Posted by: Ok November 28, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
साझाबासीहरु, ब्यस्थताको कारणले मेरो यो लामो आत्मकथा “मञ्जु, मलाई माफ गर है” सक्न धेरै समय लाग्यो र पाठकहरुले पनि लामो समयसम्म कुर्नु प-यो। समयमै पस्कन नसकेकोमा मलाई दुख लागेको छ। आज मैले सबै कथालाई एकैपटक पेष्ट गर्दैछु। कथा लामो भएपनि डिटेल्सहरु अझै अपूर्ण छन्। यस कुरामा म सबैलाई अग्रिम सचेत गराउन चाहन्छु। समयले साथ दिएमा अन्य कथाहरुका साथमा म फेरी आउनेछु। -ओके मञ्जु, मलाफ माफ गरे है! आत्मकथा-ओके भाग २ खण्ड ४१ २०४९ साल साउन महिनामा मेरो पुल्चोक होस्टेलमा नाम निस्कियो र होस्टलमै बस्न थालेँ। दशैँमा पहिलो सेमेस्टरको परीक्षा दिएर घर गएँ। परीक्षा राम्रो भएन। साथीहरुसँग पैसा सापटी लिएको थिएँ, पुल्चोकमा बस्ता एकहजार रुपैंया जति। पाँचहजार पाँचसयमा अलिकति खरबारी बेचेँ, साथीहरुको पैसा दिन र भाइ-बैनीलाई रामपुरमा बस्ता कोठाभाडा तिर्न। भाइबैनीलाई लाग्ने खर्च भनेर आमालाई पच्चिससय रुपैँया छोडेँ र तीनहजार रुपैंया आफैँले राखेँ। मञ्जुको घरमा पनि गएँ एकदुईपटक त्यो दशैँको विदामा। त्यसै वर्षको एसएलसी परीक्षामा मञ्जुले पनि सेकेण्ड डिभिजनमा पास गरिन्। अब उनी पनि काठमाण्डौ जाने रे। तिहारपछि अन्य साथीहरुसँगै मञ्जु र म काठमाण्डौ आयौँ। मञ्जु उनकै मामाको घरमा बसेर पढ्न थालिन्। मञ्जुसँग फोनमा कुरा भैरहन्थ्यो। शुरुशुरुमा त म पनि गर्थेँ मञ्जुलाई फोन, तर केही समयपछि नै मञ्जुको माईजुले निकै चियोचर्चो गर्न थाल्नु भयो र मैले फोन गर्न छोडेँ। उनले नै फोन गर्थिन् मलाई। एकबर्ष अगिनै काठमाण्डौ आएकोले मलाई काठमाण्डौको बारेमा केही ज्ञान थियो। मञ्जुलाई काठमाण्डौ पनि घुमाएँ, आफूले जानेको र देखेको ठाँउमा। टाढाटाढा पनि घुम्न गयौँ। पुष महिनामा पहिलो सेमेष्टरको रीजल्ट पनि भयो। म बल्लबल्ल पास भएँछु। १००० रुपैँया स्कलरसीप पनि पाईँन। दिनहरु बित्तै जाँदा घरबाट ल्याएको पैसा पनि सकिँदै गयो। पुल्चोकमा पढ्न नसक्ने भएँ। आफूले सक्ने र पाउने एक मात्र उपाय भनेको अब फेरि उन कारखानामै फर्केर काम गर्नु थियो। पुस माघको एक महिने जाडो बिदा भयो। मञ्जु उनकै गाउँकी साथीसँग घर गईन्, त्यस बर्षको जाडो बिदामा। कहिल्यै पनि घर नछोडेकी उनी होमसिक जस्तो भएकी थिईन्। म चाहिँ पहिलेकै ठाँउमा गएर उन कातेँ, त्यहि पहिलाको साथीसँगै बसेर जाडोबिदा भरी। अरु बेला पनि त्यो साथीको कोठामा आउनेजाने गरिरहन्थेँ। त्यो एक महिनामा ६०० रुपैँया कमाएँछु। एक महिना अरु बाँच्न