Posted by: Ok November 28, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाफ माफ गरे है! आत्मकथा-ओके भाग २ खण्ड ४३ २०५१ सालको दशैँ पछिबाट मेरो ओभरसियर अन्तिम सेमेस्टर (छैटौँ सेमेस्टर) को पढाई पनि शुरु भयो। मञ्जु र उनका साथीहरुको आईए दोस्रो बर्षको परीक्षा सकिएकोले त्यतिखेर ट्युशन पनि थिएन। परिक्षा पछि मञ्जु चाहिँ घर गईन्। त्यहि पहिला अलिअलि गरेर सेभ गरेको पैसाले नै काम चलाउँदै थिएँ। त्यो सेमेस्टर पनि सजिलै बित्यो। भाइबैनीले पनि त्यसैबर्ष एसएलसी पनि पास गरे। बल्लबल्ल पास भएछन् दुवैजना। अब आफूचाहिँ ओभरसियरको जागिर खाएर भाइवैनीलाई क्याम्पस पढाउने योजना बनाएँ। निकै कर गरेपछि एकजना सरले पश्चिम नेपालको एक दुर्गम गाउँमा सडकको डिटेल सर्भेको काममा पठाउनु भयो असारको पहिलो हप्ता। सँगै पढेका साथीहरु बिईको प्रबेश परिक्षा तयारी गर्न लागे, म चाहिँ रोडको सर्भे गर्न पश्चिम नेपालतिर गएँ। २०५२ साल साउन १५ गते सोमवार म काठमाण्डौ फर्किएँ। पाटनढोका जाने २६ नम्वरको बस पुल्चोकको स्टपमा रोकिँदा गेटमा निकै भिड देखेँ। “आज, के भिड भएछ यहाँ, हेर्नु पो प-यो” भनेर त्यहिँ झरेँ। आज बिईको प्रवेश परिक्षाको फर्म भर्ने अन्तिम दिन रहेछ। मलाई ओभरसियरमा पढाउनु भएका सरहरुसँग भेट भयो। उहाँहरुले मलाई जबर्जस्ति भन्दा पनि हुन्छ ईण्ट्रान्सको फर्म भराउन लगाउनु भयो। मन नलागि नलागि ईन्ट्रान्स पनि दिएँ। मेरो नाम पनि मैले परिक्षा दिए जस्तै मन नलागि निस्किएछ, अन्तिमतिर। रीजल्ट हेरी सकेर बाहिर निस्कन लागेको बेलामा मेनुकासँग भेट भो। उनी साथीको रीजल्ट हेर्न आकि रे। साथिलाई डर लाग्यो रे रीजल्ट हेर्न। “ल ओम सर बधाई छ, ईञ्जिनियरसाव भनौँ अब?” मेनुकाले खुशी प्रकट गरिन्। “हेर मेनुका म त बिई पढ्दिन। ओभरसियरको जागिर खोजेर खान्छु” मैले मेरो कुरा गरेँ। “किन सर, किन त्यसो भन्नुभको। मान्छे ईन्ट्रान्समा नाम निकाल्न कति दुख गर्छन्, ईञ्जिनियर पढ्न कति पैसा खर्च गर्छन्” उनले भनिन्। “मेरो लागि यो ओभरसियर नै धेरै भो” मैले भनेँ। “ल है त, म कोठातिर लागेँ” म पाटनढोकातिर हिँडे। मेनुका पनि बस चढ्न भनेर पाटनढोकैतिर लागिन्। “चिया खाने हो?” मैले मेनुकासँग सोधेँ। “हुन्छ नि” मेनुकाले पनि मानिन्। पाटन ढोकाको लोकहित रेष्टुरेन्टमा बसेर चिया खायौँ। खै किन हो, मेनुकाले “बिई पढ्नुस् है सर” भनेर धेरैपल्ट भनिन्। हिड्ने बेलामा फेरि दोहोर्याईन् “सर, छिटो भर्ना गर्नुस् है”। भर्ना गर्ने म्याद तीनदिन थियो। दुईदिन सम्म त मैले वास्तै गरिन। दोस्रो दिनको बेलुका भने