Posted by: khadge December 19, 2006
"निर्दोश मेरो पछ्यौरीमा....."
Login in to Rate this Post:     0       ?        
आदरणीय साझावासीहरु, तपाईहरुले साह्रै प्रेशर दिनुभयो हतार हतार आत्मकथाको चौथो भाग लेंखे, यदि यो मोड त्यती राम्रो भएन भने चैं मलाई गाली नगर्नुहोला है। प्रस्तुत छ आत्मकथाको चौथो भाग। ------------------------------------------------------------------------------------------------- ------------------------------------------------------------------------------------------------- "अनी तपाई नेपालगंज तिरै", ति मैयाले फेरी थपिन। कस्तो कुरा गर्ने पर्ने रहिछ यिनीलाई। आफूलाई भने झ्याउ लागी सक्यो, यी मैयाले भने प्रश्न सोधेर हैरान। "हैन", मैले छोटो उत्तर दिए। "यहाँलाई बोल्न तेती मन पर्दैन जस्तो छ", मैयाले फेरी थपिन। कता कता सुने झै लाग्यो यी हरफहरु। ओहो, यो त मैले जानकी नबोल्दा प्रयोग गरेको शव्द हो। हैन साँच्चै म कती बदलिएछु यो ७-८ घण्टामा। "हैन त्यस्तो केहि हैन, बिहानै देखी हिडेको अली थाके जस्तो भयो", मैले स्थितीलाई संभाल्ने प्रयात्न गर्दै भने। "म कृष्णनगर तिर, अनी तपाई नी", अव जवाफ त दिनै परो के गर्ने। अनी साधारण शिष्टाचार पनि त गर्नै परो। "मेरो एउटा सानो काम छ नेपालगंजमा अनी त्यसपछि पोखरा दुई हफ्तालाई", मैयाले जवाफ दिईन। ओहो, हैन के छ हँ त्यो पोखरामा, जोल्लाई भेटेनी पोखरै जाने भन्छन बा। "अनी यहाँ अरूण खोलामा कसरी", कती टेन्सन मात्र लिएर बस्ने, यसो रमाइलै संग टाईमपास गर्न पर्यो भन्ने मनसायले सोध्न पुगें। "अरुण खोला? कस्तो अरुण खोला", अचम्म मानेर सोधिन हेत्तेरी अव अरुणखोलामा चढेर कस्तो अरुण खोला भन्दै सोद्धछिन बा। "हैन तपाई उ त्यो अघीको बस अढ्याको ठाऊँ अरुण खोलाबाट चढेको हैन?", मैले सोधें। "हैन म त नारायणगढदेखीनै छु, यो बसमा, अली पछाडिको सिटमा थिएँ, सो यु डिड्न्ट नोटिस मी? आई थट यू वेर लुकिङ्ग राईट एट मी" ओहो त्यस्तो गल्ती त म बाट नहुनु पर्ने, यस्ती सुन्दर कन्या, मैले नदेखेकै होला त? देख्या भए त याद आउनु पर्ने नी। "आई एम सरी, आई रियल्ली डिड्न्ट नोटिस यू", मैले माफी मागे। "तपाई निकै चिन्ता मा हुनु हुन्छ जस्तो छ? कोहि आफन्त संगै छुट्टिनु परे जस्तो" उनले थपिन। "हैन, त्यस्तो केहि हैन, भनि हाले नी अली थाके जस्तो भएर", अव यिनलाई के भन्ने खै। हाम्रो बिस्तारै कुरा गर्ने क्रम बढ्दै गयो। उनको घर काठमाण्डौमा रहेछ। निकै धनाढ्य बाबुकि एक्ली