Posted by: Ok November 2, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके भाग २ खण्ड ४० बस्तै जाँदा हाम्रो घनिष्टता झन् बढ्दै गयो, सबै कुराहरु सेअर गर्न थाल्यौँ। उस्का सबै कुरा मलाई भन्यो। मैले पनि सबैकुरा भनेँ। ऊ पनि एसएलसी थर्ड डिभिजनमा पास गरेर क्याम्पस पढ्न भनेर काठमाण्डौ तिर हानिएको रहेछ। केही सीप नलागेपछि उन कारखानामा काम गर्न थालेछ। हामी दुईमा निकै समानता थिए। दुबैको इच्छा क्याम्पस पढ्ने थियो। दुबैको आर्थिक अवस्था कमजोर थियो। हाम्रा भावनाहरु मिल्थे, सोचाईहरु मिल्थे। दुबैले दिनको ५ किलो सम्म ऊन कात्थ्यौँ। एक-किलोको १२ रुपैंयाका दरले पैसा पाएपछि त हाम्रो दैनिक ६०-६० रुपैंया हुन थाल्यो। २०४८ साल माघ महिनामा दुबैको सरसल्लाहले आरआर क्याम्पसमा भर्ना ग-यौँ, रात्रि क्लासमा। “बसभाडा दुईदुई रुपैंया खर्च गर्नु भन्दा एकमुठो साग किनेर लानु पाए मज्जाले भात खान पुग्छ” भन्दै हामी हिडेरै जान्थ्यौँ क्याम्पस र हिँडेरै फर्कन्थ्यौँ क्याम्पसबाट पनि। चुच्चेपाटी पुग्ने छोटो बाटो शंकरदेव क्याम्पस- डिल्लिबजार पिपलबोट- कालोपुल- सिफलचौर- मित्रपार्क- चाबहिल हुँदै चुच्चेपाटी पुग्थ्यौँ। क्याम्पसबाट कोठा पुग्दा रातको १० भन्दा बढी बज्थ्यो, त्यसपछि भात पकाएर खान्थ्यौँ। फेरि बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म कारखानामा ऊन कात्थ्यौँ। सानैदेखी गणित बिषय सजिलो लाग्ने भएकोले मैले गणित नै मेजर लिएर पढ्न थालेँ, साथीले चाहिँ ईकोनोमिक्स पढ्यो। माघ महिना यसैगरी बित्यो। फागुन महिनाको पहिलो हप्तामा गणित पढाउने खनाल सरले डिफिरेनसियल क्यालकुलसको एउटा हिसाब सल्भ गर्न अल्मलिनु भयो। मैले त्यो हिसाब अघिल्लो दिन बेलुका नै आफैंले सल्भ गरिसकेको थिएँ। उहाँ निकैबेर अल्मलिएपछि मैले त्यो हिसाब गरेर सरलाई देखाएँ। त्यसपछि उहाँले मेरो बारेमा क्लासमै सोध्नु भयो, एसएलसीको प्रतिशत र मैले आर्ट्स पढ्नको कारण। मैले सबैकुरा बताएँ। खनाल सरले मलाई कि ईञ्जिनियरीङ कि डाक्टर पढ्न सल्लाह दिनुभयो। उहाँले दिएको सल्लाहकै लहैलहैमा चैत्र महिनामा पुल्चोक क्याम्पसमा ईन्ट्रान्स दिएँ। गणित र अंग्रेजीको प्रबेशपरिक्षा दिनुपर्ने रहेछ। गणित त सजिलै लाग्यो, तर अंग्रेजी चाहिँ अति गाह्रो। अंग्रजीमा पनि पास भएछुँ, नाम पनि निक्लियो। भर्ना शुल्क रु ५६२।५० लाग्ने रहेछ। आफूसँग त्यतिखेर ३०० रुपैंया मात्र थियो, ऊन कातेर जोगाएको पैसा भाइबैनीलाई पढ्ने खर्च पठाउनलाई। भाइबैनीलाई पनि नपठाईकन, अरु ३०० रुपैंया मोहनसँग मागेर पुल्चोक क्याम्पसमा भर्ना गरेँ। त्यतिबेलासम्म मलाई “आरआर क्याम्पसमा जस्तै ऊन कातेर पढ्छु पुल्चोकमा पनि” भन्ने बिचार थियो। ईञ्जिनियरिंग पढ्न गा-हो हुन्छ भन्ने चाहिँ थाहा थियो, तर धेरै खर्च लाग्छ भन्ने कुरा चाहिँ थाहै थिएन। २०४९ साल जेठ महिनाबाट पढाई शुरु भयो पुल्चोकमा। शनिबार, आईतबार र बिहानबेलुका ऊन कात्दै दिउसो पुल्चोक क्याम्पस जान थाले। कक्षाकोठाको सबभन्दा पछि गएर बस्थेँ। सबै विषय अंग्रेजीमा पढाई हुन्थ्यो। शुरुशुरुमा त मैले केही पनि बुझिन। टिस्केल किन्ने पैसा नहुँदा पहिलो ड्रईङ बुझाउन पनि पाईन। एकहप्तासम्म हातिछाप चप्पलमा र टोपीलाएर जाँदा सबैले हेपे। मलाई देख्ने बितिक्कै “उ टोपी