Posted by: sinkiachar September 9, 2006
AHA KYAA MITHO LEKH
Login in to Rate this Post:     0       ?        
संगीत, अनुभव र जीवन अम्बर गुरुङ के भएर होला, कहिलेकाहीं म आफ्ना बारेमा अलिक बढी सोच्ने गर्दोरहेछु । कुनै प्रयोजन तथा आत्मविवेचन गर्नलाई होइन, त्यत्तिकै म सोचमग्न बनिरहेको हुन्छु । मैले संगीत पनि नगरेको भए म झनै 'असामान्य-सामान्य मान्छे' हुन्थेँ होला । संगीतको यत्रो लामो यात्रामा मैले गीत पनि गाएको छु र निकै गीत लेखेको छु । त्यसबाट मैले केही नाम पाएको छु । यो प्रसिद्धिको सन्दर्भमा डेनियल बेरेबोरिथमले के भनेका छन् भने 'महान् मान्छे प्रसिद्ध पनि हुनसक्छ, तर प्रसिद्ध मान्छे महान् पनि हुनसक्छ भन्ने कुनै तुक छैन ।' यो भनाइ साँच्चिकै मार्मिक र सत्य छ, त्यो अनुभव मलाई पनि हुन्छ । मैले माथि भनेजस्तो आफ्नो बारेमा सोचविचार गर्दा आफूले पाएका धेरै दुःख र थोरै सुखमा सोचाइ केन्दि्रत हुनेरहेछ । म बुझ्न सक्दिन, किन त्यसबेला मलाई थाहा हुँदैनथ्यो कि हरेक सुख-दुःख भोलि गएर क्रमशः विस्मृतिमा जानेछ । सम्भवतः दुःखदेखि तर्सिएर होला, म सानो भए पनि सुख पाउन खोज्छु । म दुःखलाई थालको भात र सुखलाई बटुकाको तरकारी सम्झन्छु । र त्यही सानो बटुकाको तरकारीका भरमा थालभरिको भात सिध्याउँछु । कस्तो अचम्म छ भने थालभरि तरकारी र बटुकाभरिको भात खान मलाई रूचि हुँदैन । हरेक दुःखले मलाई केही बलियो बनाएको छ । तर के त्यसले मलाई साहसी पनि बनाएको छ ? यकिन गरेर म भन्न सक्दिन । एकपटक मैले एउटा बडीबिल्डर देखेको थिएँ, जसको शारीरिक गठन यति आकर्षक थियो कि मलाई गानाबजाना छाडेर बडीबिल्डिङपट्ट िपो लागौं कि जस्तो भएको थियो । पछिबाट सुनेँ कि त्यो बडीबिल्डर मैदानमा भने एकदमै काँतर र डरछेरुवा थियो रे ! हुन पनि दैहिक शक्ति पनि अत्यन्त महत्त्वपूर्ण हो, तर त्यसमा विचारको समिश्रण भएन भने मान्छे एउटा रोबोर्टजस्तो मात्रै हुन्छ । अम्बर गुरुङको संगीत अलिक बढी पश्चिमेली शैलीबाट मुखरित हुन्छ भन्ने म बेलाबखत सुन्ने गर्छु । यसबारे मलाई भन्नपर्ने खास कुरा छ जस्तो लाग्दैन । कारण यो मेरो अध्ययनको विषय पर्‍यो । जस्तो कि कुनै जातिको साहित्य तथा कलालाई समुन्नत बनाउनलाई अर्को जातिको साहित्य अथवा भनुँन विश्व साहित्यको पठनपाठन गर्नु के अनुपयोगी हो र ? हो, मैले त्यही गरेको हुँ । के टाइसुट लगाउँदैमा हामी अनेपाली भइहाल्छौं ? के अमेरिकी अथवा कुनै विदेशीले दौरासुरुवाल लगाउँदैमा उनीहरू नेपाली भइहाल्छन् ? कुनै पनि जातिको परिचयात्मक विशिष्टता त बरु