छोरी। टाईगर टप रेसोर्ट को मालिक की छोरी। अहिले लिटिल एन्जल्स मा कमर्स लिएर १२ पढ्दै। यसो हेर्दै, निकै पुल्किएकी होलीन जस्ती। अहिले चितवन निकुञ्जमा ३ दिन बिताएर, बर्दियाको निकुञ्जमा रहेको उनको बुबाको रिसोर्टमा जाने रे। त्यहाँ २-४ दिन बिताएर, पोखरा फिस टेल लज बाई दि लेक साईड मा आफ्ना साथिहरुलाई भेटेर पोखरा दुई चार दिन बसी काठमाण्डौ फर्कने रे। निकै फ्रयांक, एकै सासमा आफ्नो रामकहानी भन्न भ्याएकी। मचै अझै संकोचित भएर उनको प्रश्नको जवाफ मात्र दिए। बस आफ्नै गतीले हिड्दै थियो। म घरि बाहिर हेर्थे घरी बैदेहीका प्रश्नका जवाफहरु दिन्थें। कुरा गर्ने क्रममा बुझ्दै गएँ उनी कती बिघ्न पुल्किएकि रहिछन भनेर् अहिले सम्म उनले चाहेको नुपुगेको छैन रे। बुबालाई पैसा बनाउदै ठिक्क, आमालाई साथिहरु संग भेट, पार्टि गर्दै , रमी खेल्दै ठिक्क, नोकर चाकरहरुको बिच हुर्किएकी। उनको ईतिहास बुझ्दै गएपछि मलाई उनी प्रती करुणा जागेर आयो, तर म गर्न नै के सक्छु होला र? जहाँसम्म मलाई लाग्छ उनीलाई आफ्नो दशाको अनुभूतीनै छैन होला। बुझ्दै गएँ, उनीले आफ्नो जिवनमा भएको आमा बाबुको मायाको कमीको पूर्ती पैसाले किन्न सकिने सवै भौतिक सामानहरुबाट असफलतापूर्वक गरेकी रहिछन। एकाएक बसको रफ्तार घट्दै गयो। टाटा बस न पर्यो, एस्सो उकालो आउन हुन्न, १ गियर भन्दा त तान्दै तान्दैन। घ्वाँ घ्वाँ गरेर, ट्याम्पू नै चढे जस्तो भन्या। हैन त्यहि पनि यो तराईको महेन्द्र राजमार्गमा किन कताबाट उकालो आयो भनेकोत दाउन्ने आउनैलाको रहेछ। यो भेगका मानिसको लागी दाउन्ने माई को निकै ठूलो महत्व छ। बर्षमा एक पटक यहाँ मेला लाग्छ क्यारे किन कहिले त थाहा भएन तर लाग्न चै लाग्छ। अव धार्मिक महत्व मात्र नभै अर्को एक महत्व पनि छ यो दाउन्ने डाडाको। अव यहि त छनी त्यो दूरसञ्चारको रिपिटर टावर। यो डाँडामा टावर भएको ले नै त होनी भैरहवा, बुटवल, पाल्पा र अरु समस्त पश्चिम नेपालका जनताले टेलिफोन को सुविधा पा। यो काठमाण्डौबाट दोश्रो रिपिटर हो के रे। यसबाट बाँकि पश्चिम नेपालका रिपिटरहरुले सिग्नल पाउँछन्। ओहो, झण्डै बिर्सेको यहाँ त ने टि भी को पनि त छ नी टावर, नभए कृष्णनगरमा कसरी हेर्ने त्यो "आज भोली का कुरा"। क्या हँसाउने सन्तोष पन्तले भने। पहिला त्यो के रे अँ "नरिसाउनुस है" भन्ने थियो उनको। त्यसमा केटि भएर खेलेको त मलाई तृप्ती भन्दा राम्री लाग्या ल सन्तोष पन्त। सन्तोष पन्त, निकै प्रतिभाशाली कमेडियन हुन उनी। नेपालमा जन्मिएर मात्र, नभए