Posted by: Ok November 1, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
*Thank you for bringing this thread back!* मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके भाग २ खण्ड ३९ दुई हप्ता बितिसक्ता पनि कामको केही अत्तोपत्तो नलागेपछि मैले पुरै आस मारेँ। अन्त केही सिप नलागेपछि अन्तिम विकल्पस्वरुप डम्मरकी दिदी-भिनाजुलाई “मलाई पनि गलैंचा कारखानामा काम लगाईदिनु न” भनेर अनुरोध गरेँ। शुरुमा त “क्याम्पस पढ्न आको मान्छे काहाँ गलैंचा कारखानामा काम गर्ने, हामी पो वेलैमा पढिएन र यस्तो विजोकले काम गर्नु परेको छ” भनेर भिनाजुले गाली गर्नुभयो। तर मैले “बाँच्न नै नसक्ने अवस्था आएपछि त गर्नुनै प-यो भनेर” भनेपछि गलैंचाको साहुलाई भनेर काम खोजीदिनु भयो। काठमाण्डौ आएको दुईहप्ता पछि गलैंचा कारखानामा काम गर्न थालेँ। शुरुमा गलैंचाको काम सिक्न निकै गाह्रो भयो। शुरुको १ हप्ताको पैसा दिएन साहुले, सिकेको भनेर। त्यतिखेर सम्म म काठमाण्डौ आँउदा लिएर आएको पैसा पुरै सकिईसकेको थियो। दिउँसो खाजा खाने पैसा पनि हुँदैनथ्यो। गलैँचा बन्ने साथीहरु खाजा खान भनेर निस्किन्थे, म चाहिँ गलैँचा बुनिहरन्थेँ। गलैंचा बुन्न जानेपछि चाहिँ दिनको ३० रुपैंया दिन थाल्यो, साहुले। अलिअलि आफूलाई खाजा खान राखेर बाँकी पैसा सबै लगेर डम्मरेकी दिदीलाई दिन्थेँ। एक महिना गलैँचा कारखानामा काम गरेपछि बजारमा उनको धागो सकियो भनेर कामदार निकाल्ने कुरा ग-यो साहुले। पुराना र सिपालुलाई प्राथमिकता दिने भनेर शुरुमै म निकालिएँ। कारखानामा सबभन्दा पछि काम गर्न थाल्ने म नै थिएँ। म भन्दा अगाडि काम शुरुगर्ने दुई जनालाई पनि निकाल्यो साहुले। त्यसपछि पनि भिनाजुले नै एउटा ठेकेदारसँग काम खोजिदिनु भयो, घर बनाउने ईटा बोक्ने काम। सडकको छेउमा ट्रकवाट झारेका ईँटालाई डोकामा बोकेर घर बनाउने ठाउँसम्म पु-याउँथे। काठमाण्डौ उपत्यका दिनप्रतिदिन चिसिँदै गईरहेको थियो। काठमाण्डौ गएर क्याम्पस पढ्ने सुनौलो सपना बोकेर आएको एक युवक विहानै उठ्थ्यो, उसँगै सुतेका अरुहरु नबिउँझिदै। सिरानीबाट नाम्लो निकाल्थ्यो र कोठाबाहिर सागबारीमा हिजो बेलुका अवेला फर्कँदा आफैँले राखेको डोकोलाई बोकेर बाटो लाग्थ्यो। चिसिँदै गएको भूइँमा खालीखुट्टा दिनभरी ईटा बोक्थ्यो। बेलुका उसैगरी फर्कन्थ्यो। साहुले पैसा दिएको दिन उसले आफैलाई सबभन्दा भाग्यमानी सम्झन्थ्यो। त्यो युवक म नै थिएँ र मेरो दैनिकी यहि थियो। तर यो पनि क्षणिकमात्र भयो मेरा लागि। पन्ध्रदिनपछि नै एउटा घरको ढलान गर्ने दिन आयो र मलाई पनि अरु कामदारसँगै घरको ढलान गर्नु भन्ने उर्दि ग‍-यो ठेकेदारले। पहिलोपटक मेरा ति हातले सिमेन्टको कराई उचाले। बेलुकादेखि हात पोल्न थाल्यो। भोलिपल्ट बिहान त सुनिएर कोलजत्रै भए दुईटै हात। दुईदिन काममा जान सकिन। ठेकेदारले निकालिदियो, कामबाट। शुरुमा काम गरेको गलैंचा कारखानामा केही साथीहरु बनाएको थिएँ, उनीहरुलाई कुरा गरेँ, काम नपाएको। एकजना साथीले उन कारखानामा काम खोजिदियो, चर्खा चलाएर गलैँचाको लागि उनधागो कात्नु पर्ने। बजारमा फेरि ऊन अलिअलि देखापर्न थाल्यो। उनको चर्खा चलाउन चाहिँ गलैंचाको तान भन्दा सजिलै लाग्यो। छिट्टै सिँके त्यो काम चाहिँ। त्यसपछि भने मलाई अलिक सजीलो भयो। नयाँ ठाउँमा नयाँ साथीहरु बनाएँ। काभ्रेपलाञ्चोकको बिकट गाउँबाट आएको त्यहि उन कारखानामा काम गर्ने मोहन बस्नेतसँग चिनजान भयो। दिनहरु बित्दै जाँदा हामी दुबै निकै घनिष्ट भयौँ, सबै कुराहरु सेयर गर्यौँ। २०४८ साल मंसिर १ गते आईतवारबाट म पनि उसँगै बस्न थालेँ, चुच्चेपाटीको भित्र एउटा सानो कोठा लिएर। कोठाको मासिक भाडा ४०० रुपैंया तिर्नु पर्थ्यो, आधि-आधि तिर्थ्यौँ। व्यक्तिगत खर्च बाहेक दुबैले एउटा कपीमा लेखेर राख्थ्यौँ र महिनाको अन्त्यमा हिसाब गरेर पैसा मिलाउँथ्यौँ। अब फेरि काठमाण्डौमा बाँच्न सक्ने वातावरण बन्यो, कमसेकम खान र बस्न नपाएर सडकछाप हुनु त परेन। साझाल्याण्ड, १४ कार्तिक २०६३
Read Full Discussion Thread for this article