Posted by: Ok November 28, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाफ माफ गरे है! आत्मकथा-ओके भाग २ खण्ड ४६ २०५६ साल मंसिर २८ गते मंगलवार। मञ्जुलाई मेरो प्रेम पस्ताव राख्ने योजना बनाएको दिन। आँट गरेर मनको कुरा खोल्ने मौका। जीवनमा कुनै केटीमान्छेसँग पहिलो पटक प्रेम प्रस्ताव राख्ने योजना। अलिअलि पलाएका दारीजुँगा पनि काटेर चिटिक्क परेँ। साहुनीको आईरन मागेर कपडामा आईरन पनि गरेँ। घडिको सुई पनि कस्तो ढिलोढिलो हिँडेजस्तो लाग्थ्यो। बिहान १० बज्नु अगावै तोकिएको ठाँउमा पुगेँ, त्यस दिन। तर मञ्जु त्यहाँ आईनन्। उनी जहिले पनि म भन्दा अगाडि नै आँउथिन्। मञ्जुलाई फोन गर्न पनि मन लागेन, कताकता रीस पनि उठ्यो। मनमा नानाथरी कुराहरु खेल्न थाले। “पक्का पनि मञ्जुले गेस गरिन् र नआएकी हुन्। उनलाई मेरो कुरा अस्विकार गर्ने आँट भएर नआएकी हुन भन्ने” सोचेँ। तीन घन्टाको कुराईपछि आफ्नै कोठामा फर्किएर बसेँ। त्यसदिन कोठामा पनि बस्न मन लागेन, बाहिरतिर टोहोलाएर यताउता घुमिरहेँ। वेलुका चारबजेतिर म कोठामा छिर्ने बितिक्कै फोनको घन्टी बज्यो। “पक्का पनि यो मञ्जुको फोन हो। वहाना बनाएर फोन गरेको” भन्ने सोची तीनचार घन्टी जाँदासम्म फोन उठाईँन। “अब मञ्जुसँग वेस्सरी रिसाउछु” भन्ने सोची फोन उठाँए र रिसाएको बोलीमा भनेँ “हेलो”। झट्ट उत्तर आएन। केहिबेर पछि केटीमान्छेको आवाजले भन्यो “ओमसर वोल्नु भा हो?” “हो, को मेनुका?” मलाई मेनुकाको जस्तो लाग्यो स्वर। “हजुर म मेनुका। मैले डिष्टर्व त गरिन?” “हैन, त्यस्तो केही हैन” “सरको आज वेलुका फुर्सद छ?” “फूर्सदै छु, किन र?” “बाबाले भरे वेलुकी हाम्रै घरमा बस्नेगरी हजुरलाई हाम्रो घरमा वोलाउनु भन्नु भर मैले फोन गरेकी” मेनुकाले मलाई उनको घरमा वोलाईन् “खाना यतै खाने गरी आउनुस् है”। वेलुका म मेनुकाको घरमा गएँ। त्यहाँ पुगेपछि भने मलाई सधैँको जस्तो नभएर अलिक अर्कै जस्तो लाग्यो। मेनुकाको व्यवहार पनि अलिक भिन्नै लाग्थ्यो। उनी निकै नै फूर्तिली थिईन्। बेलुकाको खानपिन भयो, निकै किसिमका परिकारका साथ। सबैजना मिलेर टिभी हे-यौँ। रातिको १० पनि बज्नै लाग्यो। मेनुका पनि आफ्नै कोठामा गईन्। मेनुकाको बाबा, ममी र म चाहिँ बैठक कोठामै थियौँ। “अनि ओम बाबू, के गर्ने बिचार छ त अब? अरु पनि पढ्ने कि स्थाई जागिर खानतिर लाग्ने?” मेनुकाको बाबाले सधैँ झैँ मेरो बारेमा पनि सोध्नुभयो। “पढ्ने कुनै योजना छैन। अब स्थायी जागिरमा नाम निकाल्नेगरी