Posted by: CaMoFLaGeD July 17, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
"तिमीलाइ म कुम्ले भनेर बोलाउछु है?" म उनको त्यो सुन्दर मुहार हेरिरहन्छु। ति ठुल्ठुला आखाँ, दुइ चुल्ठी बाँधेको कपाल, स्याउ झै गाला। "हुन्छ!", म अफ्ठेरो मान्दै टाउको हल्लाउछु, सहमति स्वरूप। मलाइ त्यसरी कसैले नाम दियेको थिएन। घरमा बा आमा ले "छोरा" भनेर बोलाउनु हुन्थ्यो। त्यसैमा खुसि थिए। आज अनौठो किसिम ले रोमान्चित भएँ। "मलाइ तिमीले तितौरी भन्नु है? मलाइ सबैले माया गरेर तितौरी भन्छन्।" उनले मेरो हात समाउदै चौतारी तिर लगिन। चौतारीमा म प्राय आइरहन्थे अरुले खेलेको पढेको हेर्थे अनि घर फर्किन्थे। आज अलि अनौठो भयो। "उ पर दुइजना हल्ला गरिरहनु भा'को पुन्टे दाइ अनि भउते दाइ हो। गजब को गाना अनि कबिता भन्नु हुन्छ। अनि पल्लो छेउमा सङ्गै खेलिरहेकाहरु चाहीँ चित्रे र ठुल्नानी हुन। सधैँ सङ्गै हुन्छन्। हामी नि अब देखि सधैँ सङ्गै खेल्नु पर्छ है?” उनी मलाइ हेर्दै मुस्काइन। उनको भर्खर नयाँ पलाएका दुइटा छोटा छोटा दाँतहरुले अझ उनको रूपलाइ सुनमा सुगन्ध थपेको थियो। म उनलाइ हेर्दै मख्ख परिरहेको थिएँ। उनले मलाइ हात समाउदै चौतारीको पुरा सयर गराइन। “माथि माथि सैलुङे मा चौरि डुलाउने लाइ…।” उनि चौतारी मा नाच्न थलिन। “कुम्ले, तिमी नि आउन नाँच्न, कस्तो मान्छे होला तिमी? म चाहिँ नाँच्ने तिमी चाहिँ हेरि बस्ने?” उनले मलाइ पनि नचाउने प्रयास् गरिन्। “मलाइ नाच्न औदैन” म लजाए। “अहिले मिस सान्नानीलाइ घर पुर्याउन जानु भा’ छ , आएपछि तिमीलाइ भर्ना गरिदिनुस भनेर मिसलाइ भन्छु है?” “हुन्छ।” “कुम्ले तिम्रो बा लाइ भोली स्कूल लिएर आउनु अनि तिम्रो भर्ना गरिदिने। त्यसपछि तिमी सधैँ यहा पढ्नु है!” मिसले तितौरीको कुरो काट्न सक्नु भएन। आज सर्है रमाइलो भयो। दिनभरी भएका यि सुन्दर घटनाहरु सम्झिदै म घर पुगे। “यसपाली त राम्रो फसल भा'को छ साबित्री, तर के गर्ने? राम्रो फसल भा'को बेलामा भाउ नै दिन्नन ति बनियाहरुले” बा र आमा बात मारीरहनु भएको थियो। “लौ छोरा आएछ!” आमाले मलाइ छेउमा तान्नु भयो। “आमा, मलाइ अब देखि कुम्ले भन्नुस् है!” मैले आमाको आखाँ हेर्न सकिन। “ओह् हो! कसले रखिदियो नि यो नाम्? तलाइ मन पर्यो यो नाम्?” आमाले मेरो आँखाबाट मनको कुरो खिच्नु भयो। “हुन्छ हुन्छ अब तलाइ कुम्ले नै भनौला” “बा मलाइ नि तल को चौतारी को स्कूलमा भर्ना गरिदिनोस न है?” मैले उस्तै पाराले बा लाइ नि भने। “हुन्छ छोरा, यो पल्ट को धान बेचे पछि तलाइ नि स्कूल मा भर्ना गरिदिने।” म फुरुक्क भए। राती