Posted by: gaalab January 7, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
यं ब्रह्मा बरुणेन्द्र रुद्र --- समर्पयतत्। कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्यमूनि! अब तिमीलाई जुरेलीले त्यसपछि के कसरी ब्रत गरिन्, सबै सुनाउँछु; पलेटी मारेर बस। पौष शुक्ल पूर्णिमाको दिनदेखि मर्दीखोलाको तिरमा श्रीस्वस्थानीको पूजा गरेको एक महिना पुगेर माघशुक्ल पूर्णेमा पनि आयो। तयार गरी राखेको अष्टोत्तर शय बेली पुष्प, अष्टोत्तर शय कुड्का सुपारी, अष्टोत्तर शय प्याकेट बिजुली खैनी, अष्टोत्तर शय पेग लोकलको सरदाम आदि प्रसाद बाँड्ने बेला आयो। प्राचीन स्वस्थानीमा "प्रसाद श्रीमानलाई दिनू, श्रीमान् नभए छोरालाई दिनू, छोरा पनि नभए मित छोरालाई दिनू, त्यो पनि नभए नदीमा लगी बगाइदिनू" भनेर उल्लेख गरेको छ। जुरेली पनि अब प्रसाद के गर्ने भनेर सोच्न थालिन्। श्रीमानलाई दिउँ भने बिहा भएको छैन, अँझ छोरा र मित छोरा त हुने कुरै भएन। भउतेको पनि पुन्टेको जगजगीले गर्दा बिचल्ली होला। मर्दी नदीमा बगाउँ भने हिउँदको बेला खोलो सुकेर त्यत्रो सामान बगाउन सम्भवै छैन। ठुलो धर्मसंकटमा परेपछि श्रीस्वस्थानीको स्तूति गर्न थालिन् -"हे माता, तपाईं कस्ती भनेदेखि हाम्री स्कूलकी मास्टर्नी दिदी, अरप पुगेर देश देखेर शेष खाई आ'का सिरेज्वाइँ, जतिखेर पनि कविता फलाक्न सक्नी राहुलदाइ जस्ताले त वर्णन गर्न सक्दैनन् भने म के सकुँली? आमाले एउटा आँखा छोरा भए अर्की आँखा छोरी भनेर मलाई स्कूल पठाउन खोज्दा बाले दुइटै आँखा स्कूल गए केले हेर्छेस् मोरी भनेर बाख्रा चराउन पठाइदिए। यो अनपढ लाटीले अब यो प्रसाद के गर्ने? तपैं नै एउटा उपाय लगाइदिनुहोस्।" जुरेलीले यति भन्न नपाउँदैमा घारीनेरको बाटोमा कोही हिंडेको आवाज आयो। को आएछ भनी हेर्दा भउतेलाई देखी मनमनै हर्षले गदगद भई भेट्न जाँदी भइन्। एक महिना अगाडिभन्दा निकै दुब्लो शरीर, गोरो अनुहार देखी मन खिन्न बनाइन्। परन्तु प्रसाद खाने समयमा भउते नै आएको देखेर श्रीस्वस्थानीको प्रभावको जयजयकार गरी त्यस्ती देवीलाई कोटी कोटी नमस्कार गरिन्। भउतेलाई सिमलीको छहारीमा टपरी ओच्छ्याई आसन गराइन् र भनिन् - "हे काजी! तपाईं त दुब्लाएर पाजी हुनुभएछ। अनुहार पनि अलिक सेतो देख्छु। आँखा पनि हाम्रो भेनाले धोबिनी दिदीको भट्टीमा रउसी धोकेको बेलाको जस्तै राता-राता छन्। के कति पीर पर्यो? मलाई सुनाउनु हवस्।" जुरेलीको यस्तो प्रश्न सुनी भउते आकाशतिर एकोहोरो हेरिरहे। एकछिन पछि ओठ लर्बराउँदै बोल्न थाले - "हे जुरेली! मेरो अहिले गाममा बसिसक्नु छैन। जता गए पनि तिम्रा पापिष्ट भेनाले पिछा गर्छन्। गाउँका