आयो” भन्थे। मेरो नाम नै “टोपी” भैसकेको थियो, सबैले मलाई “टोपी” भनेर नै बोलाउँथे। पहिलो हप्ताको बिहिबार दोस्रो पिरियड मेन्सुरेसनको थियो। सर आउनु भएन। हामी सबै क्लासमा बसिरहेका थियौँ। निकैबेर सम्म पनि सर नआएपछि क्लासमा हल्ला हुन थाल्यो। “ओई टोपी, तेरो टोपी त क्या भकुन्डो बनार खेल्नु जस्तो छ, ले न यार” एउटा केटाले जिस्कायो मतिर हेर्दै। म भन्दा अगाडि बसेको केटो म तिर फर्कियो र मैले लगाईरहेको टोपीलाई हातले हिर्काएर उडाईदियो। अर्को केटाले टोपीलाई लात्तले किक हान्यो र अर्को कुनामा पु-याईदियो। टोपी धुलोमा झ-यो। अर्को केटाले धुलोमै एकलात्ती हान्यो र हेर्नै नहुने बनाईदियो। म गएर टोपी टिपेँ, धुलो टक्टकाएँ, फेरि गएर पछिल्लो सीटमा बसेँ। सबै केटाहरु “पढाई नहुने भो आज” भनेर बाहिर निस्के। म चाहिँ क्लासमै बसेर किताब पल्टाएर हेर्न थालेँ। हाम्रो सेक्सनमा एकजना केटी थिई, पुष्पा। ४७ जना केटाको हुलमा केटी ऊ एकजना मात्र थिई। सबैकेटाहरु बाहिर हिडिसक्ता पनि ऊ चाहिँ त्यहि बसिरहेकी थिई, त्यो दिन। “कस्ता बदमास है केटाहरु, अलिकति पनि सोमत छैन” पुष्पाले मप्रति सहानुभुति राखि। एकोहोरो किताबमै मन दिईरहेको म झसंग भएँ। ऊ आएर म भन्दा ठीक अगाडिको बेञ्चमा बसि। मैले केही पनि बोलिन। “तपाईँको घर कहाँ हो?” उसले फेरि सोधि। “ओखल्ढुंगा” मैले छोटो उत्तर दिएँ “अनि तपाईँको नि?” “मेरो त्रिशुलि हो। तर अहिले चाहिँ काठमाण्डौमै छ।” “तपाईँको नाम ओम हैन?” “हो, किन?” “त्यसै। यसो चिनचान गरौँ भनेर नि” म चुपै लागेँ। म किताबमै हेरेर बोलीरहेको थिएँ, त्यसबेलासम्म। “तपाईँ माईन्ड गर्नु हुन्न भने, म एउटा कुरा भन्छु है?” पुष्पा फेरि बोली। “गर्दिन। भन्नुस् न के कुरा हो?” मैले पुलुक्क उसको अनुहारमा हेरेँ। “यो काठमाण्डौका केटाहरु छुच्चा छन्। टोपी-चप्पल लगाको मान्छेलाई जिस्काएर हैरान पार्छन्। तपाईँ पनि अब टोपी र चप्पल लगाउन छोड्दिनुस्, अनि हेप्दैनन् के” “टोपी नलगाउँदा त मेरो टाउको दुख्छ” मैले आफ्नो कुरा गरेँ। “एक-दुई दिन हो, पछि त बानी परिहालिन्छ नि। एकपटक हजामकोमा गएर कपाल काट्नुस्, अनि टोपी लगाउन छोड्दिनुस्, अनि त कसैले हेप्दैन” उसले भनि। भोलिपल्ट चुच्चेपाटीको हजाम पसलमा रु ७ तिरेर कपाल काटेँ। एकहप्तासम्म टाउको दुख्यो, त्यसपछि भने बानी पर्दै गएँ। पुष्पा र म निकै मिल्न थाल्यौँ। म पनि गाउँलेपाराबाट शहरीपनामा परिवर्तन हुँदै गएँ, मन, सोचाई र भावनामा नभएपनि बाहिरी पहिरन र बोलीचालीमा। पुष्पाले नै सिकाई, मलाई शहरिया हुन। समयबित्दै जाँदा अरु साथीहरुले पनि जिस्काउन छाडे, टोपी भन्न छाडे। पहिलो पटकको म्याथको एसिस्टमन्टमा पुष्पा र म सँगै बसेर परिक्षा दियौँ। म म्याथमा अलिक ट्यालेन्ट भकोले उसले मेरो सारि। पछि रिजल्ट हुँदा त सरले उसलाई २० दिनुभएछ, मलाई चाहिँ पुष्पाको सारेको भनेर १८। सायद, पुष्पा बोर्डिङ पढेर आकी, म चाँही गाउँको झारेझुरे स्कुल पढेर आको भनेर होला। पुष्पाले म सरलाई “तपाईँको मैले सारेको भन्छु” भन्दै थिई, तर मैले नि भन्न दिईन। साथीको दोस्ती पुष्पासँग ओभरसियर सक्ता सम्म चल्यो। बिईमा उस्को नाम ननिस्किएपछि उसँग मेरो भेट कहिल्यै भएन। साझाल्याण्ड, १५ कार्तिक २०६३
Read Full Discussion Thread for this article