Posted by: gwanche September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
'बाबु घरको छानो चुहिनलाग्यो, केही पैसाको जोरजाम हुनसक्छ भने, जतिसक्दो चाँडो पचास हजार रुपैयाँ जसरि भए पनि पठाइदे न ।' आज बिहानै बाबाको फोन आयो नेपालबाट । ए..........माफ पाँउ है, सुरुमै मेरो परिचय दिन बिर्सेको, म नेपालमा हुँदा श्याम सिंह क्षत्री, अहिले जर्मनीमा चाँइ, राजु रिजाल । मेरो घर पच्छिम नेपालमा पर्छ, गण्डकी अञ्चल, जिल्ला चाँइ नवताउं क्यारे । सबै जनालाइ पुरै परिचय पनि दिनु हुँदैन, जमाना खराब छ, पछि के पर्छ के पर्छ । नरिसाउनुस् न..........., तपाईं तिर होइन क्या मेरो इसारा, कुरा के भने म यहाँ जर्मनीमा झुठो केस गरेर बसिराखेको छु, भुटानी सरणार्थी भनेर । यदि कसैले मेरो वास्तबिक परिचय खोली दियो भने, मैले नेपाल फिर्ता जानु पर्ने हुन्छ, शायद जेल पनि हुन्छ होला । गाँउमा मेलापात गर्दै हुर्केको म । हुन त हाम्रो परिवार खानदानी नै हो, हजुरबा त गाँउको सानो तिनो जिम्दार नै हुन । तर तपाईंलाइ थाहा भएकै कुरा हो गाँउमा जतिसुकै सम्पन्न परिवार भए पनि सबैले आ-आफ्नो भागको काम त गर्नै पर्छ । अहिले पनि प्रसस्त जमीन छ हाम्रो, तर के गर्ने खेती गर्ने मान्छे नभएर पुरै बाँझै छ । हजुरबा बित्नुभएपछि, बुवाले सम्हाल्नुभो परिवारको नेतृतव । खास भन्ने हो भने परिवार पनि ठुलो होइन हाम्रो, बुवा, आमा, म अनि बहिनी, चार प्राणी मात्रै । जसरि भए पनि बुवाले स्कुल पठाउनु भयो बहिनी र मलाई । मेरो बहिनी पढाईमा असाध्यै राम्री, मेलापात गर्न जाँदा पनि किताब कलम संगै लिएर जाने । म पढाइमा तेती राम्रो नभए पनि जसोतसो एस्एल्‌सी चाँइ पास् गरे । बहिनीको त आठ क्लासमा पढ्दै बिहे गरिदिनुभो बुवाले । अझै पढ्न रहर गरेरहेकी थिइ, तर गाँउ घरको कुरा तपाईंलाइ पनि थाहा नै छ होला, हैन । १३-१४ बर्ष भए पछि छोरी मान्छे त बोझ जस्तै हुन्छ बाबु आमाको लागि । तेतिबेला पढ्न नपाए पनि अहिले मेरी बहिनी महिला सहकारीको अध्यक्ष छिन्, आफ्नो गाँउमा, आफु जस्तै महिलाहरुलाइ सिपमुलक ब्यबसाय गर्न प्रोत्सहित गर्छ मेरो बहिनीको सहकारीले । मेरी बहिनीले पनि बिभिन्न ब्यबसाय गरेर घर खर्च टार्ने राम्रै आम्दानी गर्छिन रे । गाँउ घरमा राम्रै छबी बनाएकी छिन मेरी बहिनीले । पोहोर साल आमा बिरामी हुँदा पनि बुवाले फोन गर्नु भएको थियो । अह्, केही सहयोग गर्न सकिन मैले, बहिनीले नै काठमाडौं लिएर गइन रे । एक महिना अस्पतालमा राख्नु पर्‍यो, सबै खर्च बहिनीले नै ब्यहोरिन रे । तैपनि आमालाइ बचाउन सकिएन । आमाको अन्तिम दर्शन गर्न पनि जान सकिन मैले, बहिनीले नै कृया गरिन रे । म गाँउ घरमा हुँदा खेरी देखि नै ठुला-ठुला सपना देख्ने गर्थे । आकाशभन्दा माथि पुग्ने अनि बादलसँग खेल्ने सपना । बढी मेहेनत नगरि धेरै सफलता पाउने कल्पना गर्थे । यस्तै सपनाहरुको प्वाँख लगाएर आज म यहाँ पुगेकोछु, बिरानो मुलुकमा, मेरो गाँउ भन्दा हजरौं कोश टाढा, बेग्लइ भाषा, भेष अनि सँस्कृति भएको देशमा । बुवाले भन्नु भएको थियो, 'छोरा अब एस्एल्‌सी पनि पास गरिहालिस्, यै गाँउको स्कुलमा पढाउने काम पनि गर्, तेरो हजुरबाले धेरै ठुलो कसरत गरेर खोलेको स्कुल, अनि बिहानि कक्षामा क्याम्पस पनि पढ्' । तर मेरो रणनिती बेग्लइ थियो, बिदेश जाने, धेरै पैसा कमाउने अनि सुख सयलको जिन्दगी बिताउने । लाग्थ्यो बिदेशमा पैसा फल्ने बोट हुन्छ, जती टिपे पनि हुन्छ....... कति गलत थिए म । तपाईंलाइ झर्को त लागेको छैन, मेरो गन्थन सुनेर ? के गर्ने मनको ब्यथा कसैसँग पोख्यो भने अलि कम हुन्छ रे । सुख जती बाँड्यो त्यती बढ्छ अनि दु:ख जती बाँड्यो त्यती