सबै मान्छे सबै जनावरले मलाई हेप्न थालेका छन्। बसमा चढे बसबाट लढ्छु। भैंसीले पनि मलाई नै हान्छन्। कुकुरले पनि मलाई नै टोक्छन्, मलाई नै भुक्छन्। एउडा नारदऋषि आएका थिए मलाई सहयोग गर्न, तिनले पनि "जुरेली" बर माग्दा गुलेली दिएर गए। त्यही गुलेलीले तिम्रा भेनालाई हान्छु भनेर सोझ्याएको फिता उल्टो परेछ, मट्याङ्ग्रो आफ्नै टाउकोमा बजारियो। अरु सबै छोड, राजुको पपीले पनि हिजो मतिर हेरेर भुक्यो, तिम्रै धोबिनी दिदीको कुखुराको भालेले पनि मलाई देख्ने बित्तिकै 'कुखुरी काँ' भनेर च्यालेन्ज दियो। त्यसैले मलाई यस गाउँमा बसिसाध्य छैन। बरु आऊ, हामी यतै बिहे गरी पोखरातिर लागौं। बरु मलाई अलि भोक लागेको छ। केही खाने कुरा भए ल्याऊ। अनि, तिम्रा भेना तिमीलाई खोज्न भनी धोबिनीलाई समेत लिएर यतै आउँदै छन्। तिम्रो ब्रतको कारणले अहिले हामीलाई समय मिलेको छ; आऊ म अहिल्यै तिमीलाई सिन्दूर लगाइदिन्छु।" भउतेको मुखबाट यति कुरा सुनी जुरेलीलो भनिन् - "हे काजी! तपाईंलाई यहाँसम्म ल्याइदिने श्रीस्वस्थानीलाई कोटी कोटी नमस्कार। तर तपाईंले जे भने पनि मेरी धोबिनीदिदी मेरो बिरुद्धमा यता आएको भन्ने कुरा चाहिं पत्याउन सक्दिन।" अनेक जुक्ति लगाएर सम्झाउने प्रयास गरे पनि जुरेलीले नपत्याएपछि अन्तिममा भउतेले भने - "हे जुरेली, मैले तिमीलाई किन ढाँट्थें? नपत्याए म किरिया नै खाइदिउँला।" आफ्ना मनका मालिकलाई किरिया खुवाउनेसम्म गरी मैले के पाप गरें भनेर जुरेलीले आफैंलाई धिक्कार गरिन् र भउतेको मुख थुनिदिन लागेकी के थिइन्, भउतेको मुखबाट फुस्कियो "धोबिनीकै च्यात्या' पेटीकोटको कसम!" आफ्नो भेनाको यो थेगो भउतेको मुखबाट सुन्दा जुरेलीले आफ्नो र धोबिनी दिदीको अपमान भएको सम्झिन्। जुरेलीले क्रोधले आँखा राता-राता बनाई, दारा किटी, लामो लामो सास फेरिन्। एक हातले उसको कपाल लुछी अर्को हातले उनको गाला समातेर आफूतिर तानिन्। भउते जुरेलीबाट भाग्न बल प्रयोग गर्दा जुरेलीको एउटा हातमा आयो नक्कली कपालको गुजुल्टो, अर्कोमा आयो भउतेको अनुहारको मुकुन्डो। अगाडि हेरेको त टिलिक्क तालु टल्केको, उमेर अलि ढल्केको, गाउँका सोझी केटी घुमाउन पल्केको आफ्नै भेनालाई देखिन्। अरु केही हुन नपाउँदै पुन्टेले हत्त र पत्त प्रसाद राखेको मण्डपबाट २ गिलाँस लोकल दुई हातमा च्यापी त्यहाँबाट सुइँकुच्चा ठोके। इति श्रीस्कन्धपुराणे केदारखण्य माघमहात्म्येय --- सम्बादे चतुर्थोध्याय॥४॥ राजुको पपीको बारेमा जान्न उत्सुक महानुभावहरु यता जान सक्नुहुन्छ। http://www.sajha.com/sajha/html/openthreadall.cfm?forum=271&ThreadID=23948
Read Full Discussion Thread for this article