Posted by: Ok November 28, 2006
Login in to Rate this Post:
0
?
मञ्जु, मलाफ माफ गरे है!
आत्मकथा-ओके
भाग २
खण्ड ४७
हामी तीनैजना मेनुकाको कोठामा गयौँ। मेनुकाको बाबाले कोठाको ढोका ढक्ढक्याउँदै भन्नुभो “ए मेनुका?”
उनले छिट्टै ढोका खोलिन्, मानौ उनी त्यहि कुरालाई नै पर्खेर बसिरहेकी थिईन् ढोका नजिकै। म र मेनुकालाई कोठामा छोडेर उहाँहरु फर्कनुभयो। बाबाममी हिड्ने वितिक्कै मेनुका गएर ढोकाको चुकुल लगाईन् र खाटमा गएर बसिन्। म सोफामा बसिरहेको थिएँ। उनी सिरियस थिईन्। अघि म उनको घरमा आँउदाको चन्चलेपन उनीवाट हराएर बेपत्ता भैसकेको थियो। म नजिकैको कान्तिपुर हातमा लिएर हेर्नथालेँ। उनी पनि किताब हेरिरहेकी थिईन। दुबैजना निकैबेर सम्म बोलेनौँ।
मेनुकाले कुरा शुरु गर्लिन् जस्तो नलागेकोले मैले नै शुरु गरेँ “माष्टर डिग्री नपढ्ने हो, मेनुका अब”
“पढ्ने नि। अर्को बर्षबाट भर्ना गर्ने। मिलेसम्म जागिर पनि खाँदै पढ्दै गर्ने। बाबाले जागिरको लागि साथीहरुसँग कुरा गर्दिन्छु भन्नु भाको छ” उनले सबैकुरा सकिन् एकैपटकमा। अनि फेरि हामी चुपचाप भयौँ। त्यसपछि ट्युशन पढ्दाका कुरा भए। सँगै ट्युशन पढेका उनका साथीहरु को काहाँ छन् भन्ने कुरा भए। तर हाम्रा गफहरु गाँठीकुरामा पुग्दै पुगेनन्, निकै बेरसम्म।
उनबाट कुरा शुरु होला भन्ने लागेन मलाई। मैले नै सोधेँ “अनि मेनुका, बाबाममी खै के-के कुरा गर्नु हुन्छ त, कुरा के हो?”
“के कुरा गर्नुभो र?” उनले थाहा नपाए जस्तो गरी स्वाङ पारिन्।
“बिहे गर्ने रे हो?” मैले भनेँ।
“खै, बाबाममी अब बिहे गर्नुपर्छ भन्नु हुन्छ” उनले बाबाममीतिर पु-याईन कुरा।
“बाबाममीले मात्र कि तिमीले पनि” मैले केरेँ।
“मैले नि त बाबाममीसँग कुरा राखेकी। हाम्रो घरसल्लाह हो धेरै महिना देखिको। छ-सात महिना अघिदेखि नै तपाईँको र मेरो बिहेको कुरा हुन्थ्यो हाम्रो घरमा” उनले उनको घरमा महिनौँदेखि पाकिरहेको खिचडीलाई छताछुल्ल पारिन्।
“त्यसोभए, तिमीलाई म मन पर्छ?” मैले उनको राय जान्न खोजेँ।
“पर्छ नि!” उनी मुसुक्क मुस्काइन् र लाजले टाउको तल झुकाईन्।
“किन मन परेको?”
“तपाईँको ट्यालेन्सी”
“धन-दौलत?”
“म त्यस्ता कुराहरुलाई घृणा गर्छु”
“घृणा गरेपनि आवश्यक त पर्छ नि हैन र?”
“चाहिने जति भए हुन्छ”
“तिमीलाई म मन पर्नाको मुख्य कारण?”
“तपाईँ अन्य केटाहरु भन्दा बेग्लै हुनुहुन्छ, युनिक हुनुहुन्छ”
“कसरी थाहा भयो तिमीलाई”
“यत्रो छ-सात बर्षसम्म पनि मैले तपाईँलाई बुझ्न सकिन त?”
“यत्रो बर्ष वितिसक्ता पनि मलाई किन नभनेको नि?”
“तपाईँ पढ्दै हुनुहुन्थ्यो, म पनि पढ्दै थिएँ, किन हतारिनु थियो र?”
“अनि अहिले चाहिँ?”
“अब पनि नभन्दा त तपाईँ मबाट फुस्कन सक्नु हुन्थ्यो”
“किन फुस्कनु र? मलाई त अहिले बिहे गर्ने मनै छैन” मैले भनेँ।
उनले अँध्यारो अनुहार लगाईन्, केही पनि बोलिनन्।
“अनि तिमी आफैँले किन कुरा नराखेकि त?” मैले सोधेँ।
“मैले भन्दा बाबाममीले कुरा राख्नु भो भने तपाईँले मान्नु हुन्छ भनेर”
“मैले मानिन भनेँ?”
“मेरो भाग्यमा लेखेको रैनछ”
“मैले माने भनेँ?”
“मेरो जीन्दगिको सबभन्दा खुशीको क्षण हुनेछ”
“हेर मेनुका। कुरा तिमीले देखेजस्तो मात्र सजिलो छैन। मेरो बारेमा थाहा छ?”
“जान्न खोज्दैछु। तपाईँले नै भन्नु भयो भने मलाई बुझ्न झन् सजिलो हुन्छ”
“मेरो घर काहाँ हो, थाहा छ?”
“ओखल्ढुंगा, पुर्वी पहाड”
“कति दिन लाग्छ पुग्न, थाहा छ?”
