Posted by: Ok November 28, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाफ माफ गरे है! आत्मकथा-ओके भाग २ खण्ड ४२ २०५० साल असोज २० गते वुधवार। तेस्रो सेमेस्टरको परीक्षा सकाएर म दशैंमा घर जाने तयारीमा थिएँ। मञ्जु लगाएत अन्य साथीहरुसँग भरेबेलुकीको बसमा बाटो लाग्ने योजना थियो। होस्टेलको छात्रबासमा एकाबिहानै बिहानको निद्रा राम्ररी पनि नखुल्दै पालेले बोलायो “ओम खनाल, फोन आको छ”। हतारहतार एउटा गन्जी र हाफपईन्ट मात्र लगाएर फोन उठाउन गएँ। “हेलो, को बोल्नु भा होला?” “ओम सर बोल्नु भा हो?” फोनमा केटीको आवाज थियो, तर मलाई चाहिँ मञ्जुको जस्तो लागेन। फेरि मञ्जुले मलाई फोनगर्दा सर भनेर कहिले पनि भन्दिनथिन्, साथीहरुको अगाडि मात्र सर भनेर सम्बोधन गर्थिन्। “मैले त चिनिननी। को बोल्नु भाको होला?” मैले सोधेँ। “सर म मेनुका। ट्युशन पढ्ने केटी, चिन्नु भयो त?” “ए मेनुका, के छ खबर? किन फोन गरेको यति बिहानै?” मैले सोधेँ। उनी अक्मकाईन्। झट्ट केही पनि भनिनन्। “तपाईँ कहिले पहाडबाट फर्कनुहुन्छ?” केही बेर पछि भनिन्। “तिहार पछि” मैले छोटो उत्तर दिएँ। “मञ्जु पनि संगै जाने हो?” “हो” “तपाईँ र मञ्जुको गाऊँ पनि एउटै हो सर?” “हैन। मञ्जुको गाउँबाट मेरो गाउँ ३-४ घन्टा हिड्नु पर्छ। “बाफ रे ३-४ घण्टा, त्यो पनि पैदल। टाढा रैछ नि त? कहिले चिन्नु भको त मञ्जुलाई? काठमाण्डौमै हो?” “हैन, उनी म भन्दा १ बर्ष जुनियर हुन् स्कुलमा। हामीले एउटै स्कुलमा पढेका” “ए, सर अनि हजुर फर्कनु भएपछि म फोन गर्छु नि। राम्ररी जानुस् है! शुभ-यात्रा, ह्याप्पी विजया दशमी २०५०” उनले कुरा टुंगाईन्। “ल तिमीलाई पनि ह्याप्पी दशैँ” मैले पनि मेरो कर्तब्य पूरा गरेँ र फोन राखिदिएँ। दिउँसो रत्नपार्कमा गएर आमा र भाइबैनीलाई केही कपडा, डटपेन र कपी किने। त्यसबेला मैले किनेर लगिदिएको जाडो महिनामा ओढ्न हुने बाक्लो एउटा ‌ऊनीको ओढ्ने मेरो जीवनमा आफ्नै पौरखले किनेर लगिदिएको पहिलो कपडा थियो आमालाई। आजसम्म पनि त्यो ओढ्नेको कुरा आमाले गरिरहनुहुन्छ, कहिलेकाहीँ त फोनैमा पनि। तिहारपछि फर्केर पनि पहिलेकै कामहरु यथावत रहे। पुल्चोकमा ५ बजे क्लास सकेर ट्युशन पढाउन कुपन्डोल जान्थेँ। एकहप्ता पछिको शुक्रबार बेलुका फेरि मेनुकाले फोन गरिन्। उनले भोलि शनिबार म उनको घर अनामनगरमा बिहानको खाना खानेगरी बाबाले बोलाउनु भको भनेर पनि भनिन्। खासै मेरो केही काम पनि थिएन त्यो शनिबार। चौथो सेमेस्टर भर्खर शुरु भकोले पढाईको पनि त्यति चाप थिएन। भोलिपल्ट नौ बजे म बबरमहलको यातायात मन्त्रालयको गेटमा पुगेँ। मेनुका मलाई लिन आईन्। म उनको पछिपछि लागेँ। उनले मलाई चिटिक्क परेको चारतले घरमा पु-याईन्। कम्पाउण्डको गेटमा पुग्ने बितिक्कै कानै खाने गरी कुकुर भुक्यो। मेनुकाले चुपलगाईन्। भित्र छिर्ने बितिक्कै साईडको ग्यारेजमा दुईवटा गाडी पार्क गरेका रहेछन्। छेवैको बगैंचामा तिहारमा जस्तै झिलिमिली फूलेका फूलहरुमा एकजना बुढामान्छे पानी हाल्दै रहेछन्। म चाहिँ मेनुकाले जता लग्छिन् त्यतै गएँ। घरभित्र छिर्ने ढोकाको छेउमा नै आफूले बाहिर लगाएका जुत्ता खोलेर भित्र लगाउने स्लिपर लगाउनु पर्ने रहेछ। मलाई भने कस्तो असजिलो लाग्यो। १,२ दिनदेखि मोजा धोएकै थिईन। मोजाको अघिल्तिर खुट्टाको बुढिऔलो निस्किएको थियो फाटेर। मेनुकाबाट लुकाउँदै मैले मोजा पनि खोलेँ। स्लिपर लगाएर हामी भित्र छि-यौँ। मेनुकाले मलाई उनको घरको परिचय गराईन्। हामी पुग्दा मेनुकाका बाबा छतमा हुनुहुँदो रहेछ। मेनुकाले मलाई पनि सिधै छततिर लिएर गईन्। “बाबा, उहाँ ओम सर। हामीलाई म्याथको ट्युशन पढाउने” मेनुकाले मतिर आँखाको ईसाराले देखाउँदै भनिन्। मैले नमस्कार गरेँ। “नमस्कार, नमस्कार। तिमीहरु तल बैठक कोठामा गएर बस्तै गर। मेनुकाकी आमा बाहिर पसलतिर गाकी छ क्यारे। हिजो शिवेले राम्रो मासु किनेर ल्याएन रे। आज आफैं गाकी छ” मेनुकाको बाबाले मेरो अनुहारतिर गहिरिएर निहाल्नु भो अनि मेनुकातिर फर्केर भन्नुभो। एकछिन छतबाट वरिपरिका दृष्यहरु हेरेपछि मेनुका र म तेस्रो तलामा भएको सिटिङ रुममा गयौँ। म छेवैको सोफामा बसेँ। मेनुकाले रिमोटकन्ट्रोल लिँदै टिभिका च्यानलहरु फेर्न थालिन्। कहिले डिस्कभरी च्यानल, कहिले जिटीभी, कहिले जीसिनेमा हुँदै एम टीभीमा पुगेर उनले हातको रिमोट अगाडिको टीटेवलमा राखिन्। टीभिमा अंग्रेजी पपगित जस्तो बजिरहेको थियो। मैले केही पनि बुझिन। त्यतिखेरसम्म म हिन्दी पनि बुझ्दिनथेँ, अंग्रेजी गीतको कुरा त परै जावस। अगाडिको टेवलमा राखेको गोरखापत्र हातमा लिएर हेर्न थालेँ। मेनुकाको ममी फर्केपछि चिनजान भयो। सबैजना भएर खाना खायौँ। दिनभरि मेनुकाको घरमै कहिले गफ, कहिले टिभि हेरेर समय कटाएँ र बेलुका पुल्चोक होष्टेलमै फर्किएँ। साझाल्याण्ड, ११ मंसिर २०६३
Read Full Discussion Thread for this article