Posted by: Ok November 28, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाफ माफ गरे है! आत्मकथा-ओके भाग २ खण्ड ५१ आफ्नो सिटमा बसेर सेफ्टीबेल्ट बाँध्ने बितिक्कै त्यहि प्याक खोलेर हेरेँ। म १० कक्षामा पढ्दा जेलबाट छुटेर आउने बितिक्कै घनश्याम सरको घरमा लगाएको सत्यनारायणको पूजाको दिन खिचेको मञ्जु र मेरो फोटो रहेछ, अलिक पुरानो भैसकेको। फोटोको पछाडि लेखेको रहेछ “सम्झनु हुन्छ, यो फोटो?” अनि एउटा चिठी रहेछ। सम्बोधन बिनाको चिठीमा लेखिएको थियो: ........., खै के भनेर सम्बोधन गरौँ? मैले त केही सोच्नै सकिरहेकी छैन। नरिसाउनुस् है, मैले सम्बोधनसम्म पनि गरिन भनेर। हेर्नुस् न, म चिठी नै लेख्न जान्दिन, उसमाथी एउटा असफल प्रेमीकाको बेदना। निर्जिव मनमा उम्लिएको भावना। वितिसकेको ईतिहास। आखिर यो लेखेर नै के पो हुन्छ र, भन्नुस् त? जे हुनु थियो, त्यो त भैसक्यो नि। मैले वास्तवमा तपाईँलाई भेट्दै नभेट्नु पर्ने हो। यो चिठी नै नलेख्नु पर्ने हो। उच्च सफलताको चुर्चुरो चुम्न सपनाको देश जान लाग्नु भको तपाईँलाई यी मेरा पुराना कुराहरुको गन्थन नसुनाउनु पर्ने हो। सफलताको शिखरमा पुग्नै लाग्नु भको तपाईँको उच्च दिमागमा यस्ता झिनामसिना कुराहरुले बेकारमा अबरोध नल्याउनु पर्ने हो। कहाँ तपाईँको उच्च सोचाई, कहाँ मेरा यी थोत्रा कुरा। तरपनि मैले आफूलाई रोक्नै सकिन। नलेखौँ भन्दा भन्दै पनि यी अक्षरहरु लेखिए। नदेखाउँ भन्दा भन्दै पनि मेरा मनका वहहरु यी पेजहरुमा पोखिए। मलाई थाहा छ यी हरफहरु पढेर तपाईँ दुखित हुनुहुनेछ। मलाई थाहा छ, मलाई फेरि देख्दा तपाईँलाई नराम्रो लाग्नेछ। बिगतमै हराएर टाढा पुगिसकेको ईतिहासले फर्केर बाटो छेकेको जस्तो लाग्नेछ तपाईँलाई, अबरोध पुर्याएको मान्नु हुनेछ, तपाईँले। मलाई थाहा छ, मैले यो सब गरेर राम्रो गरिरहेकी छैन। तर म विवश छु, आफ्नै मनलाई वशमा राख्न सकिरहेकि छैन। तपाईँको विवाह भैसकेपछि कमसेकम एकैपटक भएपनि तपाईँको अनुहार हेर्ने तिव्र इच्छा थियो, तरपनि आँट गर्न सकिरहेकी थिईन। आज आँट्दैछु। किन मलाई यत्रो आँट आईरहेछ, छक्क परेर कारण बुझ्न आफैँलाई प्रश्न गर्दैछु। एउटा कुरा चाहिँ के पत्ता लगाएँ भने, म धेरै कमजोर भैसकिछु। आजको आँट यो लुरी मञ्जुले गरेको हैन, उस्को मनले हो। यो दुश्साहस तपाईँकी ईतिहासकी साथीले गरेको हैन, उसको मुटुको धड्कनले हो। यो मुटुमा परेको घाउ कोट्याएर झन् दुखाउने आत्मघाति प्रयास एक अबोध केटीले गरेको हैन, त्यो कन्ट्रोल नै गर्न नसक्ने उसको दिमागले हो। बिचरा यो