घट्छ रे, साँच्चै हो रहेछ । आज तपाईं कताबाट आइपुग्नु भयो मेरो अगाडि भगवान बनेर्, मेरो मन भित्रको उकुस-मुकुस् केही हद सम्म भए पनि शान्त पार्न । जसोतसो आइपुगे म सपनाको देशमा, सजिलो पक्कै भएन यहाँ सम्म आउन । गाँउमा केही जग्गा पनि बेच्नु पर्‍यो, बाटो भरि पाएको दु:खको कुरै नगरौ, अर्को एउटा कथा बन्छ, मौका मिल्यो भने त्यो पनि भनौला कुनै दिन । गार्हो रहेछ असाध्यै गार्हो परदेशमा जीवन निर्वाह गर्न । आफु पर्यटक भिसामा आएको, केही काम गर्न नपाउने । क्याम्पसमा भर्ना गरौं भने योग्यता पुग्दैन । अनि गर्नु पर्‍यो झुठो केस, भुटानी सरणार्थीको । त्यही मौकामा यतै तिर चिनेको एउटा दाइले एउटा बुल्डोजर् ( कसैलाइ होच्याउन प्रयोग गरेको होइन यो शब्द मैले, त्यही दाइले प्रयोग गर्नुभएको शब्द मैले टपक्क टिपेर यहाँ राखेको हुँ, तपाईं सामु) मिलाइदिनु भयो । बिहे गरियो त्यही बुल्डोजरसँग । तीन बर्ष बिहे गरेर बसिसकेपछि यहाँको नगरिकता पाउँछ रे, त्यो दाइले पनि त्यसरि नै नागरिकता बनाउनु भएको रे । एक बर्ष त भइसक्यो मेरो पनि । कागज बिना काम गर्नुलाइ कालोमा काम गर्नु भन्दा रहेछन यहा, हो म पनि १२-१३ घण्टा कालोमा काम गर्दैछु । हुन त नेपाल तिर म जब गर्दैछु भने पनि गर्नु पर्ने काम त्यही हो, भाँडा माझ्नु, भुँइ सफा गर्नु, तेस्तइ परे टोइलेट पनि सफा गर्नु, आदी, इत्यदि । यस्तो काम नेपालमा कहिल्यै गरेको थिइन्, पहिला त अप्ठ्यारो लाग्थ्यो, अब त बानी परिसक्यो । कागज नभएको भएर पैसा पनि छैन, मेहनत गरे अनुसार । फेरी खर्च पनि धेरै नै छ । श्रीमतीले केही काम गर्ने हैन, सुत्यो, खायो, सपिङ गर्‍यो, टि भि हेर्यो बस् । घरमा पनि सबै काम मैले नै गर्नु पर्छ । तीन बर्ष सम्म त सेवा गर्नै पर्‍यो, त्यस पछि देखाजाएगा । तर फेरी सोच्छु, तीन बर्ष सँगै बसेपछि छोड्न सकिएला र, नेपाली मन न हो । सँगै बसेपछि जनावरर्को त माया लाग्छ भने............. खै के गर्ने के गर्ने थाहा छैन । फेरी घरमा बुवा पनि डाँडा माथिको घाम बनिसक्नुभएको छ, मैले तीन बर्ष पछि पैसा कमाउन सके पनि कस्को लागि कमाउने । जती बेला मेरो बुवालाइ मेरो सहाराको जरुरत छ, त्यती बेला बुवाको सहारा बन्न सकिएन भने बुवा नभएपछि, बुवाको श्राध्य मात्रै गरेर के काम । तै अलि अलि भए पनि बहिनीले बुवालाइ हेरिराखेकी छे भन्ने कुरा सोचेर मन अलि हलुङो हुन्छ । अस्तिको हफ्ता मेरी श्रीमतीले किचनको फर्निचर किनेर ल्याइन्, ३००० युरोको सेट २५००मा थियो रे, गर्मीको अफरमा । ५०० युरो फाईदा भयो रे । छ महिना पहिला मात्रै किनेको त हो नि पुरानो सेट पनि । तै एउटा ईण्डियन साथीले आफ्नै गाडी ल्याएर सबै पुरानो समान लिएर गयो, नत्र फालेको पनि पैसा तिर्नु पर्थ्यो । अहिले पनि म एउटा माइक्रो वेभ ओभन फाल्न जान लागेको, अस्तिको किचेनको सेटसँग आएको । मेरो श्रीमतीलाइ मन परेन रे त्यो, त्यस्को कालो रंग किचेनको भित्तासँग म्याच भएन रे, उनिलाइ सेतो माइक्रो वेभ चाँहीयो रे । हिजै किनेर ल्याइ सकिन्, ३५० युरो तिरेर । ओहो, समय पनि धेरै भइ सकेछ, म त एकै छिनमा आउँछु भनेर निस्केको, तपाईंलाइ भेटेर आफ्नो कथा बताउन बसेको समय बितेको थाहै भएन । फेरी घरको सबै काम सिद्ध्याएर रेस्टुराँको काममा पनि जानु छ । हस त फेरी भेट भयो भने फेरी मनको बह पोखौला । तर एउटा कुरा भनौ तपाईंलाइ अहिले पनि मेरो कानमा बुवाले बिहान फोनमा भन्नु भएको कुरा नै गुन्जिराखेको छ .................... 'बाबु घरको छानो चुहिनलाग्यो, केही पैसाको जोरजाम हुनसक्छ भने, जतिसक्दो चाँडो पचास हजार रुपैयाँ जसरि भए पनि पठाइदे न ।'
Read Full Discussion Thread for this article