Posted by: CaMoFLaGeD August 5, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
" ए कुम्लेको बुवा! ल ल चाँडो तयार पारिदिनुस् त कुम्लेलाई, म खाजा बनाइहाल्छु" आमा हतारिदै बुवालाई भन्नु हुन्छ। बुवाले पनि हतार गर्दै मलाई लुगा लगाइदिनु हुन्छ। बिगत केहि दिन देखि हाम्रो घरमा यस्तै चलिरहेको छ। मलाई केहि पनि थाहा छैन किन यस्तो भैरहेको छ भनेर। आज पनि हिजो जस्तै हामीले हतारमा खाजा खायौँ। शहरमा निकै चहल पहल छ। शहरमा बिगत केहि समय देखि सेनाहरु मात्र देखिइरहेकाछन्। हरेक मान्छेहरुको मुहारमा एक किसिमको तनाब देखिन्छ। मैले केहि कुरो बुझेको छुइन। हत्तार हत्तार हामी खाजा खाएर बाहिर निस्कियौँ। हिजो भन्दा आज निकै गर्मी बढेको छ। आकाश खुल्ला छ अनि बिहानै चम्किलो घाम लागेको छ। "आज पनि तँ त्यो स्कूलमा गएर दिनभरी बस्ने है, अनि बेलुका हामी तँलाई लिन आउनेछौँ।" आमाले मलाई सम्झाउदै स्कूल तिर लानु भयो। मलाई स्कूल मनपर्दैन। हामीलाई सधैँ भित्र अध्यारो कोठामा दिनभरि राखिन्छ । बाहिर निस्कन पनि दिइदैन। तितौरीलाई पनि आजकाल स्कूल आउन मनलाग्दैन रे। लागोस् पनि कसरी बाहिर खेल्न कसैले दिदैनन्। हामी हरेक दिन क्लासबाट बाहिर हेर्थ्यौँ। सैनिकका गाडीहरु यता उता गरिरहेका हुन्थे। "कुम्ले, आज त हामी सबैलाई भित्र कोठामा होइन, बाहिर खेल्न दिने रे" उनले मलाई खुशी हुदै भनिन्। "ए हो र?" म पनि खुसी भएँ। हामी सबैजना बाहिर बसेर खेल्न थाल्यौँ। "आज सार्‍है राम्रो दिन छ, घाम नि कस्तो झलमल्ल लागेको छ।" उनले नराम्रो भनेको मैले कहिले सुनेकै छैन। हुन पनि हो आज सार्‍है राम्रो घाम लागेको छ। हिजो जस्तो हवाइजहाजहरु त्यत्ति उडेका नि छैनन्। अरु दिन जस्तो सैनिकहरु पनि आज बाहिर त्यत्ति देखिन्नन्। अगस्ट महिनाको घाम खासै प्यारो त हुन्न तर पनि आज हामी दुबै जनालाई त्यो सार्‍है मनपरेको छ। "कुम्ले तिमी लुक अनि म तिमीलाई खोज्छु है?" "हुन्छ" म लुक्न जान्छु। "१,२,३...... म आएँ है तिमीलाई खोज्न।" म लुक्ने असफल प्रयास गर्छु। तर म कहिले नि लुक्न सक्दिन। उनले मलाई जहिले नि भेट्छिन्। मलाई यस्तो लाग्छ उनले मलाई कहिले नि लुक्न दिन्नन्, हराउन दिन्नन्, छुट्न दिन्नन्। "कुम्ले! ऊ त्यहाँ आकाशमा हेर त, कत्रो ठुलो आगोको झिल्का" उनि अचम्म मान्दै आकाश तिर हेरिन। मैले नि माथी आकाशमा हेरेँ। एउटा अनौठो प्रकाशले हामी सबैको आखा तिर्मिरायो, सुर्यको प्रकाश भन्दा तेजिलो। त्यो प्रकाश सङ्गै मेरा पैतलामा अनौठो किसिमको कम्पन अनुभव भयो। त्यत्तिकैमा एउटा अनौठो किसिमको ठुलो आवाजले हामी सबैलाई तर्सायो। मेरो कानको जाली फुट्ला जस्तो भयो। तितौरीले मेरो हात च्याप्प समातिन। सबै तिर खैलाबैला मच्चियो। "केटाकेटीहरु तुरुन्त भित्र आओ" मिसले हस्याङ् फस्याङ हुदैँ हामीलाई बोलाउनु भयो। सबैजना दौडेर भित्र लाग्यौँ। शहरमा भागा भाग मच्चिन थालिसक्यो। मिस अनि सरहरु पनि आत्तिरहनु भएको छ। मलाई केहि थाहा हुनसकेको छैन आखिर के भयो भनेर। सबैजना दौडादौड गर्न थाले। सबै कराउन अनि चिच्याउन थाले। मलाई अछट्ट गर्मी महसुस हुन थाल्यो। "कुम्ले मलाई सार्‍है गर्मी भयो।" तितौरी रुन थालीन। "केहि हुन्न तितौरी, मेरो हात समातेर दौड" मैले उनलाई आश्वाशन दिदै हात समातेर दौडिन थालेँ। शहरका सबै मान्छेहरु भागभाग गरिरहेका छन। मलाई गर्मी भएर पसिना खल्खली बग्न थालेको छ। तितौरी पनि पसिना पसिना भएकी छिन। अघि सम्म देखिएको घामलाई कालो बादलले छेकिसकेको छ। वातावरण पुरै अर्को भैसकेको छ। त्यो सुन्दर बिहान कहाली लाग्दो बनिसकेको छ। दौडिदै