Posted by: Ok November 28, 2006
Login in to Rate this Post:
0
?
मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ५०
२०५७ साल साउन २८ गते शनिवार। हिजो बेलुका निकैबेरसम्म सामान मिलाउँदै परिवारसँग गफगाफ गर्दैमा बित्यो। आमा र मेनुकाको जिद्दिको सामुन्ने मेरो के लाग्थ्यो र? मैले पनि सकेसम्म उनीहरुको चित्त बुझाउन सबै समान सुटकेशमा अटाउने कोशिष गरेँ। आमाहरु सुतेपछि पनि निकैबेर मेनुकासँग भलाकुसारी चल्यो। निद्रा भने लाग्दै लागेन। मनमा विगतका क्षणहरु पनि घुमे, आगामी सुनौलो सँसारका मीठा कल्पनाहरु पनि खेले। मेनुका पनि निदाउन सकिनन्। विवाह गरेको चानचुन ६ महिना मै श्रीमानले छोडेर विदेशिन लागेको बखत उनलाई पनि के निद्रा लागोस्? बिछोडको पीडा भएपनि “छात्रवृति पाएर सपनाको देश अमेरीका पढ्न जान लागेकोले” उनी पनि एकहदसम्म खुशी नै थिईन्। विछोडिँदा त जस्लाई पनि नराम्रो त लागि हाल्छ नि! रातको १ त त्यतिकै बज्यो। त्यसदिन पनि मेनुका सँग मञ्जुको कुरा गर्ने प्रयास असफल रह्यो।
बिहान सबेरै देखि हिजो सुटकेसमा अटाउन नसकेका समानहरु कोच्न थालेँ। एकातिर घरपरिवार सबैलाई छोडेर हिड्दाको पीर थियो भने अर्कोतिर नयाँ सँसारमा जान लागेको उमँग र कौतुहलता पनि छँदै थियो। त्यतिकैमा बिहानको दश बज्यो। भाइ ट्याक्सिलिन सडकतिर गयो। पासपोर्ट र टिकट चेक गरीसकेर सुटकेश हातमा लिँदै आमासँग विदा भएँ। मेनुका र भाइ मलाई एअरपोर्टसम्म पु-याउन आए। आमा चाहिँ अँध्यारो मुख लगाएर ढोकैको छेउमा उभिएर हेरिरहनु भएको थियो, म हिँडेको। मेनुकालाई ट्याक्सिभरी धेरै सल्लाह दिएँ। “मिलेसम्म छिटो बोलाउँछु, पीर नगरी बस है” भनेर उनको चित्त बुझाउने कोशिष गरेँ। एअरपोर्टमा पुगेपछि त्यहाँ एकछिन् बसेर मेनुका र भाइ मसँग बिदा भए। उनीहरु त्यहि आँउदाको ट्याक्सी चढेर फर्किए। ट्याक्सी ड्राईभर पनि चिनचानको मान्छे परेछ, उस्ले पनि एकछिन कुर्न मान्यो। बिदा हुने बेलामा मेनुकाले झारेका आँसुले मलाई पनि झण्डै रोवाएको थियो, तरपनि कन्ट्रोल गरेर रोकेँ।
क्यारियरमा सामान राखेर जब म एअरपोर्टभित्र पस्न लागेको थिएँ, पछाडिबाट कसैले बोलायो “सुन्नु न” फर्केर हेरेँ, मञ्जु रहिछिन्। म त छक्क परेँ, सायद उनी पहिले नै एअरपोर्टको बाहिर आएर कतै बसिरहेकी रहिछिन् क्यारे! मेरी श्रीमतीबाट छलिएकी पो हुन् कि? क्यारियरलाई घुमाएर उनी भको ठाँउमा हतारिँदै पुगेँ, उनी पनि म भएतिर आईन्, दौडिँदै। एकछिन् त मलाई सपना जस्तो लाग्यो। सात महिना अघि भेट्दा कि जस्ति रहिनछिन् मञ्जु। दुब्ली, लुरी, पातली। आँखाको डिलमा कालोकालो धब्बा बसेको, आँखाहरु पनि लोलाएका। भर्खर बिरामीबाट उठेको जस्तो, राम्रोसँग पनि नतंग्रिएको जीउ।
“किन मञ्जु, बिरामी पर्यौ कि क्या हो? किन यसरी दुब्लाएकी?"