लोकसेवाको तयारी गर्ने विचार छ” “कि बिहेसिहे गरेर घरजम गर्ने विचार छ?” उहाँले हाँस्तै भन्नुभयो। “अहिल्यै के बिहे गर्नु र? केही त ब्यवस्था भा छैन। भर्खर त अस्थाई जागिर शुरु गरेको छु। स्थायी हुन अरु कति समय लाग्ने हो?” मैले आफ्नो कुरा भनेँ। “बिहे गरेपछि पनि त ब्यबस्था गर्न सकि हालिन्छ नि” उहाँले फेरि दोहो-याउनु भो। “हाम्री मेनुकाले पनि बिए सकिन् यसपाली। अब राम्रो केटा पाए बिहे गरेर पठाईदिने भनेको। खै भने जस्तो केटा पनि मिल्दैन” मेनुकाको ममीले आफ्नै छोरीको कुरा गर्नुभो। “पाईहालिन्छ नि। पढेको मान्छेलाई केटा त जति पनि पाईन्छ” म पनि कति न बिहेको कुरामा पोख्त जस्तो गरी कुरा गरेँ। मेरो उदेश्य मेनुकाको ममीलाई सान्त्वना दिनु थियो। “खै बाबू, छ‍-सात महिना भैसक्यो मेनुकाको बाबाले कोशिष गरेको, अहिलेसम्म चित्तबुझ्दो मिलेकै छैन” ममीले नैराश्यता देखाउनुभो। “बाबूका साथीहरु कोही छैनन्? यसो ईञ्जिनियर केटा खोजेर दिन पाए पछि दु:ख पाउदिनथी कि भनेर नि वाबु” ममीले फेरि कुरा मैतिर फर्काउनु भो। “अब के बाहिर खोज्दै हिड्नु, बाबूको के विचार छ? मेनुकालाई पनि मन पर्ने रहेछ। बाबूलाई पनि मन छ भने…” मेनुकाका बाबाका उन्नाईसवटा शब्दले मेरो मुटुमा भूँईचालो लगाईदियो। म त अक्क न बक्क परेँ। केही बोल्नै सकिन। के भन्ने न के भन्ने भन्ने लाग्यो। सपनामा पनि नचिताएको कुरा एक्कासि आँउदा म त पुरै सल्याकसुलुक भएँ। मेनुकाका बाबा र ममीले कुरा गरीरहनु भयो धेरैबेर, मैले सुनिमात्र रहेँ। सोधेको प्रश्नको उत्तर नकारात्मक नहुनेगरी दिने बाहेक केही प्रतिकृया जनाईन। मेनुकाले मलाई मन पराए पनि उनका बाबाममीले एउटी छोरीलाई यति धेरै गरीवलाई दिन मान्छन् भन्ने कुरा त मैले कहिल्यै पनि सोचेको थिईन। सायद म धेरै नै चुपलागेको देखेर होला, मेनुकाका बाबाले भन्नुभो “वाबु, यो त हाम्रो कुरा हो। बिहे जस्तो कुरामा एकतर्फी कुराले हुन्न। बाबूलाई पनि चित्त बुझ्नु पर्छ। मेनुकाको पनि चित्त वुझ्नु पर्छ। एकपटक मेनुकासँग कुरा गर्दा हुन्छ नि”। मेनुकाका बाबा निकै नै सिरियस हुनुभयो। “म मेनुकालाई बोलाईदिँउ” मेनुकाको ममीले छिट्टै बोल्नुभो। “मेनुकाको कोठैमा गएर कुरा गर्दा हुन्छ” मेनुकाका बाबाले कुरा गराउने नै विचार गर्नुभो। “हुन्छ नि” मैले उहाँहरुका कुनैपनि कुरा काट्न उचित मानिन। उहाँहरुलाई नराम्रो लाग्ने कुनैपनि कुरा गर्नै सकिन। साझाल्याण्ड, ११ मंसिर २०६३
Read Full Discussion Thread for this article