गर्दा मेरो खुट्टा अल्झिन्छ, म लड्छु। तितौरी सङ्ग मेरो हात छुट्छ। "कुम्ले! तिमी छिटो उठेर दौड" उनि कराउन थालिन्। उनको अर्को हात एकजना सरले समाउनु भएको छ। उनि मलाई तान्न खोज्छिन तर सरले उनलाई सङ्गै तानेर दौडिइरहनु हुन्छ। शहर भरी आगो दन्कन थालेको छ। सबै तिर हाहाकार मच्चिरहेको छ। मान्छेहरु दौडिदा दौडिदै लड्न थालेका छन्। कसैलाई आगो ले पोल्न थालेको छ। सबै तिर मान्छे रोएको मात्र सुनिन्छ। कालो बादल ले आकाश ढाकेको छ। अघि सम्म को सुन्दर बिहान अहिले कोलाहल पुर्ण भएको छ। "कुम्ले, चाँडो गरन" तितौरी अघि अघि दौडिदै मलाई पछि हेर्दै बोलाउदै छिन। म भिडको बिचमा छु। दौडिने प्रयास गर्दैछु। मान्छेहरुको भिडमा च्यापिएर दौडिन गार्हो भैरहेको छ। वरिपरिका घरहरु आगोले खरानी हुन थालिसकेका छन्। आगोका लप्काले पोलेर कत्ति जना मान्छेहरु भकभकी ढलिरहेका छन। म त्यहाँबाट निस्किने प्रयास गरिरहेको छु। तर भिडले मलाई निस्किन दिइरहेको छैन। मेरो वरिपरि आगोले छेक्न थालिसकेको छ। म त्यहाँबाट उम्कने प्रयास गरिरहेछु। "कुम्ले, छिटो गरन, त्यहाँबाट छिटो बाहिर निस्कन" म तितौरीको आवाज सुनिरहेको छु। बाहिर निस्किने प्रयास गर्छु। तर सबैतिर आगै आगो छ। मलाई अछट्ट गर्मी हुन थालिसक्यो। मेरो घाटी सुक्न थाल्यो, मेर हातहरु गल्न थाले। म अझ प्रयास गर्दै छु बाहिर निस्कन। आगोका लप्काहरुले मलाइ बिस्तारै बिस्तारै भेट्टाउन थालिसकेको छ। मान्छेहरुको कोलाहलमा म तितौरीको "कुम्ले, कुम्ले" सुनिरहेको छु। त्यहि शब्दले मलाई हिम्मत दिईरहेको छ। मेरा पाहिलाहरु चल्न छाडे। म बिवस हुन थालेँ। पर तितौरीलाई देखिरहेको छु। उनि त्यहाँबाट कराउदै छिन। उनलाई अरुले समाएका छन। उनि मलाई समाउन आउने प्रयास गर्दैछिन। मेरो कुनै जोर चलेको छैन। मेरा छेउमा थुप्रै मान्छेहरु ढलिसकेका छन्। मेरो शरिर बिस्तारै बिस्तारै आगोले भेट्न थालेको छ। मलाई असह्य पिडा भैरहेको छ। म त्यो कोलाहलको बिचमा थुप्रै अरु असहाय मान्छेहरुमा एउटा बालक आफ्नो प्राण बचाउने प्रयास गर्दैछु। बिस्तारै सबैकुरा धमिलो हुदै जान थाल्छ। त्यो कोलाहल अलि अलि कम हुन थाल्छ। तितौरीको अनुहार बिस्तारै बिस्तारै मेरो आँखाबाट हराउन थाल्छ। म भुइँमा लडिरहेको छु। बिस्तारै बिस्तारै अध्यारो हुन थाल्दैछ। सबैतिर शान्त हुन थाल्दैछ। म आँखा खोल्ने प्रयास गर्छु तर सबै कुरा अध्यारो हुदैछ। सबै आवाजहरु धमिलो हुदै हराउदै छन्। अनि एक्कासि फेरि त्यहि उज्यालो आगोको झिल्का झै सारा संसार उज्यालो पार्ने प्रकाशले मेरो मनलाई आनन्दित तुल्याउछ। सबै तिर शान्त हुन्छ। म केहि देख्दिन, केहि सुन्दिन.......! बिस्तारै मलाई कुनै परिचित आवाजले झस्काउछ। आँखा खोल्छु। "सन् १९४५ अगस्ट ६ तारिक, अमेरिकाले जापानको हिरोशिमामा एटम बम खसालेको दिन हो। त्यो दिन १४०,००० मान्छेहरु मरे, मर्नेहरुमा थुप्रै केटाकेटीहरु पनि थिए। हामीले कल्पना पनि गर्न सक्दैनौ कस्तो पिडा भयो होला ति मर्ने मान्छेहरुलाई" मिसले क्लासमा पढाइरहनु भएको छ। म वरिपरि हेर्छु, सबै जना शान्त भएर सुनिरहेकाछन्। मलाई चिट चिट पसिना आइरहेको छ। अनि आफैलाई प्रश्न गर्छु, "कल्पना त यति पिडादायक छ भने तिनीहरुलाई त्यसबेला कस्तो पिडा भएको हुँदो हो.......?" समाप्त (हरेक युद्धमा थुप्रै अबोध बालबालिकाहरुले ज्यान गुमाइरहेका हुन्छन्। मानविय बिकाशका लागि भनेर बनाइएका ति आणविक हातहत्तियारहरुले अवश्यपनि हाम्रो भलो गर्ने छैन। यो कथा ति अबोध बालबालिकाहरु प्रति समर्पित छ। धन्यबाद)
Read Full Discussion Thread for this article