Posted by: Gautam B. November 2, 2006
कथा- "एक जोर सूट"
Login in to Rate this Post:     0       ?        
“त्यो जाँ---लाई किन हेर्नु प-या होला नि!” भुत्भुतायो चन्द्रकुमार, गाडीमा बसेकी एउटी केटीले उस्को पाइण्ट हेरेजस्तो लागेर। अरु दिन भए केटीले हेर्दा ‘मजस्तो ह्याण्डसमलाई नहेरेर कल्लाई हेर्छन् त?’ भन्ने सोचेर छाती फुलाउँथ्यो उ, तर आज भने कसैले पनि नहेर्दे हुन्थ्यो! केटीले त झन हेर्दै नहेर्दे हुन्थ्यो! तै इसुका स्टेशनबाट रेलमा बसेपछि उस्को समस्या हल भयो एक छिनको लागि। रेलभित्रको भिडमा चन्द्र कुमारको खुम्चेको पाइण्टको त के, चन्द्र कुमार आफैं हरायो। वानागो पुगेर हतार हतार शिन-कान-शेनको प्लेटफार्मतिर दौडियो, तर पनि दश मिनेट जति कुर्नुपर्ने भयो त्यहाँ। सधैंजस्तो स्टेशनमा आफ्ना एक्सरे आँखा दौडाएन आज चन्द्र कुमारले, प्रतीक्षा कक्षको एउटा कुनामा गएर बस्यो। शिन-कान-शेनमा छिरेपछि ‘बेन्तो’ किन्यो र खान थाल्यो। खुम्चेको पाइण्टले गर्दा उस्लाई खानाको स्वाद पनि याद भएन। तीन घण्टासम्म एक चोटि पनि सिटबाट उठेन उ। शिन-कान-शेन योकोहामा पुगेको जानकारी बज्यो। “थुक्क---! आज पनि फुजी राम्ररी हेरिएन!” अहिले त चन्द्र कुमार करायो नै। “आज त दिन राम्रो थियो नि!” हरेक पटक यो बाटोबाट यात्रा गर्दा फुजी पर्वत हेर्न खोज्छ उ, तर अहिलेसम्म राम्रोसंग देखेको छैन। कहिले कुहिरो डम्म हुन्छ, कहिले कसैसंग गफ गर्दा गर्दै यादै हुँदैन। आज दिन पनि राम्रो थियो र उ एक्लै पनि थियो; तर आज पनि छुट्यो। शहरको पुरानो भागको ‘बायोटेक बिल्डिङ’को आठौं तल्लाको एउटा हलमा थियो कार्यक्रम। सहभागीहरु आयाताकार भएर बसेका थिए। नभन्दै बूढै-बूढाहरु थिए अरु सबै। कार्यक्रम सञ्चालकलाई आफ्नो बारेमा बताएर र आफ्नो प्रस्तुतिसंग सम्बन्धित सामग्रीहरु बुझाएर चन्द्रकुमार एउटा कुर्सीमा गएर बस्यो। कार्यक्रम सम्बन्धित ल्याबहरुको तीन महिने प्रगति बिबरण जस्तो मात्रै रहेछ। उस्को पालो चाँडैनै आयो, तर कार्यक्रम पूरै नसक्किई उठ्ने कुरो भएन। हाई काढी काढी बूढाहरुको गन्थन सुन्यो। कार्यक्रम सकिँदा साढे पाँच बजिसकेको थियो। कार्यक्रम स्थलबाट चन्द्रकुमार सोझै सब-वे स्टेशनतिर लाग्यो। उस्लाई कतिखेर कोठामा पगौं र त्यो पाइण्ट फुकालेर हुर्रयाऊँ जस्तो भैरहेको थियो। शिन-कान-शेन चढेपछि चन्द्रकुमारले दुई क्यान बियर र बदाम मिसिएको स्न्याक्स मगायो। एउटा ठुलो बोझ हटेर टाउको हलुंगो भएझैं अथवा कुनै कठिन परीक्षा भर्खरै सकिएझैं भैरहेको थियो उस्लाई र उ दंग परेर बियर पिउन थाल्यो। ‘भोलि बिहानै यो पाइण्ट लगेर ड्राई-क्लीनर्सकहाँ छोड्छु। खाना खाए पछि बजार गएर अर्को एक जोर कालो सूट पनि किन्छु।‘ लगभग प्रतिज्ञाकै स्तरमा गमिरहेको थियो उ। ‘एक जोर मात्रैको भरमा बस्यो भने यस्तो अप्ठेरो पर्दो रहेछ कहिलेकाहिँ।‘ अहिले भने फुजी पर्वत हेर्न बिर्सेन उस्ले। हुनत साँझ परिसकेको थियो, तर फुजी पर्वतको आकृति भने एकदम स्पष्ट देखिएको थियो। छाती तन्काएर उभिएको महिमामण्डित फुजीलाई हल्का अँध्यारैमा सहि सर्वाङ्ग देखेपछि चन्द्र कुमार त्यसै त्यसै आल्हादित भयो र आधा क्यान बियर स्वाट्टै पा-यो। कुन्नि कुन खुशीले हो, चन्द्र कुमारको अनुहार उज्यालिँदै आएको थियो। खुम्चेको पाइण्ट अथवा बिहानकी त्यो केटी, दुबै उस्को मनबाट हटिसकेका थिए। “हेलो, के छ राज यार?” कोठानिर पुग्नै लाग्दा फोन आयो। “तँ काँ’ छस् अहिले?” “योकोहामा गा’थें, फर्केर भर्खर आईपुग्दैछु।“ “त्यो अस्ति नयाँ वर्षको नाच याद छ नि तँलाई हैन?” “छ, छ!” चन्द्रकुमार हौसिएर करायो। “क्या च्वाँक थी’ पातली यार!” “सा----ला बोका! किन बिर्सिन्थिस् त?! हा हा हा!” “भन् न कुरो के हो?” “भोलि दिऊँसो एमी केनमा कार्यक्रम र’छ नेपाली समाजको, पातलीको डान्स पनि छ रे। तँ अहिले यतै आ। भोलि संगै जाऊँला।“ चन्द्र कुमारले हतारिँदै ढोका खोल्यो। कोट-पाईण्ट-टाइ-शर्ट फुकालेर ओछ्यानमाथि फाल्यो। हतार हतार हात-मुख धोयो र जिन्सको पाईण्ट र टि-शर्ट भिरेर बाहिर निक्ल्यो। बाहिर हल्का चिसो भएपनि जूनेली रात थियो। कुनै पुरानो नेपाली गीतको धून सुसेल्दै चन्द्र कुमार शहरको पल्लो छेऊतिर जाने बस कुरिरहेको थियो। ************************************************
Read Full Discussion Thread for this article