सक्ने भएँ। जेनतेन चैत्र महिनासम्मलाई काम चल्यो। चैत्र महिनामा भएको सेकेण्ड सेमेस्टरको परिक्षा पनि सकियो। २०५० साल बैशाख १२ गते शनिवार मञ्जु र म घुम्न भनेर नगरकोट गयौँ। कुराकुरैमा मञ्जुले अकस्मात सोधिन् “खर्च कसरी चलाउनु भैराको छ है आजकाल। कति गा-हो भा होला है!” मैले केहि पनि भनिन। उनले उयाए निकालिन् “मलाई ट्युशन पढाउनुस्, मामालाई भनेर पैसा दिन्छु नि” “तिमीसँग पनि म पैसा लिएर ट्युशन पढाउँछु त? तिमीसँग पनि ट्युशनको पैसा लिएँ भने त मलाई पाप पो लाग्छ” “हेर्नुस्, मैले दिने पैसा मेरो हैन नि, मामाको पो त। त्यो परराष्ट्रमन्त्रालयमा दशजनासँग घुस खाएर थुपारेको पैसा पढ्नमा खर्च गर्दा पनि पाप लाग्छ त?” उनले प्रस्ट्याईन्। कुरा हुँदै गर्दा उनले साथीहरु खोज्ने भईन् ट्युशन पढ्ने। हामी धेरैबेर नगरकोट घुम्यौँ। बेलुका नयाँबानेश्वरमा छुट्टिएर उनी पुरानो बानेश्वरतिर लागिन्, म पुल्चोकतिर। दुईहप्ता पछि मञ्जुले फोन गरिन् मलाई पुल्चोकमा। उनले पद्मकम्या क्याम्पसमा सँगै पढ्ने अरु दुईजना साथीहरु पनि खोजिछिन्, मेनुका र मनीषा। मलाई पुल्चोक क्याम्पसको छात्रबासबाट नजिक हुनेगरी मनीषाको घर कुपन्डोलमा नै पढ्ने कुरा मिलाएछन्। २०५० साल जेठ २५ गते सोमवारबाट म मनीषाको घरमा मञ्जु, मेनुका र मनीषालाई आईए प्रथम बर्षको मेजर म्याथ ट्युशन पढाउन थालेँ। पुल्चोक क्याम्पसकै ओभरसियर पहिलो र दोस्रो सेमेष्टरमा आफैंले पढेको भएर ट्युशन पढाउन पनि गा-हो भएन। आफैंले पढ्दा बनाएका नोटहरु नै काम लागे। नपढेका पाठहरु गाईडको सहायताले पढाएँ। मेनुका र मनीषाले रु २०० सयका दरले पैसा दिए। मैले जति नै नमान्दा नमान्दै पनि मञ्जुले पनि पैसा दिईन्, ३०० सय रुपैंया। पहिलो महिनामै मेरो रु ७०० भयो ट्युशनबाट। एक महिना पछि अरु २ जना केटीहरु पनि थपिए, हेमा र बसन्ती। जम्माजम्मी महिनाको १००० रुपैंया हुनथाल्यो, ट्युशनबाट। करिव ६०० सय रुपैंयाले मेरो महिना बित्थ्यो। ओभरसियर प्रथम बर्ष दोस्रो सेमेस्टर देखि नै मेरो रीजल्ट केहि राम्रो हुनथाल्यो र ६ महिनाको रु १००० छात्रबृति पनि पाउन थालेँ। क्याम्पसमा तिर्नुपर्ने फी: पनि यसैबाट तिर्न पुग्यो। बचेको पैसा आमा र भाइबैनीहरुलाई घर पठाउन थालेँ। म काठमाण्डौ आँउदा मेरो मनमा गर्छु भनेको कुरा आज करीव डेड बर्षपछि पूरा भयो, मञ्जुको सहयोगले। मञ्जुसँग पनि सधैंजसो भेट हुन थाल्यो। ट्युशनको समयमा पनि अरु साथीहरु भन्दा मञ्जु पहिले नै आउँथिन्। साझाल्याण्ड, ११ मंसिर २०६३
Read Full Discussion Thread for this article