उन्को जस्तो प्रतिभावान मानिसत बिश्व बिख्यात हुनु पर्ने। अ त नि त्यो "नरिसाउनुस है" मा त होनी सबैभन्दा बढि रोल गर्ने उनी तर खै नेपाल सानो भएर हो की के हो "गिनीज बुक" ले मानेन, बज्या हरु। "तपाई त साह्रै बोर मान्छे, बरु पछाडि नै बस्न जान्छु", एकाएक बैदेहि कराउन थालिन। मैले उत्तर दिन नपाई, एकाएक बस रोकियो। के भए छ भनेको त पछाडिको टायर पञ्चट। "ल अव यहिं दाउन्ने मै खाजा खाऊ है, १ घण्टा लाग्छ", भन्दै कन्डक्टर झर्यो। खै के के हुने हो आजै भन्दै फतफताउन लागें। यत्तीकैमा "आउ त कमल तल झरेर यसो घुमम", भनेर मलाई तान्दै लगिन। म पनि अव कति बिलाप मत्रै गर्नु अनि फेरि किन नै बिलाप गर्नु र भनि म पनि तानिन्दै गएँ। "पानी पुरी खाने", मलाई सोधिन, मैले पनि स्विकृती दिएँ। त्यहाँ एउटा ठेलाबाट हामीले पानी पुरी खायौं। बिस्तारै म आफ्ना बेदनाहरुलाई भुल्दै थिए। "वाह क्या सिन", भन्दै यत्तीकैमा बैदेहिले आफ्नो पर्सबाट यासिका क्यामेरा निकालीन। हुन पनि हो, त्यो दाउन्ने पहाडबाट तल कति राम्रो देखेको भन्या। त्यो पारी नारायणी नदिको बगर, अनी तल त्यो फाँट, आहा। उनी चैं फोटा खिच्नमै तल्लिन थिईन। एक्कासी म तर्फ फर्केर "स्माईल" भन्न पो थालिन बा। एक छिन त संकोच लाग्या थियो तर पछि म पनि एक्सन एक्सन दिएर फोटो खिच्न लागें। एक पटक त झण्डै सिधै तल पुगेको, खुव ब्रुश ली बन्न पर्ने नी मलाई, त्यो रुख नगिच नभा भये त सिधै २०० फिट तल। बैदेही अत्तालिएर आईन र मेरो मुटुमा हात राखिन। "ओहो, क्या धड्केको यो, ढुक ढुक, ईनट्रेस्टिङ्ग", आफ्नो चै धन्न राम नाम सत्य भा थियो यिनलाई चै ईनट्रेस्टिङ्ग रे, हुन्छ नी एउटा, अलिकती पनि सोमत रहिनछ, झन टिठाउनु त कहाँ कहाँ, ईनट्रेस्टिङ्ग। उनले एउटा सहयात्रीलाई बोलाएर म र उनी दुवै बसेर फोटो खिचिदिने आग्रह गरिन। त्यो मान्छेको मुख हेर्छु त डाहडले भुतुक्क भएको रहिछ, मनमनै अरुले हेर्दा त म हिरो नै रहेछु केटि साथमा, रमाईलो पनि लाग्यो तर के गर्ने नयाँ जुत्ताले दुखाऊँछ भन्ने कुरा त लगाउनेलाई मात्रै थाहा हुन्छ, हेर्ने ले त जुत्ता टिलिक्क टल्केको मात्र देख्छन नी, मेरो हालत तेहि थियो। न मलाई बैदेहि तर्फ कुनै चासो नै थियो न साथ नै चाहिया थियो। मेरो मन त पोखरा पुग्नै लाग्यो होला अहिले यतिबेला। मनमनै बैदेहिलाई लाने भए लैजा भने, के बुझ्थ्यो तेल्ले। जेहोस फोटा हरु खिच्ने क्रम सकियो। उनले फोटा धुलाएपछि मलाई पठाईदिने बाचा गर्दै मेरो काठमाण्डौ को फोन नं अनि ठेगाना लिईन। "ह्वा