Posted by: Ok August 9, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके भाग २ खण्ड ३८ तीन दिन डम्मरेकी दिदीको कोठामा बसेपछि हेम उसकै गाउँको आर्मी साथीसँग ताहचलमा बस्न गयो। सँगै कोठा लिएर बसे दुबैजना। हेम पनि आर्मीमा भर्ति हुन कोशिष गर्ने रे। डम्मरे चाहिँ दिदीकैमा बसेर पढ्ने योजना बनायो। हुन त दिदी-भिनाजु दुबै गलैँचा कारखानामा काम गर्थे र आर्थिक स्थिति पनि राम्रो थिएन, तरपनि डम्मरेलाई उसका बुबाले थोरबहुत घरबाट पैसा पठाउने भएकाले त्यहिँ बस्ता झन् सजिलो हुने भो उसलाई पनि, दिदीले भात पकाई दिईहाल्ने। मेरो चाहिँ कोही चिनजानको मान्छे पनि थिएन, बस्ने ठाँउको ठेगान पनि थिएन। एक दुई दिन त डम्मरेकी दिदीकोमा जसोतसो बसेपनि लामो समयसम्म बस्ने कुरा भएन। एउटै कोठामा दुईवटा खाट साँगुरो गरी मिलाएर छेउमा किचेन गरेकोले कोठाभित्र फर्कन मिल्ने जति पनि ठाँउ बाकीँ थिएन। डम्मरेलाई थाहा थियो, मेरो काठमाण्डौमा कोही आफ्नो मान्छे छैनन् भन्ने। सायद उसैले दिदीलाई भनेछ क्यारे, एक साता बितिसक्ता पनि मलाई कसैले केही भनेन, निस्केर जा भनेर। न त कसैले म बसेकोमा घन्चमन्च मानेको जस्तो नै देखियो। हुन त म आफैंले समस्या बुझेर निस्किनु पर्ने हो तरपनि कुनै उपाय नभए पछि त के गर्नु र? सडकमा गएर सुत्नु भन्दा त कसैले केही भने पनि सहेर बस्नु नै बेश भन्ने लाग्यो। तरपनि “सकेसम्म छिटो म यहाँबाट निस्कनु पर्छ भन्ने” मनमा राख्दै संभावित उपायहरु निकाल्न प्रयास गरिरहेँ। आफूसँग भको पैसाले अलिअलि तरकारी पनि किनेर लग्थेँ, दिनभरी घुमेर बेलुका फर्कँदा। बिहान जुरुक्क उठेदेखि बेलुकासम्म म कामको खोजीमा हिँड्थेँ। त्यो नचिनेको र नजानेको ठाँउमा काम पनि कसरी खोज्ने भन्ने कुरा थाहै थिएन। एकदुईवटा पसलमा त गएर सिधै सोँधे, केही काम पाईन्छ कि भनेर। कसैले पनि पत्याएन मलाई। म जस्तो झुत्रेझात्रेलाई कस्ले काम दिओस्? आफूले गाउँबाट ल्याउँदाको अलिअलि पैसा पनि सकिँदै जाँदा क्याम्पस पढ्नु त परैको कुरा, अब त वाँच्नको लागि जस्तोसुकै काम पनि गर्नैपर्ने भैसक्यो। दिनभरी घुमेर बेलुका फर्कँन्थेँ, डम्मरेकी दिदीको कोठामा। दिनहरु वित्दै जाँदा पनि केही उपाय ननिस्केपछि म निकै नै अधैर्य हुँदै गएँ, दिमाग पनि कन्ट्रोल हुन छाड्यो। समय वित्दै जाँदा मेरो दिमागमा खेल्ने विकल्पहरु पनि कम हुँदै गए। चोरी गर्ने जस्ता आपराधिक कृयाकलापतिर पनि दिमाग खर्च गर्न थालेँ। कहिले काहिँ त हिड्ने बेलामा आमाले भनेको सम्झेर फर्केर घर जाँउ जस्तो पनि लाग्यो. फेरि आफ्नो घरको गरीवी, आमाको नांगो शरीर र भाइबैनीको पढाई सम्झेर फर्कन पनि सकिन। काठमाण्डौ छिरेको चौथो दिन मञ्जुको मामाको घरमा मञ्जुको चिठी र मञ्जुको ममीले पठाएको सामान लिएर गएँ। चिठीमा लेखेको ठेगाना ठाँउठाँउमा देखाउँदै बल्लबल्ल घर भेट्याएँ। गेटमा पुग्ने बितिक्कै बेजोडले कुकुर भुक्यो, कानै खाने गरी। केहिबेर पछि एकजना मान्छे आएर सोध्यो “को हो? किन आको यहाँ?” मैले सबैकुरा भनेँ। “एकछिन बस्तै गर। म हाकिमनीलाई सोधेर आँउछु” भन्दै त्यो मान्छे फेरि भित्र पस्यो। म बाहिर ढोकाको छेउमै उभिईरहेँ। कुकुर भुकेको भुक्यै थियो। केहीबेर पछि एकजना अधबैंसे आईमाई आएर सोधि “को हो, के भनेको?” “मलाई मञ्जु र मञ्जुको ममीले सामान लगेर दिनु भनेर पठाउनुभको छ” मैले भनेँ। “को मञ्जु?” त्यो आईमाईले मञ्जु चिनिन। “यो रामपुरकी मञ्जुको मामामाईजुको घर हैन? मैले घर पो विराएँछु कि क्या हो? यो ठेगानाको घर यहि हैन?” मैले त्यो आईमाईलाई ठेगाना देखाएँ। “ए, यहि हो, म नै हो मञ्जुको माईजु” त्यो अधबैंशे आईमाईले सम्झे जस्तो गरि बोली। मैले नमस्कार गरेँ। “अनि तिमी चाहिँ को नि? मञ्जुको को पर्ने?” “म मञ्जुको साथी। मञ्जु भन्दा एक कक्षा अगाडि एउटै स्कुलमा पढेको” “ल धन्यबाद सामान ल्याईदेकोमा। ओखल्ढुंगा जाँदा यहाँ निस्केर जानु। अलिअलि सामान लगिदिनु। अनि कहिले फर्कन्छौ त?” “खै थाहै छैन। क्याम्पस पढ्न भनेर आको म त” “दशैँतिहारमा त जाउला नि। त्यतिखेर चाहिँ यहाँ पसेर जान नबिर्सिनु। ल जाउ” उहाँले गेटको ढोका लगाउनुभयो। म पनि फर्किएँ। मञ्जुका मामामाईजुसँग जागिरको लागि अनुरोध गर्ने विचार थियो, त्यो पनि अधुरै रह्यो, भन्ने मौकै पाईन। उहाँहरुको कम्पाउन्ड भित्र खुट्टै राख्न पाईन। ------------- साझाल्याण्ड २३ साउन २०६३
Read Full Discussion Thread for this article