उसको विचार, भावना र अन्तरज्ञानमा पो निर्भर रहन्छ । यही सन्दर्भमा मलाई एउटा घटनाक्रमको कुरा गर्न मनलागेको छ । कुरा त्यो बेलाको हो, जतिबेला छोरो किशोर सानप|mान्सिस्कोमा अध्ययनरत थियो । त्यो बेला ब्रायन कुक भन्ने अत्यन्त राम्रो जाज पियानिष्टसँग उसको मित्रवत सम्बन्ध गाँसिएछ । ब्रायन कुक पिसकोरको कार्यक्रममा पहिले नै एकचोटी नेपाल आइसकेका रहेछन् । दोस्रोपटक नेपाल आउँदा उनी मलाई भेट्न मेरो कार्यालयमा आए । त्यसमा दुई कारण रहेछ, पहिलो-किशोरले उसको कान्छो भाइ शरदलाई पियानो वादनसम्बन्धी केही टेक्निक र दुई-चार पाठ पनि दिन भनेर आग्रह गरेको रहेछ । दोस्रो- ब्रायनले मलाई पनि भेट्न चाहेका रहेछन् । पहिलोचोटी नेपाल आएर बसोबास गर्दा एउटा संगीतकारको मनोइच्छाले गर्दा नेपाली संगीतबारे उनलाई जिज्ञासा जागेको रहेछ, जो स्वाभाविक हो । त्यही क्रममा कुकले मेरो नाम सुनेका रहेछन् । त्यही साँझ मैले उनलाई आफ्नो घरमा लगेँ । उनले शरदलाई केही टेक्निक बताए र त्यही क्रममा मैले उनलाई मुड छ भने केही बजाउने अनुरोध गरेँ । उनले एउटा छोटो टुक्रो बजाए पनि । त्यो टुक्राले मेरो अन्तरमनलाई यसरी स्पन्दित गर्‍यो कि मेरा आँखा रसाए । पियानोको टुल -मेच) देखि फनक्क मतिर फिरेर उनले मलाई सोधे- 'कस्तो लाग्यो यो संगीत ?' 'मेरो जीवनमा तपाईंजस्तो प्रस्तुतकर्ताको एकदम नजिक बसेर सुन्न पाएको यो पहिलो अवसर हो, तपाईंको प्रस्तुतिले मेरो अन्तरआत्मा छोयो', मैले यत्ति नै भनेँ । त्यसपछि ब्रायन एकछिन घोरिए र भने- 'मिस्टर गुरुङ -मेरो छोराका साथीले मलाई यसरी नै सम्बोधन गर्छन्), तर मेरो यो संगीत अमेरिकामा चलेन । वास्तवमा म स्वयम् आश्चर्यमा छु कि आखिरमा हाम्रो अमेरिकाले कस्तो संगीत चाहेको हो ? के व्यावसायिक संगीत हाम्रो एकमात्र अन्तिम विकल्प हो त ? के संगीत आत्मपरक हुँदैन र ?' तेस्रोपटक नेपाल आउँदा पनि ब्रायन मलाई भेट्न आएका थिए । केही बेरको भलाकुसारीपछि उनले आफ्नो पर्स खोलेर एउटा फोटो देखाए, जसमा उनले सोम्ब्रेरो -मेक्सिकन ह्याट) र टाटेपाङ्ग्रे कमिज लगाएका थिए । त्यो आवरणमा उनी पियानो बजाइरहेका थिए । 'कस्तो लाग्यो यो फोटो ?' उनले एकैसासमा सोधे, जुन सोधाइमा आफैंभित्र एउटा व्यङ्गय लुकेको थियो । म हाँस्नै लागेको थिएँ, उनले भन्न सुरु गरिहाले- 'मिस्टर गुरुङ, म एउटा कलाकार हुँ, मनोरञ्जनकर्ता होइन । तर जीवनयापन गर्नेले संगीतकै सहारा लिनुपर्ने हुन्छ । हो, जीवन धान्नलाई म होटेलमा बजाउँछु । तर मैले चाहेजस्तो संगीत त्यहाँ चल्दैन, किनभने म स्वतन्त्र छैन । त्यसैले उनीहरू जे बजा भन्छन्, म त्यही बजाउँछु र जस्तो खाले कपडा लगा भन्छन्, म त्यही लगाउँछु । हो, नेपालीहरू हामी अमेरिकीभन्दा धेरै गरिब छन्, तर तपाईंहरूमा एउटा खुबी छ र त्यो के भने तपाईंहरू गरिबीसित डटेर जुझ्न सक्नुहुन्छ, तपाईंहरू गरिबीसित डराउनुहुन्न । हामी गरिबीसित डराउँछौं र छिट्टै धेरै धनी हुन खोज्छौं । तपाईंहरू समयलाई पर्खेर काम फत्ते गर्न सक्नुहुन्छ, किनभने तपाईंहरूमा सहनशीलता र धैर्य छ । हामी समयलाई पर्खन सक्दैनौं, किनकि समय हाम्रालागि पैसा हो । र हामीसित न धैर्य छ, न सहनशीलता नै ! टाढाबाट देखेको अमेरिका र भोगेर अनुभव गरेको अमेरिकामा ठूलो भिन्नता छ । त्यसैले मलाई नेपाल आइरहन मनलाग्छ । मौका मिल्नासाथ म नेपाल आइहाल्छु पनि, यताबाट फिर्दा प|mेस भएर फिर्छु । जबजब म निराशाको चरमविन्दुमा पुग्छु, म नेपाल र नेपालीलाई सम्झन्छु-विशेष गरेर किशोर र तपाईंलाई । म देखिरहेको छु- संगीत गरेर तपाईंहरूको आर्थिक स्थिति कहिले पनि स्थिर भएको छैन, तर तपाईंहरू निरन्तर संगीत गरिरहनुहुन्छ । तपाइर्ंहरूको साधनाक्रम अटुट र अविरल छ । हो, त्यसैले मलाई ठूलो हौसला दिन्छ र त्यसैको सिको गरेर म संगीत गर्न प्रेरित हुन्छु ।' उनका कुरा सुनेर मेरो हृदय भित्रैबाट विदीर्ण हुन्छ । उसबेला भन्न मनलागेको थियो, ब्रायन ! तिमीले भनेको कुरामा केही सत्य अवश्य भए पनि हामीमा प्रशस्त अवगुण पनि छन् । -तर भन्नै सकिन ।) बरु उनलाई के भनेंँ भने 'ब्रायन, आज मकहाँ जाऊँ, तीतो-मीठो जे छ, सँगै खाऊँ, तिमीसँग धेरै कुरा गर्नुछ ।' ब्रायन अत्यन्त विनित भएर भन्छन्- 'धेरै-धेरै धन्यवाद मिष्टर गुरुङ ! तर आज म जान सक्दिन, किनभने भोलि बिहानै म ट्रेकिङमा जाँदैछु र आज राति चाँडै सुत्नुपर्छ । यसपाला म लगभग एक महिनाजति ट्रेकिङमा रहनेछु । तपाईंहरूको सफा नीलो आकाशमुनि हरिया पहाड, सेता-सेता हिमशृङ्खला, अविराम बगिरहेका स्वच्छ र निर्मल खोला, सरल र सुन्दर गाउँ हेरेर म कृत्रिमतादेखि हजारौं कोष टाढा पुगिसकेको हुनेछु । मलाई विश्वास छ, यसले मलाई एकप्रकारको शक्ति सञ्चार गरिदिनेछ र त्यसबेला मेरो संगीतले एउटा नयाँ आयाम पाउनेछ ।' यसो हेर्छु- सामुन्ने बसेको उनका आँखा भिजेका छन् र मेरो पनि । हामी भालु-अंकमाल गछौर््रं । छिनमै उनी विदा हुन्छन् । म झ्यालबाट उनी ओझेल नभइन्जेल हेरिरहन्छु र सोच्न थाल्छु- हामी विपन्नहरूले पनि सम्पन्नहरूलाई केही त दिन सक्दारहेछौं । योभन्दा ठूलो आश्वासन हालका लागि अरू के होला र ! __KANTIPUR
Read Full Discussion Thread for this article