ह्वा", ओहो, बसले हर्न बजायो, कस्तो बच्चा रोएको जस्तो हर्न रहेछ भन्या। हामी हतार हतार बस तर्फ लाग्यौ। बसमा चढ्यौ बस हिडी पनि हाल्यो। अव दाउन्ने को डाँडा तल बर्दधाट, अनि सुनवल र त्यसपछि आधा धण्टा जतीमा त बुटवल पुगिन्छ। सुनवलमा लुम्बिनी चिनी मिल पनि त छ, अव छ भनौ की थियो भनौं, घुस खाने क्रममा चिनी मिलले निकै घाटा बेहोरेर अहिले लिलाम हुने स्थितीमा छ। यहाँ भने चिनी भारतबाट आयात गर्नु पर्छ, यो चिनी मिल चै घाटा मा छ भन्ने सुन्दा अचम्म। यो ठाममा त सबैले आखिर ऊँखु नै खेती गर्छन नी, फेरी किन डुब्या त त्यो मिल। अचम्म छ। नेपालीहरुको आय भन्दा खर्च बढि हुने भएकाले होला। यस्तै रफ्तारले बस अगाडि बढ्दै थियो, बर्दघाट, सुनवल, अनि अव वुटबल आएछ। "ल म गए है", भन्दै बैदेहि झर्न लागिन बा। "म संग किन झुटो बोल्या त नेपालगंज जाने भनेर", मैले सोधें। "झुटो बोल्या हैन, म नेपालगंज नै जाने भनेर चढेको तर ......" "तर के", मैले सोधें, "तपाईले म प्रती कुनै ईन्ट्रेष्ट नै देखाउनु भएन, दियर ईज नो पोईन्ट ईन गोईंग दियर के" "हँ", म अचम्म परें। "आई थट वी कुड बि फ्रेण्डस्, तर यु आर जस्ट बोरिंग", "हैन, म त्यस्तो त छैन जस्तो लाग्छ", "एनीवे मलाई लाग्यो हामी संगै बर्दिया घुम्न जान सक्छम भनेर, तर खै तपाईलाई देखेर अहिले त्यस्तो लागेन" ओहो, यो के भन्छे यो केटि, खै कसरी दिने यसको जवाफ। म निरुत्तर भए। "सो आई डिसाईडेड टु गो टु, पोखरा ईन्सटेड", "आई वाज गोङग टु बि एलोन ईन बर्दिया एनिवेज" लौ ठिकै भो, मलाई पनि झ्याउ लागी सक्या थियो। उनी झरिन र कता गईन मैले त्यती बास्ता गरिन। बाहिर हेर्न लागें। मान्छे हरु को निकै हुल थियो। हुन पनि बुटवल पश्चिम नेपालकै एक ठुलो सेन्टर हो। पोखरा, पाल्पा, नारायणगढ, भैरहवा, नेपालगंज तिर जताबाट जता जान नी यहाँ नआई हुन्न। पहाडको फाँटमा अवश्थित कती राम्रो छ यो शहर। तिनाऊ खोला ले झन यो शहरलाई सुनमा सुगंध छरे झैं छ। अली उता उत्तरतिर पाल्पा जाने बाटो मा शिद्ध बाबाको मन्दिर छ, भनिन्छ त्यहाँ गएर शुद्ध मनले जे मागे पनि पुग्छ। मैले पनि उतै फर्केर एक पटक बाबालाई प्रणाम गर्न पुगें। गर्मी को समयमा यहाँको तापमान लगभग १०-१२ डिग्री कम हुन्छ भैरहवाको तुलनामा जबकी भैरहवा जम्मा १९ किमी मात्र दक्षिणमा पर्छ। यो पनि उनै शिद्ध बाबाको आशिर्वादले भएको भन्छन यहाँका मानिसहरु। गर्मीमा लामखुट्टे नलाग्ने, बिहानी पख्ख चिसो हावा चलेर सवै जिवहरुमा नयाँ स्फूर्ती ल्याउने पनि उनै शिद्ध