“तीनचार दिन लाग्छ रे हिडेर जान। बाबाले भन्नुभको”
“मेरो घरमा को-को छन् थाहा छ?”
“थाहा छैन, भन्नुस् न को-को हुनुहुन्छ?”
“बाबा हुनुहुन्न। सानोछँदै वित्नुभयो”
“त्यो त थाहा छ। अरु को-को हुनुहुन्छ?”
“आमा, एकजना भाइ र एकजना बहिनी। सबैजना मेरै आसमा छन्”
“कति सानो परिवार रहेछ, हाम्रै जस्तो” उनले परिवार पनि तुलना गरिन्।
“तिमी यस्तो घरमा बसेकी मान्छे, बिहे गरेपछि भाडाको कोठामा बस्नु पर्छ”
“त्यस्तो कुरामा मलाई मतलव छैन। तपाईँ जहाँ जानु हुन्छ त्यहाँ जान्छु, तपाईँ जहाँ बस्नु हुन्छ त्यहि बस्छु, तपाईँ जे खानु हुन्छ त्यहि खान्छु” उनले परिपक्कता देखाईन्।
“तिमीलाई कुनै कुराको पनि प्रोवोलम छैन हैन त त्यसो भए” मैले अझै खेरेँ।
“केहि पनि छैन। मैले तपाईँलाई राम्रैसँग चिनेकिछु जस्तो लाग्छ।”
“मलाई, चाहिँ केही नसोध्ने?”
“सोध्ने नि, मेरो पालो आउँदैछ”
“ल सोध अब” मैले अनुमति दिएँ।
“म तपाईँलाई कस्तो लाग्छ?”
“मलाई कस्तो पनि लाग्दैन”
“मतलव? तपाईँलाई म मन पर्दैन हो?”
“मन पर्ने नपर्ने कुरा हैन। मैले तिमीलाई त्यस रुपमा कहिल्यै सोचिन”
“किन, म तपाईँसँग बिहे गर्न योग्य छैन?”
“हैन, मैले त्यसो भनेको छैन”
“तपाईँ आफ्नो जीवनसाथी कस्तो होस् भन्ने चाहनुहुन्छ?”
“मैले त्यतातिर ध्यानै दिन पाको छैन”
“केहि त भन्नुस्?”
“मसँग बिहे गर्नेले मेरो आमालाई आदर गर्न सक्नु पर्छ। मेरा भाइबैनीलाई आफ्नै भाइबैनीको रुपमा लिनुपर्छ”
“मलाई सब मञ्जुर छ। मैले तपाईँको कुरालाई जहिले पनि मनमा राख्नेछु”
धेरै बेरसम्म गफ भए, सबै कुराहरु खुलस्त रुपमा। मेनुकाले पनि सबैकुरा सोधिन्। सबै कुराहरु पोजिटिभ रुपमै अगि बढे। विस्तारै बिस्तारै बिहे गर्ने नै गरी कुरा भए। करिब १ घन्टा जति बितेपछि म सोफाबाट उठ्दै भने “ल मेनुका भन, के भन्दियौँ त बाबाममीलाई?”
“प्लिज हुन्छ भन्नुस् न ल?” उनले अनुरोध गरिन्।
“तिमी नै भन, जे भन्न मन लाग्छ त्यहि। तिमीले भनेको कुरा म मान्न तयार छु। हुन्छ भनेपनि हुन्छ, हुन्न भने पनि हुन्छ”
“थ्यांक्यु। म धेरै खुशी छु आज” उनी धेरै खुशी भईन्।
“एउटा कुरा सोधौँ?” मैले उठ्दा उठ्दै उनीतिर फर्केर सोधेँ।
“के कुरा सोध्नुस् न?” उनी पनि खाटबाट उठीन्।
“तिम्रो कसैसँग लभसब चलेको त छैन? छ भने भन है। बाबाममीलाई भन्न नसकेको भए म भन्दिन्छु नि” मैले अलिकति हाँसेर सोधेँ।
“म त्यस्तो लभ गर्दै हिड्ने केटी हैन के! बरु तपाईँको भए भन्नुस्” उनले मलाई सोधिन्।
“हाहाहा…” म लामो हाँसो हाँसेर कोठाबाट बाहिरिएँ। मेरो बनावटी हाँसो सकिँदा नसकिँदै मञ्जुको अनुहार नाच्न थाल्यो दिमागमा। मनमनै सोचेँ “के गर्नु, आफूले मात्र मन पराएर नहुने रहेछ”।
भोलिपल्ट बिहान बिहेको कुरा छिनियो। आँउदो माघ ३ गते सोमवार नै बिहे गर्ने निधो भयो। मैले केवल उनीहरुका कुरामा सहमति जनाएँ। मैले केही पनि खर्च गर्नु नपर्ने रे। सबै उहाँहरुले हामी गर्छौँ भन्नुभयो। कुरा छिनेको भोलिपल्टै म अफिसको कामले बाहिर गएँ, पन्ध्र दिनको लागि। मेनुका अति खुशी भईन्। एकपटक मञ्जुलाई फोन गर्न मन त लागेको थियो त्यसबेला, तर मेनुकाका घरबाट गर्न आँटै आएन। कुरा नै छिनिसकेपछि फोन गर्न पनि डर लाग्यो। म अति नै डराएँ। मनमा कस्तो कस्तो लागिरह्यो। फिल्डमा काम गरिरहँदा पनि सधैँ मञ्जु र मेनुकाका अनुहारहरु आलोपालो मेरो दिमागमा आईरहे। घनश्यामसरको घर र मेनुकाका घरका दृष्यहरु पनि घुमिरहे।
साझाल्याण्ड,
११ मंसिर २०६३