Posted by: Ok November 28, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाफ माफ गरे है! आत्मकथा-ओके भाग २ खण्ड ४९ आमा र भाइबैनीलाई पनि गाउँबाट बोलाएँ बिहेमा। बिहेपछि घरसल्लाह ग-यौँ, अब के गर्ने भनेर। मेनुकाले काठमाण्डौ छोड्न मानिनन्। उनका बाबाममीले पनि छोरी काठमाण्डौमै राख्न चाहनुभयो। गाउँको आफ्नो जग्गा कमाउन दिएर सबैजना काठमाण्डौमै बस्ने र भाइबैनी पनि काठमाण्डौमै क्याम्पस पढ्ने सल्लाह भयो। अलिक फराकिला ३ बटा कोठा भाडामा लिएर कोठा स-यौँ। आमा एकपटक फेरि गाउँ जानु भो, घरजग्गा कमाउन दिन। चैत्र महिनामा आमा काठमाण्डौ फर्कनु भयो। मेनुकालाई उनको बुबाले हिमालयन बैंकमा जागिर लगाई दिनुभयो। पाँच जनाको परिवार राम्रै किसिमले बस्न थाल्यौँ काठमान्डौमा। म र मेनुका अफिस जान्थ्यौँ। भाइबैनी क्याम्पस पढ्न जान्थे। आमा खाना पकाउनु हुन्थ्यो। मेनुका र बहिनीले मिलीमिली बिहान बेलुकाका काम गर्थे, आमालाई सघाउँथे। २०५७ साल बैशाख १० गते शनिबार। बिहानै मस्त निद्रामै मेनुकाले सिरक उठाउँदै बोलाईन् “सुन्नुस् न, तपाईँको फोन आ’को छ”। मैले फोन उठाएँ। पुल्चोक क्याम्पसमा सँगै पढ्दाको साथी राजेन्द्रको रहेछ। “अमेरीकाबाट चिठी आको छ, आईज लिन” उसले भन्यो। “कस्ले पठाउँछ मलाई चिठी अमेरीकाबाट” मैले पत्याईन। “खै युनिभर्सिटीबाट जस्तो छ। म निस्किने बेला भो, छिट्टै आईज” उसले भन्यो। “ए, ल म २० मिनेटभित्रै आईपुग्छु है” मैले फोन राखेँ। आफ्नो बस्ने स्थायी ठेगाना नभएर मैले राजेन्द्रकै ठेगाना पठाएको थिएँ, युनिभर्सिटीहरुमा एप्लाई गर्दा। म राजेन्द्रको घर पुग्दा मोटरसाईकल लिएर बाहिर निस्कनै लागेको रहेछ। गेटमा नै चिठी दिएर उ हिड्यो। उसको घरभित्र पनि नपसी म पनि चिठी लिएर फर्किएँ। घर पुग्ने बितिक्कै खोलेर हेरेँ। क्यालिफोर्नियाको एउटा युनिभर्सिटीवाट माष्टर कोर्षको लागि एसिस्टेन्टसिप सहित भर्नाको अफर रहेछ। भावी योजनाहरु बनाउँदा मैले यो अप्सनलाई कहिल्यै पनि ठाँउ दिएको थिईन, अर्थात यस्तो अवसर पनि मिल्छ भन्नेमा म आफैँलाई विश्वास थिएन। एक्कासि चिठी को अफर देख्दा पत्याउन पनि गा-हो भयो। एककिसिमले सोझिँदै गएको मेरो पारिवारिक वातावारणमा माष्टर्सकोर्षको अफरले निकै नै डिष्टर्व ग-यो। शुरुशुरुमा त जाने कि नजाने भन्ने दोधारमा पनि परेँ। “नजाँउ भने त्यत्रो ठूलो कुरा पाएको छु, सबैजना अमेरीका जान पाउँदा आफूलाई भाग्यमानी ठान्छन्, जाँउ भने बल्लबल्ल घरको वातावरण बन्न लागेको छ। म हिड्दा फेरि भताभुंग हुन्छ” मनमा निकै तर्कनाहरु खेले। सबैजना बसेर घरसल्लाह ग-यौँ। मेनुकाले “तपाईँ चाहिँ जसरी पनि जानुस्, बरु म यहिँ बसौँला” भनेर जिद्दी गरिन्। मेनुकाका बाबाममीले पनि “मौका आएको बेलामा छोड्नु हुन्न। यस्तो मौका आएको पनि कसैले छोड्छ? अमेरीका भनेको त अमेरीका नै हो, सपनाको देश” भनेर जाने कुरामा कर गर्नुभयो। आमा र भाइबैनीले चाहिँ केही पनि भनेनन्, सायद मेनुका र म दुबैजना हिडेपछिको अवस्थाको पुर्वानुमानले होला। आमाले “जाने भए, यो एउटी बैनीको चाहिँ बिहे गरेर जा। फेरि कहिले आउनेहोस्, यो त बुढी भैसक्छे” भनेर भन्नु भयो। असारमा बैनीको विवाह पनि उहिँ गाउँकै एकजना केटासँग छिटोछरितो रुपमा गरिदिँए। विवाह सकिने बितिक्कै ज्वाईँको बिराटनगर सरुवा भयो र ऊनीहरु दुबैजना उतै बस्ने गरी गए। आमा र भाइ एक्लै पनि काठमाण्डौमा बस्न गा-हो हुने, आमा पनि गाउँमा गएर काम गर्न बुढ्यौलले नसक्ने, भाइ पनि क्याम्पस पढ्नै पर्ने भएकोले समस्याको समाधान स्वरुप शुरुमा म मात्र अमेरीका जाने र पछि अलिअलि पैसा बचाउन सक्ने अवस्था मिलेछ भने मेनुकालाई चाहिँ बोलाएर अमेरिकाबाट आमा र भाइलाई केही पैसा पठाउने भन्ने सल्लाह भयो। मेनुकाले पनि यो कुरामा सहमति दिईन्। साझाल्याण्ड, ११ मंसिर २०६३
Read Full Discussion Thread for this article