बाबाको आशिर्वादले रे। यहाँ बाट ३६ किमी उत्तरमा पाल्पा जिल्लाको सगरमुकाम तानसेन। बाह, सम्झदै मेरो मनमा रोमाञ्च भरियो। सायद यो सारा नेपालमै त्यति राम्रो ठाऊँ छैन होला। तानसेन, कती राम्रो छ, माथि श्रीनगर डाँडा, त्यहाँ सल्लाका ति रुख, बिभिन्न थरिका लाली गुराँस फूलेका त्यहाँबाट काली गण्डकी नदि कत्ति राम्रो संग देखिन्छ। अन्नपूर्ण हिमाल देखी कानजिरोवा तथा पूर्वमा लांटाङसम्म त्यहाँबाट देखिन्छ। १३५० मिटरको उचाईमा अवस्थित यो तानसेन शहरबाट तल मदनपोखरा उपत्यका तिर हेर्दा त झन स्वर्गै आए जस्तो हुन्छ। झन तानसेन को टुँडिखेल मैदान त पहाडको डिल मै छ, ओहो, त्यहाँबाट क्षितिजमा हेर्दा त उडेकै आभाष हुन्छ। नेपाली हुँ भन्ने ले तानसेन गएको छैन भने नेपाली हुँ भनेर त नभने पनि हुन्छ मेरो बिचारमा। तानसेन मै अवस्थित तानसेन दरबार कति राम्रो छ।
(साथीहरु यो कथाको समयमा तानसेन दरबार सहि सलामत नै थियो, तर पछि, माओवादि को आक्रमणमा परि यो दरबार अव भग्नावशेष को रुपमा मात्र छ। खै किन माओबादिले यो दरबारलाई भत्काए, उनै जानुन, तर यो दरबार नेपालको सम्पत्ती थियो, यो दरबारलाई भत्काएकोमा म चै माओबादिलाई अहिले पनि धिक्कार्छु। यसरी देशका सबै सम्पत्ती को नाश गर्दै जानु कत्तिको युक्तीसंगत छ, कसले दिने यसको उत्तर?
खड्ग प्रसाद
) दरबार भित्रको सित्तलपाटि उत्तिकै राम्रो। तानसेनको बर्णन त जती गरे नी सकिन्न। ईतिहासमा हेर्नु पर्दापनि, उतिखेर खुबै बैभवशाली राज्य थियो तानसेन। पृथ्वीनारायण शाहको आमा सेन बंशी भएर मात्रै, नभए नेपाल एकिकरण गर्ने समयमा पाल्पालाई जित्न विरताले, छलले नसक्ने, अन्तिममा हार मनी पाल्पाका अन्तिम राजा पृथ्वीपाल सेनलाई काठमाण्डौ बोलाएर घाटि काटी यो राज्य हासिल गरेका थिए रे। हाम्रा बाले पनि हार्न नसकी पाल्पा संग बैवाहिक संबन्ध गाँस्या त्यसैले मेरो मामाघर नी पाल्पा। यहि मामाघरमै मेरो ब्रतबन्ध भा। बुटवल बाट पाल्पाजाने बाटो पनि उत्तिकै रमाइलो छ। ओहो, एक पटक त म पाल्पाबाट बुटवल आउँदा केहि नपाएर ट्रकको माथी छतमा बसेर आको, कत्ति रमाईलो भाको तर केराबारी निर आउँदा चै निकै ठूलो बाँसको झ्याङ रहिछ, मलाई त्यो एउटा बाँसको नुगेको टुप्पोले क्या सोंठ्याको भन्या, बाटोमै नुगेर बस्या, मैले देखिन पछित स्वाँट्ठ गर्दा पो थाहा भो। गाला त स्याउ जस्तो रातो भा, एक छिनमा सुम्ला उठेर, रुन मात्र सकिन। क्या दुख्या, झन मामीले सुम्ला देखेर कसरी भो भन्दा बुद्धि फुटेर ट्रकको छत मात्र के भन्या थिएँ, सुरु