Posted by: Ok November 28, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाफ माफ गरे है! आत्मकथा-ओके भाग २ खण्ड ४८ २०५६ साल पुष १५ गते विहिवार फिल्डको काम सकेर टीमका सबै साथीहरुसँगै म पनि थानकोटबाट काठमाण्डौ उपत्यका छिर्दा घाम ओरालो लाग्न थालिसकेका थिए। घरबेटी साहुजीका छोराछोरीहरु छतमा आगो बालेर तापीरहेका रहेछन्। कोठामा झोला राखेर म पनि छतमा उक्लिएँ। केटाकेटीहरुसँग जिस्कँदै आगो तापेर बसेँ। एकछिन पछि घरबेटी साहुनी पनि केटाकेटीलाई गाली गर्दै छतमा आउनु भयो र भन्नुभो “ए ओम पो आएछ। एकजना केटी टिमी हिडेको हप्टाडिनदेखि डिनैपिच्छे आको आयै छ। टिमीलाई नभेटी नहुने काम छ रे। टिम्रो कोठाको फोनको घन्टी पनि बज्याबज्जै जस्टो मान्याछु मैले। कमसेकम बाहिर जाँडा ट भनेर जानु पर्छ नि। मलाई पनि ठा ठिएन टिमी कहिले आउने भनेर। बेकारमा डुखपायो ल ट्यो केटीले। टुरुन्ट ट्यो केटीलाई फोन गरेर ल्याउ ट?” “को केटी ममी” मैले निकै अतालिएर सोधेँ। “खै के ठा मलाई, मैले ट पहिले कहिले नि डेखेको ठिएन ट्यसलाई” झट्ट मेनुकालाई सम्झिएँ। “किन बिहे नहुने भनेर आकी त हैनन् यहाँ? मेरो घरको स्थिति थाहा पाएर बिहे नगर्ने भन्न त आकि हैनन्? कि डिसिजन पो चेन्ज भयो कि?” मनमनै सोचेँ। फेरि आफैंले आफ्नै कुरा काटेँ “मेनुकालाई त म बाहिर जाने कुरा त थाहा थियो त”। “मञ्जु पो हुन् कि क्या हो? किन यस्तो हतारमा भेट्न खोजिछन् त” मनमनै गुने। “कस्ती थिई केटी ममी” मैले केटीको हुलिया जान्न चाहेँ। “टिम्रै गाउँकी रे। एउटा चिठी पनि ड्या छ, आउने बिटिक्कै डिनु भनेर” साहुनीका यी कुरापछि चाहिँ मञ्जु नै हुन् भन्ने कुरा विश्वास लाग्यो। साहुनीबाट चिठी लिएँ। चिठीमा “तपाईँ आउने बितिक्कै जसरी पनि मलाई खबर गर्नु है, मेरो अति जरुरी कुरा गर्नुछ-मञ्जु” भनेर मात्र लेखेको रहेछ। कोठामा पसेर फोन नं हेरेँ, मञ्जुको मामाको। फोन खोज्दा खोज्दै फोनको घन्टी बज्यो। फोन उठाएँ। “माईजु माथि कौशिमा हुनुहुन्छ। लामो कुरा गर्न पाउँदिन म। मेरो अति जरुरि कुरा गर्नु छ तपाईँसँग। म भरे बेलुका तपाईँको कोठामा आँउछु है” अतालिएर रुँदै मञ्जुले यति कुरा मात्र भनिन् र फोन राखिदिईन्। मैले बोल्नै पाईन। माईजु त्यहिँ छन् भने पछि फोन गर्नु पनि ब्यर्थ थियो। अब भने मलाई अति डर लाग्यो। “मञ्जुले मेरो र मेनुकाको विवाहको कुरा थाहा पाएर भेट्न खोजेकी हुन्। उनले मलाई मन पराउने रहिछिन्” भनेर कस्तो सहिनसक्नु पिडा भयो। मञ्जु र मेनुकाका अनुहारहरु एकआपसमा तँछाडमछाड गर्दै देखिन थाले, मेरा दृष्यमा। म निकै अतालिएँ, कोठैमा कहिले यता कहिले उता गरेर