“ओमदाइ सरी है, म फेरि तपाईँलाई भेट्न आँए”
“किन सरी भनेको नि! कसरी थाहा पायौ म आज विदेश जाँदैछु भनेर?”
“तपाईँलाई भेट्न मन लाग्यो, अनि यहाँ आएँ”
उनले मेरो प्रश्नको उतर दिईनन्। एकोहोरो उनकै कुरामात्र गरीरहिन्, पागल जस्तै। मैले पनि अन्य कुराहरु सोध्न सकिन। वरिपरिको कोलाहलले हामीलाई केही असर गरेन। शुन्यता छायो, हामी बीचमा। खम्वामा छलिएर एकअर्कालाई हेरीरह्यौँ, केवल हेरिरह्यौँ मात्र। उनका आँखाबाट आँसु झरिरहे, उनी रोईरहिन्। मसँग उनलाई सान्त्वना दिने शब्दहरु पनि थिएनन्, बोल्न सक्ने अवस्था पनि थिएन। उनी यति गलिसकेकि थिईन् कि, मैले केही भनेर उनलाई फरकपर्ने अवस्था नै थिएन।
यसो घडि हेरेँ, समय बित्न लागिसक्यो। फेरि बिदा हुने बेला त आईहाल्यो। घडि हेर्दै भनेँ “मञ्जु, मेरो प्लेन छुट्ने बेला भैसको, म जान्छु ल। आई एम भेरी भेरी सरी मञ्जु, मैले तिम्रो मन बुझिनछु। मैले हतारमै डिसिजन गरेँ, एकपटक तिमीलाई पनि नसोधी। म दोषी हुँ। तरपनि म परिवन्दमा थिएँ। प्लिज मलाई नराम्रो नसोच है। मैले तिम्रो मनलाई बेलैमा पढ्न सकेको भए…..”।
मेरो बोली विचैमा रोकियो। उनले आफूलाई कन्ट्रोल गर्न खोजिन्। बगिरहेका आँसुलाई हातैले पुछेर लुकाउन खोजिन् र भक्भकिएकै स्वरमा भनिन् “यसमा तपाईँको केही गल्ती छैन। गल्ती त सब मबाट भयो। मैले तपाईँलाई १४ बर्षसम्मको मेरो प्रेमबारे केही भनिन। मैले भन्नु पर्थ्यो, तर आँटै गर्न सकिन। मेरो त्यहि कमजोरीको फल म भोग्दैछु, अब जीन्दगि भरि पनि भोग्नु पर्छ र म भोगौँला पनि। तपाईँ यस्तो राम्रो बाटोमा हिड्न लाग्नु भको छ, म तपाईँको यो बाटोमा अबरोध हुन चाहन्न। मलाई अरु केही चाहिँदैन, केबल तपाईँको उत्तरोत्तर प्रगतिको खबर सुन्नमात्र पाए पुग्छ। केबल तपाईँको सफलतलाको खबर ....."।
उनि भक्भकाईन्। बोल्नै सकिनन्। उनलाई उभिन पनि गाह्रो भयो। मेरो छातिमा टाउको राखिन् र घुँक्क घुँक्क रोईरहिन्। मैले उनको टाउकोमा हात राखेर सम्झाउने कोशिष गरेँ। उनका आखाँबाट झरेका अबिरल आँसु पुछ्ने असफल प्रयास गरेँ। जिंग्रिङग परेको कपाल फूकेर अनुहारमा परेका कपालका त्यान्द्राहरु पन्छाईदिएँ। केहिबेर पछि टाउको उठाईन् र भनिन् “ओमदाइ, तपाईँको प्लेन छुटिसक्यो, जानुस् अब। यो मेरो तर्फबाट सानो उपहार, प्लेनमा बसेपछि मात्र हेर्नुस् है"। उनले एउटा सानो प्याक दिईन्। मनले नमान्दानमान्दै पनि उनलाई बाईबाई गरेर क्यारियर घुमाएँ र एअरपोर्टभित्र छिर्ने ढोकामा पुगेँ। फेरि एकपटक मञ्जुलाई हेर्न मन लाग्यो र पछाडि फर्केर बाईबाई गरेँ, भारी मन लिएर। उनी त्यहि खम्बाको छेउमा उभिएर मलाई बाईबाई गर्दै हेरिरहेकी थिईन्।
साझाल्याण्ड,
११ मंसिर २०६३