सुत्न खोज्छु, आँखामा तिनै तितौरी झलझली आउछिन। “अब धान बिक्यो भने न कुम्ले को भर्ना गरिदिने। फेरी त्यो साउ को पैसा नि त तिर्नु छ” बा र आमा सल्लाह गरिरहनु भएको थियो। मलाइ त्यसले कुनै असर पारेको थिएन। म त त्यसै भोली तितौरीलाइ भेट्ने आशामा झ्यालबाट तारा गनि रहेको थिए। धेरै बेर सम्म मलाइ निन्द्रा परेन। “ॐ जय जगदिश हरे, स्वामि जय जगदिश हरे....” आमाको भजनले मलाइ ब्युझायो तर ढिलो सुतेकोले उठ्न सकिन। “यो रेडियो नेपाल हो, अब हरि सरण लामिछानेबाट समाचार सुन्नु होस...” रडियो घन्कियो। म झसङ्ग भएर उठेँ। आज मेरो मन त्यसै फ्रफुल्लित छ। “आमा! आज नि म तल चौतारी स्कूल मा जान्छु है?” “हुन्छ छोरा” “आमा, त्यो दराज भित्र को दशैँ को लुगा लाएर जान्छु है?” मैले थपेँ। आमा मलाइ छक्क परेर हेर्न थाल्नु भयो। अनि दराज बाट नयाँ शर्ट पाइन्ट झिकीदिनु भयो। तितौरी मलाइ पर्खि रहेकी थिइन्। “कुम्ले तिमी किन ढिलो आएको नि? मिसले तिमीलाइ खोजीरहनु भएको छ” उनि हिजो भन्दा राम्री देखिएकी थिइन। “आहा!! कस्तो राम्रो लुगा तिम्रो” उनको तारिफ गर्ने तरिका पनि कति राम्रो। मेरो हात समाउदै उनले फेरि मलाइ मिस भा’ठाउँ मा लगिन। “मिस, कुम्ले आयो” उनले मलाइ मिस सङ्ग भेटाइन्। “कुम्ले म तिमीलाइ एउटा प्रश्न सोध्छु, अनि तिमीले सहि उत्तर दियौ भने तिमीलाइ कक्षा १ मा भर्ना गरिदिन्छु है” मिस ले प्रश्न गर्नु भयो अनि बल्ल बल्ल उत्तर दिए। मेरो भर्ना भयो। क्लासमा ठुल्नानी र चित्रे सङ्गै बसेका थिए। “कहिले नि नछुट्टिने रहेछन् तिनीहरु” मैले उनिहरुलाइ हेर्दै मनमनै भने। अनि मेरो आँखा तितौरी तिर गयो। उनले मलाइ हेरि रहेकी रहिछन। म नि उनलाइ हेरि रहेँ। उता मिस ले “कपुरी क, खरायो ख” भन्दै हुनुन्थ्यो। एक्कासी मलाइ कसैले पछाडि बाट धक्का दियो। “ओइ, कत्ति सुतेको, उठ! यो ग्यास स्टेसनमा ग्यास हालेपछि त ड्राइभ गर्नु है, मैले कन्टिनिअस ४ घन्टा ड्राइभ गरिसके। कस्तो मज्जाले सुतेको तँ!” सुनिल दा ले मलाइ हफ्काउन थाले। “ओहो! राती को एक बजी सकेछ! क्या मिठो सपना देखि रा'को थिए, ह्या सुनिल दा पनि किन बिँउझा'को होला!!” “जा गएर ग्यास हाल” सुनिल दा ले मलाइ फेरि हप्काए। “सुनिल दा, मैले ड्राइभ गर्दा, तपाइ पनि म जस्तै पोजिसन मा सुत्नुस है, अनि चौतारीमा गएर तितौरीलाइ कुम्लेले धेरै धेरै सम्झेको छ भन्दिनु है?” मैले आँखा मिच्दै भने। सुनिल दा ले केहि बुझेनन। मलाइ टोलाएर एकोहोरो हेरीरहे। म भने मुँसु मुँसु हाँस्दै गाडी मा ग्यास भर्न थाले। समाप्त :पि
Read Full Discussion Thread for this article