मञ्जुसँग आज केही पनि छैन; मन पनि छैन, मुटुको धड्कन पनि छैन र चेतनायुक्त दिमाग पनि। यिनीहरुले यो अभागि मञ्जुलाई छोडिसके, सबै तपाईँतिर लागेका छन्। मलाई जस्तै यिनीहरुले तपाईँलाई पनि दुख देलान्, होसियार हुनुस् है, मबाट भागेका यी भगौवाहरुदेखि! हुन त अब मसँग के नै बाँकी छ र बसुन् बिचाराहरु पनि! जे भए पनि आज मैले अठोट गरिसकेकी छु तपाईँलाई भेट्ने र तपाईँलाई एकैपटक भएपनि हेर्ने। भोलिबिहान म त्यहि धोको पूरा गर्न यो चिठीका साथ एअरपोर्ट आउन लागेकी छु। भोलि मैले मेरो अन्तिम इच्छा पूरा गर्न लाग्दैछु, तपाईँलाई हेर्ने। एकपटक तपाईँलाई भेट्दा आईपर्ने जुनसुकै परिस्थिति भोग्न म तयार छु। तपाईँसँग भेटेका शुरुशुरुका क्षणहरु हरपल मेरो दिमागमा घुमिरहन्छन्। मैले तपाईँलाई पहिलोपटक कहिले देखेकी थिएँ, याद छ तपाईँलाई? तपाईँलाई कसैले छिड्किनि लगाएर लडाएको थियो, तपाईँको झोलाबाट एउटा कपी निस्किएर धुलोमा झरेको थियो, अनि मैले तपाईँलाई त्यो कपी धुलो टक्टक्याएर दिएकि थिएँ नि, सम्झनु भयो? कति बर्ष बित्यो त्यसपछि, याद गर्नुस् त? पूरा १४ बर्ष। अझ म नाटक हेर्न तपाईँको घर गएर प्रत्यक्ष आफ्नै आँखाले तपाईँको घरको गरीवीको सजीवरुप देखेपछि मैले तपाईँलाई अर्कै रुपमा हेर्न थालेँ। तपाईँकी आमा कति महान् हुनुहुन्छ, जस्ले तपाईँ जस्तो संघर्षशिल छोरालाई जन्मदिनु भो। घरको सम्पूर्ण कामलाई भोकोपेट आफैँले सकेर तपाईँलाई पढ्ने फूर्सद दिनु भो। अनि तपाईँ पनि कति महान् हुनुहुन्छ? सोच्नुस् त तपाईँको विगत र भोलिको दिन कति फरक छ, तपाईँ नाप्न सक्नु हुन्छ? अवश्य सक्नु हुन्न, किन कि नापेर पार लाग्ने दुरी नै छैन यसमा। आकास र पतालको फरक नापेर के पत्ता लागोस्? त्यस्तो ठाँउबाट यस्तो ठाँउमा आईपुग्न अरु कसैले सक्तैनन्, केवल तपाईँ बाहेक। एकपटक सम्झनुस् त, तपाईँले विगतमा गरेको सँघर्ष अनि अगाडिको बाटो! यो सब तपाईँको सँघर्षको परिणाम हो, यो सब तपाईँको लगानीको फल हो। तपाईँको मिहिनेतमा तपाईँकी आमाको थप लगानी छ, अनि त तपाईँ सफलताको सिढीँ चढिरहनु भएको छ नि। तपाईँ अझै माथि चढ्दै जानुस्, चढ्दै जानुस् र सबैभन्दा माथि पुग्नुस् है। मलाई तपाईँ सबभन्दा माथि पुगेको सुन्न कति मन छ! पाए त हेर्न पनि मन थियो, तर त्यत्रो सौभाग्य यो अभागि मञ्जुलाई कसरी मिलोस्? अहिलेको यत्रो उमेरमा पनि के कुरा लुकाउनु, मलाई तपाईँ जेलबाट छुटेर आए पछि चाहिँ आफ्नै मान्छे जस्तो लाग्यो। तपाईँ र मैले सत्यनारायणको पूजाको दिन खिचेको फोटो नै मेरो जीवनको अभिन्न अंग बन्यो