आफैँलाई धिक्कारी रहेँ। छ बजे कोठाको ढोका ढकढक ग-यो। हतार हतार खोलेँ। ठूलो ओढ्नेले पुरै जीउ ढाकेर मञ्जु देखा परिन्। “मञ्जु, भित्रै आऊ” आँखाको ईसाराले उनलाई बोलाएँ। उनले ढोका सरक्क लगाईन् र कुद्दै आएर खाटमा घोप्टो परेर रुन लागिन्, केही पनि बोलिनन्। एकोहोरो रोईरहिन्। “मञ्जु, कन्ट्रोल गर प्लिज” मैले उनलाई सम्झाउने कोशिष गरेँ। उनलाई झन् गा-हो भयो। उनी रोईरहिन्। “मञ्जु, प्लिज” मैले अनुरोध गरीरहेँ। उनको रुवाई रोकिएन। “मञ्जु, यस्तो हालत नबनाउन” म छेवैमा गएर बसेँ र उनको हात समाएर उठाएँ। उनी मेरो काखमा घोप्टो परेर रुन लागिन्। आँसु पुछ्ने असफल प्रयास पनि गरेँ। ऊनी धेरैबेर रोईरहिन्, एक बाक्य पनि नबोली। निकैबेर पछि टाउको उठाईन् र भनिन् “आज मलाई तपाईँको काखमा धीत मरुन्जेल रुने मन छ। मलाई रुन दिनुस् ल”। मेरो कुनै जबाफ थिएन। “मलाई तपाईँको अँगालोमा लिनुस् न प्लिज” उनले आफूलाई कन्ट्रोल गर्नै सकिनन् “प्लिज, तपाईँको अँगालोमा लिनुस् न मलाई”। मैले उनलाई अँगालोमा लिएँ। मेरो छातिमा टाउको राखेपछि उनको रुवाई केही मथ्थर भयो। धेरैबेर पछि उनले मेरो मुखमा हेरेर भनिन् “नयाँ जीवन शुरु गर्दै हुनुहुन्छ, तपाईँ त खुशी हुनुहुन्छ नि है?” म केही पनि बोलिन। “मलाई एउटा कुरा भन्नुस् न, पहिले प्रस्ताव कस्ले राख्यो? तपाईँले कि मेनुकाले?” उनको यो प्रश्नको उत्तर पनि मसँग थिएन। “तपाईँले विवाहको डिसिजन गरेपछि मलाई किन लुकाउनु भको? किन खबरै नगरी बाहिर जानु भको? मैले विवाह भाँड्छु भनेर हो?” यसको उत्तर पनि मसँग थिएन। “मञ्जु, मलाई केही भन्नै आएन। प्लिज मलाई मेरो सबै कुरा भन्ने मौका देउ न ल” मैले यसो भनेपछि भने उनी अड्किईन् र अचम्म मानेको जसरी सोधिन् “किन, के कुरा?” “मञ्जु, मैले ठूलो गल्ती गरेँ। मैले डिसिजन गर्नु अगाडि तिमीसँग सोध्नु पर्थ्यो, तर मैले आँटै गर्न सकिन। भन्न धेरै कोसिश गरेँ, तर सक्तै सकिन” मैले यसो भनेपछि उनले रुन छाडिन् र भनिन् “मैले पनि कति कोशिष गरेँ, तर भन्नै सकिन” “मलाई अलिकतिमात्र सिग्नल दिएकी भए…” “तपाईँले पनि भन्नु भएको भए…हामी दुबै उस्तै है!” मञ्जु अलिकति रुन्चे हाँसो हाँसिन् “अर्को जन्ममा चाहिँ अवश्यै भन्ने है” केहिबेर पछि मञ्जुले मेरो मुखमा हेर्दै भनिन् “तपाईँले बिहेको कुरा छिन्दा मलाई एकपटक पनि सम्झनु भएन? बिहेको कुरा छिनिसकेपछि पनि किन मलाई नभनि बाहिर जानु भको?” उनले त्यहि कुरा दोहोर्याईन् जसको उत्तर मसँग थिएन। “मञ्जु, म मेनुकासँग बिहे गर्दिन” मेरो मुखबाट एक्कासि निस्कियो। “किन र तपाईँले आफैँले रोजेकी केटी हैन र उ” “मैले त तिमीलाई मात्र