Posted by: gaalab July 19, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
मित्रहरु जदौ! चौतारीमा आत्म-कथा, नियात्रा चलिराख्या रैछ। अब, म पनि मेरो सानो नियात्रा सुनाइहालम्। चिम्सेको जन्ती जाँदा - १ चिम्से। यो संसारमा चित्त बुझ्दो नाम कसैको थियो भने त्यो थियो चिम्से। मैले उसलाई पहिलोचोटि देख्दा उसलाई त्यो नाम दिने मान्छेलाई मनमनै खुब तारिफ गरें। उसको बास्तविक नाम रामबहादुर हो कि कृष्णबहादुर हो, के थियो मलाई हेक्का भएन र अहिलेसम्म थाहा पनि छैन। घर वरिपरि सबैले उसलाई चिम्से भन्छन्, स्वयं उसको भाइले पनि चिम्से भनेर बोलाउँछ क्यारे। चिम्से एकदम लम्बु थियो, आकासै छुने खालको, बाँसको घना जस्तो। के गर्नु, कसैलाई त उचाइ बढाउन पनि हर्लिक्स् सर्लिक्स् खानै नपर्ने। मैले पनि अग्लो हुने ध्येयले कहिल्यै हर्लिक्स, क्यालसियम केही खाइन (बास्तबिक कुरा भन्नुपर्दा - खुवाइएन), तर पनि चिम्सेको उचाइ सम्झिंदा एक किसिमको डाह लागेर आउँछ। र, छाला चाहिं महिना बिराई नुहाउँदा पनि गहुँ गोरो। हुन त, पासपोर्ट बनाउँन जाँदा जिल्ला प्रशासन कार्यालयमा थाहा पाइयो, अनुहार जस्तै भए पनि पासपोर्ट अनुसार नेपालीहरुको रंग "गहुँ गोरो" नै हुँदो रहेछ, तर चिम्से चाहिं साँच्चिकै गहुँगोरो नै थियो है, कालिकामाईले सकुन्! उसको सबभन्दा ठुलो विशेषता चाहिं, नामबाटै सहज अनुमान लगाउनुभयो होला, चिम्सो परेका उसका आँखा नै हुन। त्यत्रो मान्छे भएर पनि आँखा साना थिए। उसको आँखा साँच्चै सानो हो या उसको हेराइ नै त्यस्तो भएर हो, उसको आँखा अलिक सानै देख्ने चाहिं ममात्रै भने अवस्य थिइन। टन्टलापुर घाम लागेको बेलामा अँध्यारो कोठाबाट एक्कासि बाहिर निस्कँदा तपाईंको आँखा कस्तो हुन्छ? चिम्सेको हेराइ त्यस्तै हुन्थ्यो, आफैं अनुमान लगाउनुहोस्। हुन त ऊ मभन्दा २-३ वर्ष जेठो हो क्यारे तर मभन्दा २-३ कक्षा कममा पढ्थ्यो। ८ वर्षमा स्कूल भर्ना, अनि वर्ष बिराई कक्षा उक्लियो, त्यही त होला नि चाल। खैर! शरीर-बनोट, उमेर र पढाइको कुरा परै राखौं क्यारे! म नौ कक्षाको अन्तीम परीक्षा सकेर ५ हप्ताको बिदा मनाउन गाउँमा फर्किएको थिएँ। सधैंको बिदामा काठमान्डौंतिर पढ्न गएका अरु ३ जना साथीहरु पनि फर्किएका हुन्थे। ५ हप्ता बिताउन खासै केही मुस्किल हुँदैन थियो। जाडो याम भएपनि बुढीगण्डकीतिर पौडी खेल्न गइन्थ्यो र बगरको कुनै झाडीको छेल परेर कलब्रेक, म्यारिज खेलिन्थ्यो। यसचोटि ३ जनै डाँकाहरु के-के पर्यो भनेर नआएकोले मलाई दिन काट्न हम्मेसी परेको थियो। माघको महिना, बिहे र ब्रतबन्धको लहर चलेको थियो। तर खै, जन्ती जाने खालका बिहे चाहिं एउटा पनि नपरेका। त्यस्तैमा हल्ला आयो, चिम्सेको बिहे