त्यसपछि। दिनको कतिपल्ट त्यो फोटो हेरेर म तपाईँकी हुने कल्पना गर्थेँ, अनुमान गर्न सक्नु हुन्छ तपाईँ? राति बिउझिँदा पनि एकपटक त्यो फोटो सिरानीबाट निकालेर नहेरीकन चित्तै बुझ्दैनथ्यो। आज यो चिठी लेख्दा पनि त्यहि फोटो अगाडि राखेकी छु, हेरीरहेकी छु र मेरा आँखाले मुल्यहिन आँसु झारेर मलाई लेख्न नै डिष्टर्व गरिरहेका छन्। यो फोटो मसँग रहुन्जेल म तपाईँबाट टाढा भएर तपाईँको सुनौलो बाटोमा काँडाको रुपमा नबिझिने अठोट पूरा नहुने सोचि यहि नै उपहार स्वरुप टक्राउँदैछु, सायद मेरो जीवनको अन्तिम उपहार तपाईँको लागि। हुन त मलाई यो फोटो सिरानीमा नहुँदा निद्रा नलाग्ला केही हप्ता वा केही महिना वा केही वर्ष। तरपनि यसले के नै फरक पार्छ र? म निदाउनै पर्छ भन्ने पनि त छैन नि। अझ म निदाउनु र ननिदाउनुमा के नै फरक छ र? आखिर मेरो जीवन भनेको सास नभएको एक शरीर न हो, हिँउदमा काटेर लडाएको काठको मुढो जस्तो! काठमाण्डौको जीवन पनि मैले सोचे जसरी अगाडि बढ्न पाएन। बाबासँग काठमाण्डौमा तपाईँसँग बस्न मन लागेको कुरा गर्न पनि सकिन। मैले तपाईँलाई पुल्चोकको होस्टेलमा फोन गर्दा फोनलाई खुलै राखेर होस्टेलका पालेहरुले तपाईँलाई बोलाउँथे। उनीहरुले “ओमको गर्लफ्रेण्डले फोन गरेको” भनेर गरेको गफ पनि म फोन भित्रैबाट सुन्थेँ। अनि त मलाई झन् “तपाईँले मलाई गर्लफ्रेण्ड भनेर चिनाउनु भएको रहेछ क्याम्पसमा पनि, तपाईँले पनि मलाई मन पराउनुहुदोँ रहेछ” भनेर पूर्ण विश्बास भयो। यस्ता कुरा थाहा पाएर पनि मेरो अन्तरमनमा उम्लिरहेको प्रेमलाई पोख्नु भनेको हतारिनु थियो। जसले तपाईँको मन भाँड्न पनि सक्थ्यो, जुन म कल्पना नै गर्न सक्तिनथेँ। तपाईँले सुन्दरीजल जाने कुरा गर्नुभयो। तपाईँले मलाई प्रेम प्रस्ताव राख्न लाग्नुभको भन्ने कुरामा म ढुक्क थिएँ। तपाईँको मुखवाट त्यो कुरा सुन्न म ब्यग्र प्रतिक्षारत थिएँ। मेरो खुशीले सीमा काटीसकेको थियो। यदि त्यस दिन पनि तपाईँले कुरा नगरे म आफैँ प्रस्ताव राख्ने योजना सहित तयार थिएँ। अघिल्लो दिन बेलुकी किताब समाएर कसम खाएकी थिएँ, जस्ले मलाई त्यसदिन जसरी पनि मेरो मुखवाट कुरा निकाक्ने थियो यदि तपाईँले ननिकाल्नु भाको भए पनि। भोलिपल्टको रमाईलो अनुभव मनमा खेलाउँदा सोमवारको त्यो रात झिमिक्कै नगरी उज्यालो भएछ। भोलिपल्ट म हिड्न ठिक्क परेका वेला टुप्लुक्क बाबा आईपुग्नुभयो गाउँवाट। म भनेको वेलामा हिड्नै पाईन। मैले हतारहतार तपाईँको कोठामा फोन गरेँ। फोनको घन्टी कसैले उठाएन, केवल शुन्य कोठामा बजिरह्यो। तपाईँ हिँडिसक्नु भएछ। मैले त्यसबेला नै बाबालाई सिधै कुरा भनेर म जानु पर्थ्यो, तरपनि गाउँबाट थाकेर आईपुग्नु भको बाबालाई एक कप चिया पनि नख्वाईकन म हिड्न सकिन। मैले दिनभरी जसो फोन गरेँ, बेलुका रातिसम्म पनि गरेँ, तर तपाईँसँग भेट भएन। वुधवार, विहिवार र शुक्रवार कयौँ पटक फोन गरेँ। त्यसको ठ्याक्कै एकसाता पछि जव तपाईँको विवाह मेनुकासँग हुने भनेर लेखिएको विवाहको निमन्त्रणा कार्ड मामा घरको बैठक कोठाको टेवलमा देखेँ, तब म छाँगाबाट खसे जस्तो भएँ। बाबाले पनि त्यो बिहेको कार्ड हेर्दै आँखावाट वरर आँसु खसाल्नुभयो, केही नबोली। मेरो बाबाको आँखामा म जान्ने सुन्ने भएदेखि आँसु कहिल्यै देखेकी थिईँन। त्यस दिनदेखि बाबालाई काठमाण्डौमा बस्न एक रति मन थिएन। संचयकोषको काम सकिने वितिक्कै उहाँ फर्कनुभयो। अचम्म त मलाई यस कुरामा भयो कि मेनुका पनि मेरै साथी। साथी पनि अति नजिकको साथी एकै मनपेटका। सँगै ट्युशन पढेको साथी, त्यसमाथि तपाईँसँगै। म टेकेको भूइँ भासियो। म दलदलमा जाकिएँ, कहिल्यै बाहिर निस्कनै नसकिने गरी। त्यहि दलदलमा फसेर बाकीँ जीवन काट्दैछु, काटीरहनेछु। रुनु नै मेरो दैनिकी हो, म जहिले पनि रोहिरहनेछु। मेरो भाग्यमा नै रुनमात्र लेखेको छ भने मैले हाँस्न खोजेर हुन्छ र? कदापी हुन्न। म रोईनै रहे पनि तपाईँ हाँसेको मलाई खुब मन पर्छ। तपाईँको अनुहार अँध्यारो भएको वा आँखामा आँसु आएको म खप्नै सक्तिन, देख्नै सक्तिन। त्यसपछि तपाईँलाई भेट्ने धेरै कोशिष गरेँ, तर सफल भईँन। म एकहप्ता सम्म तपाईँको कोठामा जाँदै फर्कँदै गरेँ। तपाईँले तपाईँ बसेको घरमा पनि केही नभनि जानु भएछ। मेनुकालाई फोन गरेर सोध्न मनै लागेन। कार्यकारी निर्देशककी छोरीको विवाहको खबर हावासरी फैलियो, शहरैभरि। ठूलो मान्छेकी छोरीको विवाहको खबर फैलन किन समय लाग्थ्यो र? सबैले त्यहि कुरा मात्र सुनाउँथे, म जता जाँदा पनि। मलाई त्यो कुराले कति आघात पार्छ भन्ने कुरा कसैले बुझेन। मेरो मामाघरमा त झन् त्यहि मात्र कुरा हुन्थ्यो। अरुहरुका अगाडि केही नभए जस्तो गरे पनि एकान्त भेट्नासाथ डाको छोड्नु बाहेक मेरो केही विकल्प थिएन। पन्ध्रदिनपछि मात्र भेट हुन पायो तपाईँसँग। त्यो भेटघाटले हामी दुईको मन साटासाट गर्न सफल भयो, अन्तरमनमा गुम्सिरहेको भावनालाई साटासाट गर्न त सफल भयो, तरपनि मेरो प्रेमलाई मसँगै फिर्ता ल्याउन सफल भएन। कुरा धेरै अगाडि बढीसकेकोले कुनै उपाय थिएन, हामीसँग। तपाईँ त धेरै ट्यालेन्ट हुनुहुन्छ। मेनकाजी पनि नराम्रो मान्छे त हैन नि। तपाईँहरुको त जीवन