Posted by: gaalab July 19, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
चिम्सेको जन्ती जाँदा - २ घरमा हजुरआमा मात्रै हुनुहुँदो रहेछ। मैले म र राजु चिम्सेको जन्तीसँगै थुमी गएर आउने कुरा बताएँ। वहाँले मलाई यसो हेर्नु भयो र खिसिक्क हाँसेर भन्नु भयो "जा न त"। हाम्रो घर नजीकैकी ठुल्दिदी पनि नजिकै रहिछिन्, ठुल्ठुलो स्वरमा भनिन् - "तँ र राजु चिम्सेको जन्ती जान लाग्या हो?" मैले केही उत्तर दिन दिइन, एक किसिमको पक्डिएको चोर झैं चुप लागेर बसें। ठुल्दिदीको स्वर चर्को, निकै टाढासम्म सुनिने। त्यसमाथि पनि साना-साना कुरालाई बढाइ-चढाइ गरेर बोल्ने बानी छ - मलाई उनको उत्तर दिन सान्दर्भक पनि लागेन। हजुरआमाले मेरो तर्फबाट वकालत गरेझैं गरी भनिदिनुभयो - "के भयो त? जान्छन्। नयाँ ठाउँ देख्छन्। बाटोमा आफ्ना मामाघर पस्छन्। यहाँ घरमै बसेर पो के गर्छन् र यी केटाहरुले?" मेरो मन हलुँगो भयो। म मेरो कोठामा गएँ र कपडा फेरेर ५ मिनेटमा नै तयार भएँ। लेकमा जानु छ भनेर टाटेपाङ्ग्रे रंगको बाक्लो स्वीटर पनि भिरें। एकछिन पछि गल्लीबाट ठुल्दिदीको आवाज मेरो घरसम्मै टड्कारै सुनिने गरी आयो "राजु र गालब सार्कीको जन्त जान लाग्याछन्"। उनले त्यो प्रसंग निकालेर ठुलै गफ ल्याउने बिचार गरेकी थिइन् क्यारे, तर भीडको हल्लाको बिचमा उनको स्वर त्यसै बिलायो। उनी आफैं पनि दुलाहा हेर्न उत्सुक थिइन्। बिचमा भट्ट बुढाले "सँगै पढेको साथीको बिहे, निम्ता आयो होला, जान्छन् नि! जातले के गर्छ र?" भनिदिएपछि एक किसिमको राहत त आयो नै, तर बिना निम्तो नै कसरी जन्तीसँग मिस्सिने भन्ने पीरले चाहिं पोल्न थाल्यो। एकछिनमा राजु पनि आइपुग्यो। मुर्दारलाई के-के सुर चढेछ, सेतो टिसर्टमाथि बाउको कोट भिरेर आएछ। कोट देखेर म हाँस्न लागें। मेरो "थाहा पाएभने बाउले मार्लान् नि!" भन्ने आशय बुझेर उसले पनि खिस्स ३२ दन्त देखायो। अन्तत, जन्ती आयो। हाम्रो गाउँलाई छिचोलने तीनवटा समानान्तर बाटाहरु छन् - माथिल्लो बाटो, माझको बाटो, र तल्लो बाटो। घरहरु माझको बाटो आसपासमा अवस्थित भएकोले जन्ती त्यही बाटो गयो। गल्लीतिर सबै छाता ओढेको चिम्से हेर्दै आ-आफ्ना प्रतिकृया दिंदै थिए। हामी सबैका आँखा छल्दै माथिल्लो बाटो लाग्यौं। राङ्दीको चौतारीमा हामीले जन्तीलाई निकै कुर्न पर्यो। हाम्रो घरबाट राड्दीको चौतारोसम्म भनेको २० मिनेटको बाटो हो। तर जन्तीको सारमा ४०-४५ मिनेट त लागिहाल्छ। त्यसमाथि पनि बिचमा खोला पर्ने हुनाले ५-१० मिनेट त्यतै खर्च हुन्छ। प्रतीक्षाको घडी लामो हुन्छ भन्छन्, हामीलाई पनि जन्तीलाई खोलापारि नदेखेउञ्जेल त्यस्तै महसुस भइरह्यो। जन्तीहरुमा चौतारीमा सबभन्दा पहिले आइपुग्ने चाहिं शिरेदाइ थिए। हामीलाई देख्नेबित्तिकै सोधे - "कता हिंड्या बाबुहरु?" राजुले एकचोटि मुसुक्क हाँस्यो र भन्यो - "तपाईंहरुसँगै जन्त"। भतिजको बिहेमा २-४ गिलास तीनपाने चढाएर यसो अलिअलि रम्नु भनेको त डिफल्ट अबस्था नै भैहाल्यो। उनी मान्छे पनि अलि रसिक नै हुन्, त्यस्तै उत्तर दिए - "ल ठीक छ। यसचोटि हाम्रो चिम्सेको ससुरालीतिरै तपाईंहरुललाई पनि एक-एक ओटा खोजिदिउँला"। राजु हाँस्न थाल्यो, मलाई चाहिं अलि लाज लाग्यो, मुन्टो हल्लाएँ मात्र। त्यो चौतारीमा धेरैबेर अलमल भएन। जन्ती हिंड्न थाल्यो। मलाई चाहिं अँझै पनि राजुले लगाएको कोट देखेर हाँसो लाग्दैथियो। देख्दैमा असहज, बाउको कोट भन्ने त्यसै थाहा हुने। तर त्यतिबेला के थाहा, त्यही कोट नै हाम्रो लागि त्यो रात बरदान साबित हुन्छ भनेर? क्रमश:
Read Full Discussion Thread for this article