Posted by: CaMoFLaGeD August 30, 2006
~ चौतारी २४ ~
Login in to Rate this Post:     0       ?        
"अझै पनि आएको छैन, झन चाँडो आउनु भनेको त किन ढिलो गरेको होला" मुना कुचो हातमा लिएर बाहिर कौसीसम्म आएर बाटोतिर हेर्दै थिइन्। बिहानै देखि मुनालाई अनौठो किसिमको अनुभव भैरहेको थियो। उनले बिहानै पुरै घर कुचोले सफा गरिसकेकी थिइन्। एकछिन कौसीबाट बाहिर हेरेर उनि फेरि घरभित्र पसिन् अनि फेरि कोठा सजाउन थालिन्। पाँच बर्ष पहिले बिहे हुनु अघि मुनाको रूपको बयान नगर्ने त्यो गाँउमा कोहि पनि थिएनन्। उनि सार्‍है राम्री। त्यहि भएर होला उनि १७ बर्ष नपुग्दै उनको हात माग्न गाँउका मुखियाका छोरा आफैँ आएका थिए। मुखियाको छोराको कुरालाई गाँउमा "हुन्न" भन्ने को होला? गाँउका सबै भन्दा धनी हुन् मुखिया बा। मुनाका बा आमा सार्‍है खुसी थिए मुखियाको घरमा नाता गाँस्न पाएकोमा। मुनापनि सार्‍है खुसि थिइन् धनी घरकी बुहारी हुन पाएकोमा। "१५ बर्ष जेठो भएर के हुन्छ त? केटा मान्छे सधैँ तन्नेरी हुन्छन्" आमाले भनेको कुरा उनलाई एकदम चित्त बुझेको थियो। धनी घरकी बुहारी हुनुको मज्जा लिँदा लिँदै पाँच बर्ष बितेको पत्तै भएन। बिहान बेलुका श्रीमानलाई खाना पकाउनु अनि आफ्नो कोठा सफा गर्नु बाहेक उनको खासै केहि काम थिएन। त्यहि भएर उनि दिनभरी आफ्नो कोठाको झ्यालबाट बाहिर हेर्थिन्। उनको झ्याल बाहिर उनीहरुकै बारी थियो। असार महिनामा सबैतिर खेती लाउन धमाधम काम भैरहेको थियो। त्यो दिन उनको झ्याल बाहिर एक हल गोरु ल्याएर हर्केले हलो जोत्न शुरु गर्यो। उनलाई हर्केले काम गरेको देखेर रमाइलो लागिरह्यो। उनले हर्केको काम चाख दिएर हेरिरहिन्। हर्केले गोरुलाई बेतको लठ्ठीले हिर्काउदा उनलाई पिडा महसुस् भयो। "कस्ता निस्ठुरी हुन्छन् केटा मान्छेहरु" उनलाई हर्के मनपरेन। त्यहि पनि उनले आफ्नो आँखा त्यो दृश्यबाट झिकिनन्। आज अनौठो किसिमको रमाइलो भैरहेको महसुस् गरिरहिन्। हर्केले हलो जोतिसकेर नालबाट गोरुहरु फुकायो। अनि छेउमा रहेको कोदालो लिएर आली लाउन सुरु गर्यो। आली लाउदा निस्केको हिलोको छप्ल्यांग छप्ल्यांग आवाज भित्र उनि त्यसै हराइरहिन्। हिलोको छिटाहरु आफु सम्म आइपुगेको महसुस् गरिरहिन् अनि रमाइरहिन्। भोलीपल्ट बिहानै मुनाले आफ्नो श्रीमानलाई खाजा बनाउदा अलि धेरै बनाउन मनलाग्यो, त्यहि भएर पिठो अलि बढि मुछिन्। त्यो दिन रोटि पनि सार्‍है राम्रो बन्यो अनि तरकारीपनि अत्यन्त मिठो। उनले कान्छीलाई बोलाएर बढि भएको रोटी तरकारी त्यो हर्केलाई दिनु भनेर पठाइन्। हर्केले खेतबाट उनको झ्यालतिर हेर्यो अनि खिसिक्क हाँस्यो। मुनालाई उसको हँसाई सार्‍है राम्रो लाग्यो। हिजो बेलुका उनको श्रीमानले हर्केलाई साथमा लिएर आए अनि उनलाई भने, "मुना, म भोली बिहानै सहर जानुपर्ने छ, खेतमा बिउ छर्नको लागी भनेर राखेको धान छ माथि बुइकलमा, उसलाई भोली बिहान तीन पाथी नापेर दिनु है!" मुनाको मन प्रसन्न भएर आयो। पहिले उनलाई श्रीमान सहर जाने भन्दा नरमाइलो लाग्थ्यो तर हिजो उनलाई पहिले जस्तो दु:ख लागेन। पहिले "किन जानुपर्ने होला?" भन्ने प्रश्न उठ्थ्यो तर हिजो उठेन। उनको मनको कुनै कुनामा पनि यो प्रश्न उव्जेन। "भैहाल्छ नि, बरु हर्के तिमी अलि छिट्टै आउनु है!" उनले हर्केलाई अर्‍हाइन्। आज बिहानै ५ बजे उनको श्रीमान सहर तिर लागे। त्यसपछि उनलाई निन्द्रा लागेन। उनि उठिन् अनि कोठा सफा गर्न थालिन्। उनलाई ओछ्यानमा राखेको तन्ना मनपरेन, सिरानीको खोलको बुट्टा नराम्रो लाग्यो। दराजबाट नयाँ तन्ना अनि नयाँ खोल निकालिन् अनि कोठा सिँगारिन्। "अब त आइपुग्नु पर्ने हो, झन चाँडो आउनु भनेको त, कस्तो ढिलो गरेको होला" उनि एक्लै फतफताउदै बाहिर कौसीतिर गइन्। त्यत्तिकैमा उनले पर बाट आउँदै गरेको हर्केलाई देखिन्। उनको मुहारमा अनौठो चमक देखियो। हत्तपत्त भित्र कोठामा गएर ऐना हेरिन्। "यो टिकाले सुहाएन, अस्ति मेलामा किनेको टिकाले पो राम्रो देखिन्छु होला" उनि दराजतिर लागिन्। समाप्त :पि
Read Full Discussion Thread for this article