Posted by: gaalab December 11, 2006
-- चौतारी ३७ --
Login in to Rate this Post:     0       ?        
ल, चौतारीमा भालाकुसारी गरौं। धन्यवादको लागि धन्यवाद!! :) आज सानो कथा लेख्ने प्रयास गरेको छु। केही मिनेटहरु लगाएर पढी ताली-गाली दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु। हुन त बल्खुतिर राखौं जस्तो नलागेको नि हैन। तर, यसो सोचें, यहीं राख्दा ठिक होला भनेर। अल्छी र लापर्वाही मानिसहरु यो तीस बर्षको बिचमा कति आए, कति गए। विभागका भवनहरु भत्किए, थपिए। प्रत्येक वर्ष अप्रिल महिनामा नयाँ मान्छेहरु हाम्रो अफिसमा भर्ना हुन्छन्। तर ती कुनै पनि धेरै वर्ष टिक्दैनन्। तिनीहरु काम पनि त्यति गर्दैनन्। फिल्डमा जाँदा हामीलाई अर्डर दिन्छन्। काम सफल भए तक्मा र जस कमाउँछन्। असफल भए गाली पनि खान्छन् अनि हामीमाथि रिस पोख्छन्। हाम्रै कामको आधारमा २-४ वर्षैमा या त बढुवा भएर केन्द्रतिर लाग्छन् या सरुवा भएर अरु अफिसमा पुग्छन्। तर लगातार म र पुष्पक भने यही प्रकोप विभागमै छौं। आज मध्येदिनमा एक्कासि अफिसमा साइरन बज्यो र स्वचालित एनाउन्स आयो - "सफलनगर छब्बिस नम्बर वार्ड, चार नम्बर सडकको एघारौं घरको त्रिचालिसौं तल्लाबाट धुवाँ आएको छ। गम्भीरता ६५ प्रतिशत। घटनास्थलसम्मको सबभन्दा छोटो दुरी २ दशमलब ७ किलो मिटर, घटनास्थल पुग्नको लागि लाग्ने समय १ मिनेट १७ सेकेन्ड। सबभन्दा छोटो दुरीबाट जानको लागि --" हामीलाई एनाउन्स सुनिरहने समय थिएन। मेरो नयाँ बोस सञ्जयले मलाई हिंडिहाल्न निर्देश गर्यो। अफिसको पार्किङ् लटमा पुग्दा पुष्पक कारमा बसिसकेको रहेछ। म सिटमा बस्दासम्ममा उसले घटनास्थल पुग्ने रुटको योजना गरिसकेको थियो। कारको स्वचालित नेभिगेटरले सूचना गर्यो - "हालको स्थान १९ समानन्तर र २ नम्बर सडकको चोक। घटनास्थलसम्मको सबभन्दा छोटो दुरी २ दशमलब ७ किलो मिटर, घटनास्थल पुग्नको लागि लाग्ने समय १ मिनेट १७ सेकेन्ड। सबभन्दा छोटो दुरीबाट जानको लागि कृपया १९ समानन्तरबाट पूर्वतिर २ ब्लक जानुहोस् र ४ नम्बर सडकमा देब्रेतिर मोडिनुहोस्। ४ नम्बर सडक आएपछि उत्तरतर्फ ५ ब्लक -- " हामी अफिसबाट २ नम्बरको सडक लिएर उत्तरतर्फ लागिसकेका थियौं। नेभिगेटरको एनाउन्स बिचैमा फेरियो। "पुष्पक तिमीले गलत बाटो पक्डियौ। सबभन्दा छोटो दुरीबाट जानको लागि १९ समानन्तर लाग्नु पर्ने थियो। पछाडि फर्क!" एनाउन्सलाई मतलब नगरी हामी समानन्तर १८ मा आइपुग्न लागेका मात्र के थियौं, एनाउन्स फेरि पनि फेरियो - "पुष्पक, म तिमीलाई फेरि पनि भन्दैछु। तिमीले गल्ती बाटो पक्डियौ। यहाँबाट घटनास्थल पुग्नको लागि सबभन्दा कम दुरीले पुग्नको लागि अब समानन्तर १८ मा दाँयातिर मोड।" मैले नेभिगेशन बन्द गरिदिएँ। वास्तवमा १८ समानन्तर र ४ नम्बर सडकको चोकमा हिजो भर्खर एउटा दुर्घटना भएको थियो। एउटा सन्काहाले बाटोको बिचमा जबर्जस्ती गाडी रोकिदिएकोले पछाडिबाट लगातार २१ वटा गाडीहरु एक पछि अर्को गरी