Posted by: CaMoFLaGeD September 22, 2006
Login in to Rate this Post:
0
?
"बिर्सन खोज्छु झन याद आउछ ....." नबिन के भट्टराईको गाना बजिरहेको थियो मेरो गाडीमा।
म गाडी कुदाई रहेको थिएँ। मेरो पछाडी सिटमा बसिरहेको निश्चयले नबिन के भट्टराई सङै त्यो गाना गाइरहेको थियो।
मेरो छेउको सिटमा बसिरहेको राज आफ्नो छोराको गाना सुनेर मख्ख परिरहेको थियो।
गाना गाउँदा गाइरहेको निश्चय एक्कासी गाना गाउन छोड्यो।
"कुम्ले अंकल! कुम्ले अंकल!! म कसरी यस्तो राम्ररी गाना गाउँन सक्ने भएँ?" निश्चयले मलाई सोध्यो।
म अक्क न बक्क भएँ। "लौ अब के भन्ने होला मैले?" मेरो दिमागमा यहि प्रश्न खेल्यो एकैछिनको लागी।
"ए बुझेँ! बुझेँ!! म स्कूल जान थालेको भएर मलाई गीत गाउन आएको होला है कुम्ले अंकल?" मलाई सजिलो बनाउदै उस्ले मलाई भन्यो।
"हो हो बाबु तिमी स्कूल जान थालेको भएर तिमीलाई यस्तो गाना गाउन आएको।" मलाई प्रश्नको उत्तर पाएकोमा खुसि लाग्यो।
गाडीमा त्यो गाना बजिरहेको थियो। निश्चय एकछिन चूप लागेर बस्यो। सायद केहि सोचिरहेको होला।
अनि फेरि एक्कासी भन्यो, "बाबा! हजुर पनि म सङ्गै स्कूल जानु न ल भोलीदेखि, अनि हजुर पनि म जस्तै राम्ररी गाना गाउन सक्नुहुन्छ"
राज छक्क परेर उसलाई हेर्यो। म भने त्यो तीन बर्षे बालकको कुरा सुनेर हाँस्दै गाडी कुदाइ रहेँ।