Posted by: Gautam B. September 6, 2006
Login in to Rate this Post:
0
?
हुनत एकै वर्षको कुरो हो, तर चौतारीमा धेरै कुरा सुनियो, धेरै कुरा सुनाईयो। जे होस् बडो रमाईलो भयो। झगडा एकजनासंग पनि परेन, पर्न पर्न आँटेका झगडा पनि टरेर गए।
हुनत मैले साझाको बारेमा थाहा पाएको ज्ञानेले कालो माघ १९ घटाएपछि हो। अउंरिका बस्नी घिमिरे थरको एउडो बडो हितैषी जिक्री दोस्तले "ल यो लिंक पनि हेर् गोतामे-" भनेर साझातिर जाने सूत्र बिजुली चिठ्ठी बाट हो कि 'बिजुली बात मार्दा' (च्याट गर्दा) मतिर हुर्रयाएको थियो। बेला बेला साझा पसेर नेपालको खबर केहि छ कि भनेर हेरिन्थ्यो, विशेष गरी नेपालको फोन, इन्टरनेट आदि बन्द भएको बेला।
साझामा सकृय हुनै परो अब त भनेर खाता खोलेर आऊँदाचैं भावी चौतारीको भ्रुण सलबलाउन थालिसकेको थियो। भउते हराईसकेको थियो र भउते हराएको इस्सोरको सूचना पढेर भउतेको खोजी गर्नेहरुको ताँती लागिसकेको थियो। एक दुई खोकी मैले पनि खोकेको थिएं।
नमेले चौतारी शुरु गरपछि एक दुई संस्करण त रमाईलो मानेर पढेर मात्रै बसियो। सिरे, पुण्टे दाई, दादा, भउते, इस्सोर, नमे आदिका ग्रामीण लोक बोलीका कुरा पढेर हाँस्नु हाँसिन्थ्यो। दुई चार अंक पछि मैले पनि अलि अलि गफ छाँट्न थालें। तेतिखेर चौतारीमा आउने बेंसीथाने, उसे, परदेशी दाजै, लाहुरे दाई आदि अचेल देखिन्नन्। सिरे, लाले, मुन्द्रे र काका भएपछि असाध्यै रमाईलो गर्थे,अचेल नाक मुख देखाउन्न्।
जिम्मालको भूमिकाको प्रवेशपछि चौतारीले एउटा साँच्चै ठूलो गाऊँको रुप लियो र यसमा पसेपछि सबैको आ-आफ्नो भूमिका छुट्टिन थाल्यो। शुरुमा केटै केटा भएकोले अलिक पात्तिएका छेडखान पनि हुन्थे। पछि मिस आउनुभयो र सबै ठीक ठाऊँमा आए। डल्ली फूपू पनि धेरैनै आउनुहुन्थ्यो पहिला । अहिले ठूल्नानी, सान्नानी, तिरुको उपस्थितिले चौतारीलाई झन रमाईलो बनाएको छ।
यो गन्थनलाई सकौँ है त। अचेल नआउने गाम्लेहरुलाई धेरै धेरै सम्झना यो गोतामेको तर्फबाट!
अहिले पनि चौतारीमा दु:ख सु:खका कुरा गर्न आउने गाम्लेहरुलाई त के भनी रहनु पर्छ र? यहाँहरुकै लागि ज्यान हाजिर छ! अब आउने नया गाम्लेहरुलाई मुटुदेखिकै स्वागत!