Posted by: gaalab December 11, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
अल्छी र लापर्वाही मानिसहरु पुष्पकले गाडी हाँक्यो। पाङ्ग्रामा जडान गरिएको सोली बिल्डिङ्को भित्तामा धसिंदा निस्कने भ्याकुमको शक्तिमा भर पर्दै हामी बिल्डिङ् उक्लन थाल्यौं। ४३ तल्लाको शिशा फोरेर भित्र पस्दा एउटा बच्चा रुँदै बाहिर निस्कने प्रयास गर्दै थियो। ऊ ढोकाको भित्रपट्टि राखिएको स्क्रिनका अंकहरुमा हात लगाउँदै ढोका खोल्ने प्रयत्न गर्थ्यो। तर, सही गोप्य अंक थाहा नभएर ढोका खुल्दैनथ्यो। उसको क्रन्दन सुनेर सँगैको भित्तापट्टिको पलंगमा सुतिरहेकी बृद्दा (जो सायद उसकी हजुरआमा थिई) उसलाई सहयोग गर्न खोज्दथी तर ऊ पनि आफैंमा असक्त थिई। उसको देब्रे खुट्टा पलंगमा टाँगिएको डन्डीसँग बाँधिएको थियो। लाग्थ्यो उसले यही दुई‍-तीन दिन अगाडि खुट्टा भाँचेकी थिई। बृद्दा र बालकका आँखा ठुला ठुला थिए र ती दुबै जना ढोकातिर हेर्दै चिच्याउँए। हाम्रो कोठामा प्रवेशसँगै उनीहरुको चिच्याहट अलि कम भयो। मैले बिशेषाधिकारको कोड प्रयोग गरेर ढोका खोली बालकलाई बाहिर पुर्याउँदासम्ममा पुष्पकले त्यस बृद्दा सुतेको खाटलाई कुर्ची मोडमा परिवर्तन गरी पाङ्ग्राहरुलाई गुड्ने मोडमा फेरेर ढोकातिर धकेल्यो। बृद्दालाई बाहिर ल्याएपछि लिफ्टमा ती दुईलाई चढाई लिफ्ट सिधै भूईं तल्लामा मात्र रोकिने गरी छोडिदियौं। हाम्रा सहकर्मी मानिसहरु पहिलो तल्लामा उनीहरुलाई स्वागत गर्न तयार थिए। आगलागी भएकोकोठामा पुन: प्रवेश गर्दा आगो निकै बढिसकेको थियो। हामी यस कोठामा आइपुग्न अरु २ मिनेट लागेको भए ती दुई बालक-बृद्दा जलेर भष्म हुने पक्का थियो किनभने अहिले आगो अघि त्यस बृद्दाको खाट रहेको ठाउँसम्म आइपुगेको थियो र कोठाका हरेक फर्निचर धपधपी बल्दै आगोका शिकार हुँदै थिए। आगोको बिचबिच हाम्फाल्दै पुष्पक अघि फोरेको शिसाको भित्तातर्फ गयो र खल्तीबाट सेतो टेप निकालेर त्यसलाई तन्काउँदै प्वाललाई पुरिदियो। मैले कोठालाई पुरै बन्द गर्ने स्वीच दबाएँ। बल्ल कोठा र बाहिरबिच हावा सर्न नपाउने भयो। मैले "आगलागी-बटन" थिचें र कार्बनडाइ-अक्साइडले पुरै कोठा भरिदिएँ। केही क्षणमै पूरै आगो मर्यो र कोठा पुरै सेतो, कुहिरो कैद गरिराखेको जस्तो, देखियो। हामी पुन: ढोकालाई बिशेषाधिकार कोड प्रयोग गरी खोलेर निस्कनु र सञ्जय लिफ्टबाट बाहिर निस्क्नु एकै साथ भयो। हामीले आगो पूर्ण रुपले दबाएको जानकारी दिंदा उसले लामै सास तान्यो। सञ्जयको काम भने भर्खर मात्र शुरु भएको थियो। उसले घरमुली ४२ औं तल्लामा बस्ने कुरा पत्ता लगाइसकेको रहेछ। हामी