रोजेको छु” “अनि एउटालाई मन पराउने, अर्कोसँग कुरा छिन्ने पनि मिल्ने कुरा हो र?” “मैले मन पराएर कुरा छिनेको हैन” “अनि तपाईँको बिहेको कुरा पनि अर्कैले निर्णय गर्न सक्छ त?” “म परिवन्दमा थिएँ” “कस्तो परिवन्द हो त्यस्तो?” “मेनुकाको घरमा म ट्र्यापमा परेँ। म मेनुकाको घरमा आउजाउ गर्नु नै गल्ती भयो”। “किन र तपाईँलाई बिहा गर्न मन थिएन?” “खै म के भनौँ मञ्जु, उहाँहरुले प्रस्ताव राख्नु भयो, मैले हार्न सकिन। फेरि तिमीसँग कुरा राख्न पनि सकिन। म एकपटक मेनुकासँग कुरा गर्छु सबै। उनले कुरा बुझिन् भने बिहे क्यान्सिल गर्छु ल?” “कुरा धेरै अगाडि बढीसक्यो। सबैजनाले थाहा पाईसके। मेनुकाको पनि त जिन्दगीको सवाल छ नि। जे हुनुभैगयो, बिहा गर्नुस् अब” उनी फेरि सिरियस भईन्। “मञ्जु…” “हामी दुबैको कमजोरी छ यो सब हुनुमा” उनले आफूलाई पनि दोष देखाईन्। “तर तिम्रो भन्दा त मेरो दोष बढी छ नि। मैले कुरा छिन्नु हुन्नथ्यो” मैले भनेँ। “मैले पनि त यतिका बर्षहरुमा तपाईँसँग कुरा राख्न सक्नु पर्थ्यो नि” उनले भनिन्। धेरैकुरा गरिसकेपछि हामी एकआपसमा क्लियर हुँदै गयौँ। हामीले एकअर्कामा कुरा राख्न नसक्नु नै हाम्रो सबभन्दा ठूलो कमजोरी थियो। मध्य-पुसको त्यो रात हाम्रा मनका कुराहरु साटासाट गर्दैमा वित्यो। राम्रोसँग उज्यालो पनि नहुँदै हामीले छुट्टिनुथियो, सदासदाका लागि। सायद त्यो अन्तिम भेटघाट हुनपनि सक्छ। “मञ्जु, मेरो विवाहमा आउ ल, तिम्रो अनुपस्थितिमा मेरो विवाह कसरी हुन्छ?” मैले उनलाई मेरो विवाहमा बोलाएँ। उनले मानिनन्। मैले अति नै कर गरेपछि हार्न सकिनन् र हुन्छ भनिन्। “थ्यांक्यू मञ्जु, यु आर रियल्ली ग्रेट” मैले उनलाई अँगालोमा लिएँ। उनी रुन लागिन्। धेरैबेर रोईरहिन्। म पनि उनीसँगै रोएँ। “मञ्जु, उज्यालो हुनलाग्यो, मार्नु हुन्छ मामामाईजुले, अब जाउ ल?” मैले समाजको डर मानेँ। “छुट्टीने कुरा नगर्नुस् न” उनलाई छुट्टिन गाह्रो भयो। मलाई पनि उस्तै भको थियो। एकछिन पछि उनले नै भनिन् “म जान्छु अब। तपाईँको सुखमय वैवाहिक जीवनको लागि म प्रार्थना गर्छु” उनले डाको छोडिन्। मैले उनको रुवाईको आवाज सुन्न सकिन र हातले उनको मुख बन्द गरेँ। हामी अँगालोवाट छुट्टियौँ। उनी सम्मालिईन् र ठूलो ओढ्नेले पूरै मुख छोपेर रातभरिको रुवाई र अनिँदोले फुलेको अनुहारलाई पुरै लुकाईन्। हामी दुबैजना कोठाबाट बाहिर निस्कियौँ। उज्यालो त भैसकेको थियो, तरपनि बिहानीको हुस्सेले काठमाण्डौ राति नै जस्तो थियो। नयाँ बानेश्वर चोकसम्म म उनलाई पु-याउन आएँ। साझाल्याण्ड, ११ मंसिर २०६३
Read Full Discussion Thread for this article