Posted by: Ok August 2, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके भाग २ खण्ड ३६ ----------- “अब दिनभरी काठमाण्डौ शहर घुमौँ केटा हो, अनि बेलुका मेरो दिदीकोमा गएर बसौँला” डम्मरेले काठमाण्डौ शहर धीत मरुन्जेल हेर्ने विचार गर्यो। हामीले पनि डम्मरेको कुरामा सहमति जनायौँ। हामी पुरानो बसपार्कबाट बाहिर निस्केर यताउति हेर्न थाल्यौँ। “आहा, कति अग्लो घर? टुप्पाको तलामा बस्नेलाई त कति डर लाग्दो हो?” हेमेले धरहरातिर हातको चोरी औँलाले देखाउँदै भन्यो। डम्मरे र मैले उतैतिर हेर्यौँ र छक्क प-यौँ। हामी फेरि फुटपाथबाट हिड्न थाल्यौँ। “राम राम, कत्रो घडि, ए ओमे हेर त कति बजेछ, अहिले?” डम्मरे चिच्यायो, घडि भएको घरलाई हेर्दै। मैले पनि पिलिक्क त्यतैतिर हेरेँ। हेमेले पनि आँखा पु-यायो। फुटपाथमा हिड्ने मानिसहरुले हामीलाई हेर्दै हाँस्थे, अनि आफ्नै बाटो लाग्थे। हामीले उनीहरु हाँस्नको कारण बुझेनौँ। आफ्नै तालमा मस्त थियौँ हामी। काठमाण्डौ शहर हेर्दै रमाउँदै थियौँ। हामी घण्टाघरतिर लाग्यौँ, छेउमै गएर ठूलो घडि हेर्नलाई। हाम्रो कुनै निश्चित गन्तब्य थिएन। बाटो र ठाउँ पनि चिन्दैनथ्यौँ। जताजता अचम्म लाग्दा चिजहरु देखिन्छन्, त्यतैतिर लाग्थ्यौँ। सबैले हात्तीछाप चप्पल लगाएका थियौँ, पुराना झोलाहरु बोकेका थियौँ। कपडाहरु पनि फोहोर भैसकेका थिए। अनुहारहरु पनि धुस्रे र फुस्रे थियो। आफ्नै गाउँमा जस्तो सबैले सुन्नेगरी ठूल्ठूलो स्वरले बोल्थ्यौँ। मोटरबाटो काट्दा पनि गाडीले किच्छ भनेर अरु मानिसहरुले काटेका बेला बीचबीचमा पसेर कुद्दै काट्थ्यौँ। घन्टाघरको छेउबाटै ठूलो बाटो काटेर पारी पुग्यौँ र सिधै अगाडि गयौँ। छेवैमा बारले घेरेर राखेको पोखरी रहेछ। मैले केटाहरुलाई देखाउँदै भने " हेर त केटा हो, कत्रो ठूलो पोखरी? हैन यत्रो ठूलो पोखरीमा आहाल बस्ता भैँसी डुब्दैनन् कि क्या हो?" “खै भैँसी पस्ने बाटो त छैन। यो त हात्तीको लागि होला?” हेमेले बिचार पु-याएछ। “हात्ती पस्न पनि त बाटो त चाहियो नि” डम्मरेले दिमाग लगायो। हामीले त्यो पोखरीलाई एकफन्को लगायौँ। केही ठाउँमा बारको बीचबाट पोखरी देखियो, अरु ठाउँबाट चाहिँ देखिएन। घुम्दाघुम्दै हामी “त्रिचन्द्र कलेज” लेखेको ठाउँमा पुग्यौँ। “ल हाम्रो क्याम्पस पनि आईपुगेछ, ए केटा हो, कहिलेबाट पढाई शुरु हुनेरहेछ, सरलाई सोध्न जाउँ” छिटो बोल्न त डम्मरेलाई कस्ले भेट्ने! “नाईँ, नजाँउ केटाहरु हो आज। मलाई त डर लाग्छ” मैले डर माने, नचिनेको ठाउँमा एक्कासि जान। मलाई नयाँ नौलो ठाउँमा जान भनेपछि निकै डर लाग्थ्यो, सानोछँदा देखिनै। “यो ओमे त कस्तो डरछेरुवा। म गएर सोधेर आँउछु” डम्मरे सुरो बनेर तम्स्यो। “झोलाहरु बोकेर के जानु यार, बरु भोलि जाँउला” हेमेले सबै सामान बोकेर सरलाई भेट्न अप्ठ्यारो मान्यो। “ल ल हिड त्यसो भए” डम्मरे अल्पमतमा प-यो। हामी फेरि बाटो लाग्यौँ। हामी हिडेको सिधै अगाडि अग्लो घर देखाउँदै मैले भने “ए केटा हो, ऊ पर हेर त, कस्तो बाटाको बिचैमा छ यार त्यो घर त? जाउँ हिड हेर्न”। उनीहरुले पनि उतै हेरे र त्यहिँ जाने कुरा गरे। हामी छिटोछिटो त्यतैतिर हान्नियौँ। हामी राजदरबारतिरको बाटो लागेछौँ। त्यहाँ पुग्दा त त्यो हामीले शुरुमा देखेको घरलाई त अग्लाअग्ला फलामका घोचाले बारेर राखेको रहेछ। गेटमा बन्दुक समाएर सैनिकहरु बसेका रहेछन्। हामीलाई तिनीहरुका छेउ पर्न पनि डर लाग्यो। “बाहिरैबाट हेर्ने” भनेर हामी घुम्न लाग्यौँ, भित्र जान खोजेनौँ। “अर्को ठाउँबाट भित्र पस्ने ठाउँ रहेछ भने जाने, नत्र भने बाहिरबाटै हेर्ने” मैले मेरो मनमा भएको डरलाई साथीहरु बीच राखेँ। उनीहरुले माने, मैले भनेको । हामी वरिपरि घुम्न थाल्यौँ। ठाउँठाउँमा बन्दुक लिएर बसेका सैनिकहरु भेटिए। “केटा हो, यो त मान्छे बस्ने ठाउँ हैन पो जस्तो छ। ऊ हेर त बन्दुक बोकेर बसेका सैनिक। मान्छेलाई त बन्दुक लिएर रुँघ्नु त पर्दैन होला नि। बाँस पनि रोपेका रहेछन्, बोटबिरुवा पनि टन्नै रहेछन्। यो त चिडियाखाना पो हो क्या हो। जनावरहरु बाहिर निस्कन्छन् भनेर वरिपरि बन्दुक लिएर बसेका होलान् मान्छे” मैले निकै बिचार पु-याएर बोलेँ। “होला खुप, जनावारहरुलाई पनि घर बनाएर राख्छन् त?” डम्मरेलाई मेरो विश्वास लागेनछ। “यो त काठमाण्डौ पो त केटाहरु हो, यहाँ त जनावरलाई पनि घरभित्र राख्छन्” मैले कति न जान्ने भए जस्तो गरेँ। केटाहरुलाई मेरो यो कुरा चाहिँ चित्त बुझ्यो। जनावारहरुले आक्रमण गर्ला भनेर हामी भित्र पस्न खोजेनौँ। घाम पनि छकाल हुन लागे। हामी निकैबेर हिड्यौँ। साझाल्याण्ड १७ साउन २०६३
Read Full Discussion Thread for this article