ठक्कर खाएका थिए। हामीलाई सडक सुचारू गर्न पुरै १३ मिनेट लागेको थियो। गाडीका सबै सिटमा इमर्जेन्सी डल्लपहरु निस्केकोले मानिसहरु हात पात त हुन पाएनन्। तर यो तीस वर्षे क्यारियरमा २५ जना घाइते हुनेगरी भएको दुर्घटना मैले पहिलो पटक सम्हालेको थिएँ। हामीलाई दिइएको निर्देशन अनुसार अति आवश्यक कारण बाहेक एक चोटि दुर्घटना भएको सडकमा ४८ घन्टासम्म प्रयोग गर्न मनाही थियो। त्यसैले नेभिगेटरको सहयोग आज लिन नसकिने पक्का थियो। हिजो भएको दुर्घटना सायद नेभिगेटरमा अपडेट गरिएको थिएन। अल्छी र लापर्वाही मानिसहरु! हिंडेको ५५ सेकेन्डमै हामी प्रगतिचोकमा आइपुग्न लागेका थियौं। पुष्पकले इमर्जेन्सी साइरन बजायो। अगाडिबाट आउने मोटरहरु रोकिन आँटेका देखिए। ठीक पाँच सेकेन्डमा हामी दाइनेतिर मोडिएर समानन्तर १४ पक्डेर पूर्वतिर हानियौं। घटनास्थल पुग्नको लागि अँझै ३३ सेकेन्ड लाग्ने अडकल काटें। मैले सञ्जयलाई हामी १२:०३:३५ मा घटनास्थल पुग्ने अनुमान भएको सूचना पठाएँ। सञ्जय हाम्रो युनिटका अरु ५ जनासहित दमकल लिएर हाम्रो पछि आउँदै थियो। सञ्जयले हामीलाई घटनास्थलमा तत्काल जाँच गरेर मानव उद्दार सुरु गर्ने निर्देशन दियो। अनुमान गरेको समयमै हामी ४ नम्बर सडकको चोकमा देब्रे मोडेर एघारौं घरमा आइपुग्यौं। यस सडकमा मोडिने बेलामा नै मैले कारको छानोलाई खोलेर घटनास्थल हेर्न भ्याएँ। एघारौं घरको सबभन्दा माथिल्लो तल्लाबाट कालो धुवाँ निस्किंदै थियो र अलि अलि रातो राँको बाहिर आउला जस्तो गरी बढ्दै थियो। हिसाब गर्दा सञ्जयहरु आइपुग्न ५३ सेकेन्ड अरु लाग्थ्यो। त्यति समय खेर फाल्न कदापि पनि सकिने थिएन। त्रिचालिस तल्लामाथि तत्काल पुग्नको लागि हामीसँग एक मात्र विकल्प थियो। मैले पुष्पक तिरहेरें, उसले सहमति जनाउँदै टाउको हल्लायो। यतिञ्जेल अर्ध रुपमा स्वचालित गाडीको ह्यान्डललाई पुष्पकले पूर्ण रुपमा म्यानुअल मोडमा फेर्यो। र गाडीलाई सडकबाट पेटितिर बढायो। घरको भूईं तल्लामा आइपुग्दासम्म मैले आफ्नो सिटबेल्ट कम्मर र छाति २ ठाउँमा बाँधिसकेको थिएँ र पुष्पकको सिटबेल्ट बाँध्ने बटन पनि थिचें। पाङ्ग्रालाई सामान्य मोडबाट भ्याकुम मोडमा फेर्ने बटन दबाएँ। एकै छिनमा हाम्रो सिटमुनिबाट पेचीले चल्ने फलामका चार वटा लिफ्टर तल भूईंतिर बढे र बिस्तारै गाडीलाई उचाले। सडकबाट ३० सेन्टीमिटर उठेपछि चारवटै पाङ्ग्राको वरिपरि सोली आकारका ठुला ठुला बाक्ला प्लास्टिकका टुलहरु फिताहरु बाहिर पर्ने गरी गाडिए। यतिञ्जेलमा पुष्पकले गाडीबाट लामो लिभर त्यस बिल्डिङ् तिर जाने गरी पुर्याइसकेको थियो। लिभरको टुप्पामा भएका भ्याकुमका सोलीहरु बिल्डिङ्को बाहिरपट्टि अड्याएर गाडी भूँईसँग नब्बे डिग्री परेर झुन्डियो । चार वटै पाङ्ग्रा त्यस बिल्डिङ्गका भित्तामा अडिएपछि पुष्पकले लिभरलाई फिर्ता तान्ने बटन दबायो। सञ्जय आइपुग्दा हामी बिल्डिङ् चढ्न तयार भइसकेका थियौं। क्रमश:
Read Full Discussion Thread for this article