पनि सँगै तल्लो तल्लासम्म भर्याङ्बाट ओर्लियौं। घरमुली निस्कन मानेन तर सञ्जयले ढोका फोरेर भनेपनि भित्र छिर्ने धम्की दिएपछि भित्रबाट एउटा ३५ बर्षनाघेको मानिसले ढोकाबाट टाउकोमात्र निकालेर सञ्जयतिर बन्दुक सोझ्याउँदै भाग्ने चेतावनी दिन थाल्यो। मैले प्रकोप बिभागमा काम गर्दा अहिलेसम्म यस्तो परिस्थितिको सामना गर्नु परेको थिएन। तत्काल निर्णय लिनु पर्ने अवस्था आयो। म हत्तपत्त सञ्जयको अगाडि उभिएँ। त्यस मानिसले हाम्रो प्रतिरक्षाको चाल बुझ्न नपाउँदै पुष्पकले त्यस उसको टाउको र दाहिने हात समात्यो। हतारमा उसले गोली चलाउँदा सञ्जय एक्कासि चिच्यायो तर उसलाई केही भएको भने थिएन। गोली मेरो घुँडामा लाग्यो र भूईंमा झर्यो। मानिसलाई नियन्त्रणमा लिएपछि थाहा लाग्यो, अघिका बृद्दा र बालक उसकी आमा र पहिलो श्रीमती तर्फको छोरा रहेछन्। उसकी दोश्री श्रीमती ऊसँग झगडा गरेर रिस फेर्न ती ज्यामा-नातिको कोठामा आगो लगाएर कोठा बन्द गरी हिंडेकी रहिछ। "अनि कोठामा आगो लाग्या थाहा पाउँदा पाउँदै किन यो कोठामा चुपचाप आफैंलाई थुनेर बसेको त? तिम्रो कर्तव्य छैन ती आशक्त दुई जनालाई बचाउने?" सञ्जय कुर्लियो। "तिमीहरु प्रकोप बिभागबाट ४-५ मिनेटमा आएर ठिक पार्न सकिहाल्थ्यौ नि! र, सक्यौ पनि। यस्तो थाहा हुँदा हुँदै मैले किन दु:ख गर्नु पर्यो?" त्यस मानिसबाट उत्तर आयो। ऊ घटना हुँदा ४२ तल्लामा थियो। त्यसैले हिसाब गर्दा, यदि उसले चाहेको भए, हामीले गरेको काम उसले डेढ मिनेट अगाडि नै फत्ते गर्न सक्थ्यो। "तँलाई लाछी!" सञ्जयले उसलाई हतकडी लगाउँदै भन्यो, "तेरो मानवता कता गयो? यी दुई रोबोटहरु नभएको भए तेरो सारा परिवार डढेर नष्ट हुन्थ्यो। अँझै यस्ता कुरा गर्छस्? तँलाई मेरो प्रहरी बिभागबाट प्राप्त बिशेषाधिकार प्रयोग गरी मानव जीवनमाथिको हेलचक्र्याइँ अनि प्रकोप बिभागको अफिसरको हत्याप्रयासको अभियोगमा गिरफ्तार गर्दछु।" मैले मेरो घुँडामा लागेको गोली भूईं टिपें र त्यस गोली लागेको ठाउँ नियालें। सानो खत लागेको रहेछ। सायद मानिस भएको भए ह्वालह्वाल्ती रगत आइरहेको हुने थिय। घटनाको रिपोर्ट तयार गरें। आन्तरिक संचारमार्फत पुष्पकलाई गाडीमा फर्किन इशारा गरें। हामी दुई पुन: ४३ तल्लामा उक्ल्यौं, भर्खरसम्म आगो लागेको कोठामा पस्यौं। अघि टालेको टेप झिकेर फालेपछि पुष्पक गाडीको चालक सिटमा बस्यो र मलाई पनि सँगै बस्नको लागि हात दियो। "४२ तल्लामा भएको मान्छे, ४३ तल्लामा आगो लाग्दा पनि सहयोग गर्न नजाने। यी मानिसको जात कति अल्छी? कति लापर्वाही?" समाप्त:॥
Read Full Discussion Thread for this article