छ रे। हामी त्यस्तो मिल्ने साथी पनि थिएनौं, टोल पनि अलि टाढा‍-टाढा नै पर्ने, र मूख्य कुरा त हामी फरक जातिका थियौं; निम्तो आउने त कुरै थिएन। मेरो लागि चिम्सेको बिहे र अरु कोहीको बिहेमा खास फरक थिएन। तर उसले लेकतिर बिहे गर्न लागेको भन्ने सुनेर चाहिं "किन त्यति टाढा बिहे गर्या होला?" जस्तो लागेको थियो। गाउँको नाम "थुमी" - दुर्गम क्षेत्र नै हो। मेरो नातेदार (जसलाई म ठुलाबा भन्ने गर्छु) ले पनि कुनै बेला त्यहीं पढाउनु हुन्थ्यो, त्यसैले त्यो नाम सम्झिरहेको थिएँ। चिम्सेको बिहेको दिनमा म र मेरो साथी राजु घर नजीकैको खोलामा त्यसै बरालिंदै हिंड्दै थियौं। चिम्सेको टोलतिरबाट बाजाको आवाज सुनेर सजिलै अनुमान गर्न सकिन्थ्यो - चिम्सेलाई अन्माएछन्। बाजा भन्दा पनि क्यासेट प्लेयर बजेको हो, बाजा-गाजा सहितका बिहे त देखिन छोडिइसकेका थिए। "चिम्सेलाई किन त्यति टाढा दिएछन्?" मैले आफ्नो कौतुहलता राजुमा पोखें। राजुलाई पो के थाहा र, "खै! खोज्दै जाँदा पर्यो होला नि। उसको मामाघर-सामाघर कतै न कतैतिरबाट साइनो लाग्छ होला नि थुमीमा" अनुमानको भरमा जबाफ आयो। "तँ थुमी गा'छस्?" मैले अर्को प्रश्न बजारें। "त्यस्तो लेक ठाउँमा कैले जाने नि? के सोध्दो हो यो!" "हैन, तेरो मामाघर पनि त्यतै हो नि" "हैन टाढा पर्छ" राजुको जबाफ आयो। मैले पनि पछि थाहा पाएँ राजुको मामाघर र चिम्सेको हुनेवाला ससुराली मैले कल्पना गरेभन्दा निकै टाढा पर्दो रहेछ। "तर थुमीतिर एक पल्ट जान चाहिं पर्ने हो। लेकतिर जाने मौका सितिमिति मिल्दैन।" उसले आफूमा रहेको यात्री-भावना पोखिटोपल्यो। "चिम्सेको जन्ती जाने हो त?" मैले ठट्टैमा सोधें। "जाने भए जाऊँ, के कुरा भयो र? नआइज भन्न सक्दैनन् क्यारे तिनीहरुले!" उसले पनि हाँस्दै उत्तर दियो। "साँच्ची नै कि?" मैले पनि सजिलै जबाफ फर्काइदिएँ। बोलीले पनि के गरीब हुनु जस्तो लाग्यो। "ल हिंड् त!" राजु पनि के कम! यस्तै भनाभन २-४ पटक दोहोर्याएपछि हामी दुवैजनामा बिस्तार बिस्तार एक किसिमको रोमाञ्चकता बढ्दै आयो। ख्याल-ख्यालमा शुरु भएको हाम्रो गफ अन्तत साँच्चिकै जन्त जाने निर्णयमा टुंगियो। गाउँको पल्लो पट्टिको खोला तरेपछि आउने राङ्दीको चौतारोमा जन्तीसँग मिस्सिने योजना बनाएर घरतिर हुइँकियौं। क्यासेट प्लेयरको बाजाबाट थाहा हुन्थ्यो, जन्ती अँझै १५-२० मिनेट नभई हाम्रो टोलमा आउँदैन। यद्यपि, हाम्रो घरतिर मान्छेहरु दुलाहा भएको चिम्सेलाई हेर्न आतुर थिए। के लोग्ने के आईमाई, के केटाकेटी के बुढा-बुढी आ-आफ्ना तगारो र पर्खालमा बसेर ब्यग्रतका साथ उतैतिर मुख लगाउँदै थिए। "उतैतिर" अर्थात् जन्ती भएतिर। क्रमश:
Read Full Discussion Thread for this article