
Read Full Discussion Thread for this article