भैगो नी ट्रकको माथी किन बस्या भनेर। यता सुम्लो पोलेर टेन्सन, उता मामी उफ्रेर टेन्सन। घचक्क गर्दै बस रोकियो। निकै जोडले नै ब्रेक लगाएको हुनु पर्दछ ड्राईभरले। एउटा महासय त सिधै ड्राईभरको काखमा पुगेछन हुत्तिएर। एक्कासी एउटी आईमाई निकै रिसाउदै बस तर्फ आउदै गरेको देखें। "मेरो चोंचेलाई, मार्यो भन्दै चिच्याउँदै थिइन ती" कुरो के भएछ भने एउटा बँदेलको बच्चा बसको मुनी परेर किचिएछ। ओहो, हैन आजै मेरो यो यात्रामा के के हुनु पर्ने हो भन्दै बसें म। कण्डक्टर र ती आईमाई खुव बाजे। अव कण्डक्टर चैं यो बच्चाको पैसा लिउ भन्दो रछ, ति आईमाई भने त्यो बच्चा ठूलो भएर निकै पैसामा बेच्न मिल्थ्यो, ठूलै बदेलजती पैसा तिर भन्दि रहिछन। अव बिचरा कण्डक्टर, ठग्न पायो भन्दैमा त्यसरी ठग्न त हुन्न नी। अव बाटोमा खुलै छाड्ने काम पनि त गर्न नहुने। आफ्नो गल्ती हुँदा हुँदै पनि कराउन पछि परिनन् ती आईमाई। जे होस् आधा धण्टामा आधा बदेलको पैसामा राजी गराएर बस अघि बढ्यो। बस एकपटक फेरी पश्चिम तर्फ बढ्दै थियो। म चै घरी जानकीलाई सम्झिन्थें , घरी बाहिर हेर्थे। जानकी पुगिन होला पोखरा, मामाघरमा भान्जी आईन भनेर सवै कती खुसी भए होलान्। हेर म अझै उनलाई बिर्सिन सकेको छैन। उनले मलाई सम्झि होलिन त? संझिने फूर्सद पनि त छैन होला उनको। अव मामाघर गएकी। भाइको ब्रतबन्धको होहल्ला होला फेरी त्यहाँ। हेत्तेरी म कती उनैलाई सम्झि राख्या भन्या। फेरी याद आयो, मैले फूपाजुलाई आऊँदै छु त भन्या छैन नी। फेरी कोहि नि घर नभा भए त टेन्सन नै हुन्छ भन्या। म चै पुग्ने त्यहाँ कोहि नभए त बबाल बोर हुन्छ नी। हैन एक पटक फोन गरेरै जान पर्ला। अव गोरुसिंगेमा पुगेर रोक्ला नी यो बस, अनी त्यहि बाट फोन गर्नु पर्यो। अझै लाग्छ होला २-३ घण्टा गोरुसिंगे आउन। म बाटोमा आउने हरेक कोसेढुंगालाई पढ्न थाले। गोरूसिंगे १०० किमी, ९५ किमी, ९२ किमी, ओहो, कती ढिलो हिडेको यो बस। अव ती कोसेढुगांलाई गन्दै बस्ने बाहेक मेरो कुनै काम नै थिएन। बगलको सिटमा निकै थरिका मानिसहरु बस्दै जाँदै गर्थै। एकपटक त एउटी आईमाई आफ्नो सानो बच्चा संग थिईन। बेला बेलामा उनी निदाउथिन, बच्चा चैं मौका पाएर मलाई भुत्ल्याउन थाल्थ्यो। मैले यसो आँखाले तरिदिन्थे अनि उ डराएर आफ्नी आमाको कपाल समाउन जान्थ्यो। उस्की आमाको कपाल हेरे कस्तो फूलेको रहिछ। मेरो हजुरआमाको जस्तै। खै के रहेछ कुन्नी कालो र सेतो कपालको मिक्स भयो भने चिलाउँछ कि क्या हो? मेरो हजुरआमाले मलाई टाउकोबाट सेतो