मैले धेरै सोचेँ। भर्ना शुल्क १८०० रुपैंया लाग्थ्यो। त्यतिखेर मसँग त्यत्रो पैसा थिएन। मञ्जुसँग त्यत्रो एक्स्ट्रा पैसा हुने कुरा थिएन। सम्भावित पैसा माग्ने मानिस भनेको मेनुकाका बाबा मात्र हुनुहुन्थ्यो, तैपनि मलाई दिन मान्नु हुने नहुने पनि ग्यारेन्टी थिएन। एकपटक मेनुकासँग कुरा पो गर्नु पर्यो भन्ने विचार आयो। निकैवेरको सोचाईपछि मन दरो बनाएँ। बेलुका मेनुकाको घरमा फोन गरेँ। शुरुमा त मेनुकाका बाबासँग सिधै कुरा गर्ने मन थियो, तर त्यत्रो आँट जुटाउन सकिन। पहिले मेनुकासँग कुरा गर्नु प-यो अनि उनले के कस्तो रेस्पोन्स देखाउँदि रहिछिन्, त्यसपछि बाबासँग कुरा गर्छु भन्ने विचार गरेर फोन गरेँ। “हेलो, मेनुका छिन् होला?” “को बोल्नु भको?” मेनुकाकी ममीले सोध्नु भयो। “म ओम बोलेको पुल्चोकबाट”। “को ओम, मैले त चिनिननी’ “मेनुकाले मसँग ट्युशन पढ्थिन् नि” “ए, ओमबाबू, एकछिन है त, म उनकै कोठामा फोन लगाईदिन्छु” “हेलो” मेनुका बोलिन्। “मेनुका म ओम बोलेको। के छ खबर?’ “ठीकै छ सर। अनि हजुरलाई कस्तो छ नि?” “मलाई पनि ठीकै छ” “अनि सर, भर्ना हुनुभो त?” “छैन। भोलिसम्म छ म्याद” “अनि किन नगर्नुभको त आजसम्म?” “खै, गर्ने कि नगर्ने भनेर दोधारमा छु” “त्यस्तो दोधारमा नहुनु त। भोलिबिहान १० बजे नै भर्ना गरिहाल्नुस् है” उनी अतालिईन्। “खै गर्ने त भनेको तर…” “किन तर सर, यस्तो कुरामा पनि अल्मलिएर हुन्छ त?” “मेनुका, एउटा कुरा गरौँ कि भनेर फोन गरेको। खै गरौँ कि नगरौँ” “के कुरा? गर्नुस् न” “खै भनौँ कि नभनौँ” “भन्नुस् न, के कुरा हो” “मेनुका भर्ना गर्ने कि भनेर सोचेको, अहिले आर्थिक अवस्था राम्रो नभएर तिम्रो बाबासँग कुरा गर्ने भनेको, खै आँटै आएन। के गर्दा ठीक हुन्छ भनेर तिमीलाई फोन गरेको। भन्दा ठीक होला कि नहोला?” “अनि यस्तो कुरा पनि भन्न गा-हो मानेर हुन्छ त। भन्नुस् कति जति चाहिने?” “भर्ना फिस १८०० रुपैंया लाग्ने रहेछ” “त्यति पैसा त मसँग पनि होला। भोलिबिहान साँढे नौ बजे तिर म पाटनढोकाको गेटमा आँउछु पैसा लिएर” “थ्यांक्यु, मेनुका” म खुशी भएँ। भोलिपल्ट बिहान पाटनढोकामा मेनुका म भन्दा पहिल्यै आएर बसिरहेकी रहिछिन्। दुबै सँगै गएर मेरो बिईको भर्ना ग-यौँ। डिनको अफिसको भूइँतलामा भर्ना गरेर हामी एकछिन छेवैको पार्कमा गएर बस्यौँ। उनले क्याम्पसको अर्को पट्टी पनि घुम्न चाहिन्। हामी नयाँ छात्रवास जाने ठाँउको स-सना सल्लाका रुखहरु भएको ठाँउमा गएर बस्यौँ र धेरैबेर गफ गरेर बितायौँ। साझाल्याण्ड, ११ मंसिर २०६३
Read Full Discussion Thread for this article