Posted by: gaalab January 5, 2007
चौपारी-२००७
Login in to Rate this Post:     0       ?        
हे अगस्त्यमूनि! तहाँ उप्रान्त भउते बाटोमूनिको गरोमा लडेको लड्यै भए। त्यहीबाटो नारदऋषि पनि "नारायण"को नाम पुकार्दै चौतारीतिर लाग्दै थिए। बाटोमूनि कुनै मनुष्य अग्रासको काठ झैं लडेको देख्दा खुलदुली लाग्यो र "हे मानव! तिमी को हौ? कुन देशबाट आयौ? के कति कारणले गर्दा यो गति हुन पुग्यौ?" भनी सोधे। आफ्नो सामु लामो टुप्पीको भएका, शरीरमा एउटा धोतीको सरो मात्रै लगाएका, ललाट(निधार)मा चन्दन लगाएका अधबैंसे वैष्णवलाई देख्दा भउते पनि अचम्भित हुन पुगे र उल्टो नारदऋषिलाई सोध्दा भए - "बरु तिमी को हौ? देख्दामा त दक्षिण भारतीय मुलका ब्राह्मणजस्ता देखिन्छौ। के-कति कारणले हाम्रा मुलुकमा आयौ?" यस्तो प्रश्न भउतेका मुखबाट सुन्दा नारदऋषिले भने - "भक्त! तिम्रो नाम पनि भक्त नै रहेछ। तर सबैले भउते काजी भनेर बोलाउँदा रहेछन्; मैले ध्यानदृष्टिले बिचार गरी हेरेर तिमीलाई चिनिसकें। तिमीले आज बिहान गाँजाको सुरमा, आफ्नो सकल फेरेर, धोबिनीलाई छल गरी जुरेली भन्ने कन्याको कोठामा गएका रहेछौ। र, पुन्टे नाम गरेका काजीले गर्दा यस्तो हालत हुन पुगेको रहेछ। आऊ म तिम्रो प्रेमदेखि प्रशन्न भएँ। भन के बर माग्छौ। प्रेम सम्बन्धी वरै मागेपनि माग। कामदेव मेरा भाइ पर्छन्, भनसुन गरी पुर्याइदिम्ला।" आफ्ना अगाडि नारद ऋषि आएर एकाएक वर माग भनी भनेको देख्दा भउतेको आँखा हर्षले रमाए। आफूलाई पुन्टेले दिएको दुख सम्झे। तैपनि, नारदमुनिबाटै वर पाइने भयो भनेर मनलाई सम्हाले। मस्तिष्कभरि जुरेलीनै नाचिरही। सकी नसकी वर मागे, "जुरेली पाऊँ"। ऋषि प्रशन्न भए र "तथास्तु" भने। एकैछिनमा एउटा गुलेली भउतेको हातमा थमाउँदै नारदमुनिले "यत्रो वर पाउँदा अलि ठुलै कुरा माग्नुपर्दैन? यो जाबो गुलेली त तिम्रै गाउँका पसुपतिले पाँच रुपैयाँमै बनाइदिन्छन् के रे नि" भन्दा भए। जुरेली माग्दा गुलेली पाएको देखेर भउतेले मुख बिगार्दै भने, "ए नारद बुढा! जुरेली मागेको। गुलेली पो दियौ त!" भउतेको खिन्न भएको देखेर नारदमूनिले भने, "के गर्नु बाबु! म बुढो मान्छे लाखौं वर्षदेखि संसार चहारिराखेको छु। कान राम्ररी सुन्दिन। देउता पनि ३३ कोटी छन्। ती सबैलाई चेकअप गरेर धन्वन्तरीले पनि भ्याएका छैनन्। आजको ११६ वर्ष पछिको दिनको अप्वाइन्टमेन्ट लिएको छु। मैले गुलेली सुनें र त्यहीं दिएँ। दिएको कुरा फिर्ता लिन मिलेन। तर केही छैन, कुनै बेला काम लाग्छ सन्देह नगर" भनेको सुनेर भउते दाह्रा किट्न थाले र रिसले तीननेत्रबाट आगो निकाल्दै भने, "काम त अहिल्यै लाग्छ। मेरो पहिलो टार्गेट तिमी नै भयौ"। यति भन्दै भउतेले एउटा दर्शन ढुङ्गो टिपी नारदलाई गुलेलीले सोझ्याउँदा, नारदमुनि किंकर्तव्यविमूढ भए, र "नारायण! नारायण!" जप्दै अन्तर्ध्यान भई कैलाशपर्वतमा शिवजी र माता पार्वतीलाई भेट्न लाग्दा भए। इति श्रीस्कन्धपुराणे केदारखण्य माघमहात्म्येय --- गालउअगस्त्य सम्बादे द्वितीये अध्याय॥२॥ उपनयतु मंगल ---- समर्पयतत्।
Read Full Discussion Thread for this article