कपाल निकालेको एउटाको ५ पैसा दिने भन्या। तेती खेर त्यती साह्रो कपाल फुलेको थिएन उहाँको। एक घण्टा खोज्यो बल्ल बल्ल २० बटा निक्लने। अव १ रुप्पेले ४ बटा आरेन्ज बल चकलेट खाने म। ओहो एक पटक त रिस उठेर, अव जती गरेनी कपाल भेट्या हैन, मेरो पालो काम्लोबाट सेता भुत्ला निकालेर ५० बटा बनाएर देखाईदिए हजुरआमालाई। उहाँ आत्तिएर, "बिहान ऐना हेर्दा त यत्ती बिघ्न थिएनन्, २-४ घण्टामै कती धेरै", भन्दै मलाई २ रुप्पे पचास पैसा दिनु भयो। म चै लौ बुढिले मार्ने भइन भन्या त थाहा पाइनन्। एक्कासी म आफूलाई फेवा ताल मा पाउँछु। म र जानकी डुगां चलाउदै, कती रमाईलो भाको, समय आफ्नो गति ले बहँदै। "ईज दिस वाई यू डिड्नट टक टु मी", हेरेको त बगरबाट बैदेहि कराऊँदै रहिछन्। मैले जानकीलाई हेरें, उनी मूर्ती झै बसेकी थिइन, मेरो तालु, ओंठ दुवै सुकि सक्या थियो। मैले के गर्ने के नगर्ने केहि सोच्न सकिन। बैदेहि आँखा रातो रातो पार्दै उग्र चण्डिको रुप धरेर हामी तर्फ हेर्दै रहिछन्। "गोरुसिगें झर्नुस है", खलासी करायो। ओहो कस्तो भयानक सपना। म त पसिनाले निछ्रुप्पै भिजेको रहेछु। के भा यो बैदेहिलाई कसरी सम्झें मैले ओहो यो सपना साच्चै भयो भने त। हेत्तेरी हुन्न हुन्न, कदापी हुन्न, फेरी मैले केहि गरेकै त छैन नी अव आफै आईलाग्नेलाई मैले के नै गर्न सक्छु र? लौ जे हुनु छ हुन्छ भन्दै म बसबाट तल झरें। "भाई, यहाँ कतिबेला सम्म रोक्ने?" मैले कण्डक्टरलाई सोधें। "आधा घण्टा" ए ल ठिकै छ, आधा घण्टामा त मैले फोन गर्न मज्जाले भ्याउँछु। ठाडा पिसिओ सर्भिस लेखेको पसलमा गएर कृष्णनगर फोन गर्न थालें। "रिङ .... रिङ .... रिङ .... रिङ .... रिङ ...." खै फोन नै उठेन बा। फेरी दश मिनेटमा फेरी प्रयास गरें, "रिङ .... रिङ .... रिङ ....", फेरी पनि फोन उठेन। अव औषधी पसल छोडेर कतै जानु त नपर्ने घरमै भए त फोन स्योर उठ्थ्यो। अव भएन भनेर यो के आईलाग्यो भन्या? ओहो अव के गर्ने कता जाने। कस्तो फँसाद पर्यो। "फोन उठेन कि क्या हो", पिसिओ चलाउने कन्या ले मलाई हेर्दै सोधिन्। "हो, हेर्नु न खै के गर्ने गर्ने भन्या", मैले आफ्नो विवशता जनाए। उनले मेरो मुखमात्रै हेरिन, उत्तर के नै दिन सक्थिन र? ------------------------------------------------------------------------------------------------- ------------------------------------------------------------------------------------------------- क्रमश:
Read Full Discussion Thread for this article