उज्ज्वल हुन्छ। म ईश्वरसँग प्रार्थना गर्छु, तपाईँहरुको सुखमय जीवनको लागि। तपाईँ नै मेरो जीवनको एकमात्र महान् हुनुहुन्छ। मेरो मनमा तपाईँ यस्तरी गडेर बस्नु भा छ कि, अरुलाई यहाँ एक ईञ्च पनि ठाँउ छैन। अन्यहरु यहाँ अट्नै सक्तैनन् र अटाउनु पनि छैन। यसो भनेँ भन्दैमा म अब बिहे नै गर्दिन त भन्दिन। म बाबाममीकी एक्ली छोरी, उहाँहरुको कुरा पनि मैले सुन्दिनु पर्छ। मैले बिहे गर्दिनु पर्छ र गर्दिन्छु होला पनि। तर त्यो विवाह मेरा लागि हैन। मेरो विवाह त धेरै पहिल्यै नै कसैसँग भैसकेको छ, मनमनै अनि आत्मिय मिलनका साथ। मैले कल्पनामै बिहे गरीसकेकी छु। सपनामै दुलही भएकी छु कसैकि। अनि कल्पनैमा बाँधिएकी छु कसैको अँगालोमा। सुनौलो पारिवारिक संसारमा सँगै हाँसेको, खेलेको र रमाईलो गरेको अनुभव पनि मनमनै गरेकी छु। कति सुन्दर कल्पनिक संसार है तपाईँको र मेरो? आज तपाईँ कसैको भैसक्नु भको छ। कसैले तपाईँको कञ्चन प्रेममा रम्न पाएको छ, मुस्काउन पाएको छ र हाँसीखेली जीन्दगिको सच्चा परिभाषा बुझ्न पाएको छ। यो समाजले देख्ने रुपमा म अब तपाईँकि हुन सक्तिन। तर म त सँधै तपाईँकी मात्र हुन्छु है, तपाईँ कमसेकम कल्पनैमा मात्र भएपनि तपाईँको साथमा रम्ने अधिकार चाहिँ मलाई दिनुस् ल, नाई नभन्नुस् है? -मञ्जु चिठी एकैपटकमा पढ्न सकिन। प्रत्येक वाक्यवाक्यले, प्रत्येक शब्दशब्दले मलाई अन्तहीन गहिराईमा पु-याउँथे। अनि मेरो दिमाग उही अतितको लामो यात्रामा निस्कन्थ्यो। एकैछिन अगाडि एयरपोर्टको गेटबाट बाईबाई गर्दा आँखाभरि आँसु लिएर बिस्तारै हात हल्लाईरहेकी मञ्जु नै देखिन्थिन्, मेरा दृष्यमा। जब एअर होस्टेजहरुले “डु यु वान्ट हार्ड अर सफ्ट, सर?” भन्दै मेरो सोचाईलाई भंग गरिदिन्थे, तब झल्याँस्स हुन्थे सपनाबाट बिउँझिए जस्तो। साँच्चै यो सब सपना भईदिए पनि त हुन्थ्यो नि। “नो थ्यांक्स” मेरो सधैँको उतर हुन्थ्यो। मेरा रसाएका राताराता आँखाहरु तिर हेर्दै “आर यु ओके, सर?” भनेर सोध्थे। “आई एम फाईन्, थ्यांक्यु” मेरो रेडिमेड उतर थियो। जब उनीहरु जान्थे, अनि चिठीको अर्को हरफ। सबै चिठी नसकिँदा नसकिँदै म चढेको विमान बैंकक अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लागिसकेको रहेछ। कति चाँडै तीन घण्टा बितिसकेछ। अन्य यात्रुहरु जस्तै म पनि भारी मन लिएर विमानबाट निस्किएँ र टोकियो-नारिता हुँदै लसएञ्जलस उड्ने थाई एअरवेजको उडान भर्ने प्रतिक्षालयमा कुरीरहेँ। *समाप्त* साझाल्याण्ड, ११ मंसिर २०६३
Read Full Discussion Thread for this article