Posted by: Birkhe_Maila November 17, 2006
Login in to Rate this Post:
0
?
खै यो धागो धेरै भयो माथि नआएको त्यसैले तान्न मन लागेको हो तर रमाईलो केहि छैन, एउटा गन्थन छ यहि पस्कँदै छु।
मेरो सिक्काको निराश पाटो -
प्रतिकुलताको बर्षातले
हिम्मतको बलेसी चुहिँदा,
मक्किएको खरको पालीलाई,
म एकटक हेरिदिन्छु!
एउटा तिखो व्यङ्ग जन्मन्छ;
मेरो मानसपटलमा,
मेरो सामर्थ्यमा,
मेरो पहुँचहरुमा,
मेरो कौतुहलतामा,
सम्पूर्ण नियमित जीवनको चक्र माथि!!
तुहिएका सुनगाभाका गर्भहरु,
कुहिएका गुलाफका पत्रहरु,
मिल्किएका सयपत्रिका थुङ्गाहरु,
कुल्चिएका कपासका भुत्लाहरु,
केलाउँदा केलाउँदै थाकेको म;
बतासको झिनो हावाले,
खारिलो धुलो उडाउँदा धुलाम्य हुन्छु।
अत्यासको गह्रुङ्गो बादलले,
मलाई गुटुमुटु पार्दा
निलो बिश्वासको आकाश छिचोल्न खोज्छु,
कालो अन्धकारको मझेरिमा!!
ओसिलो नर्कटघारिलाई पन्छाएर
उपल्लो पट्टि जान खोजेको म!
सेपिलो गिलो आली हिँडेर,
सुख्खा चौतारीमा बिश्राम खोज्दै हिँडेको म!
बलौटे बाढिको भेलमा,
धमिलो भुमरिमा घुम्दै,
नजिकैको भदौरे खोलामा मिसिन पुग्छु!
छाल छाल अग्लिँदै र होचिँदै,
दोभानमा ठोक्किन पुग्छु;
नितान्त नयाँ, तर उराठ खहरे संग!!!