Posted by: world_map July 15, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
यसपाली चैं अलि लामो लेख्ने प्रयास गरेको छु तर पुरानो भएकोले होला धेरै कुरा भुलेको पनि छु। कतिपय खासै महत्वपूर्ण नभएर उल्लेख नगरेको पनि छु। अब धनकुटाका उल्लेखनीय घटनाहरू मेरा मस्तिष्कबाट सकिएकाले काठ्माडौंतिर मोडिदिएँ। तितौरी, गोतामे ज्यू, कुम्ले, मास्टर्नी दिदी र अरू सबैलाई पनि धन्यवाद। कुम्ले, पल्लो घरकी आन्टिकि छोरीसँग त खेलिएन, तर पनि अरू साथीहरूसँग खेलेको उल्लेख गरेको छु, सम्झना भएसम्म। तितौरीले भनेजस्तै तपाई पनि शुरू गर्नुस् न। लौ, यो चौथो भाग: धनकुटादेखि काठमाडौंसम्म एक शनिवारको दिन म र मेरी दिदी पिङ् खेलिरहेका थियौं, हामीले कोही चिच्याएर दौडेको आवाज सुन्यौं। हामी आवाज आएको ठाउँ बारीको पूर्वतिरको बारबाट हेर्न पुग्यौं। त्यहाँ दुइजना केटाकेटी रूँदै दौडिरहेका थिए किनकी उनीहरूलाइ एउटा बडेमानको साँढेले लखेट्दै थियो। त्यसै समयमा आमा पनि त्यहाँ पुगिसक्नुभएको थियो र उहाँले तिनीहरूलाई बारबाट माथि उकाल्नु भयो। उनीहरू बुबाकै अफिसको कर्मचारीका छोराछोरी थिए, छोरी सबु र उनको भाइ विज्ञान। हामी त्यो दिन रमाइलोसँग खेल्यौं। उनीहरू धनकुटाको एउटा स्कूलमा पढ्थे र स्कूल छुट्टी भएपछि कहिलेकाहीं हाम्रो घरमा पनि आएर खेल्थे। एकदिन आमाले भन्नुभयो, ‘आज स्वीटी दिदीको गुफामा जानुपर्छ!’। हामी उत्सुक भयौं र जान हतारियौं। धनकुटा बजारमा आमाको साथी बस्नुहुन्थ्यो जसकी छोरीलाई गुफा (नेवार समुदायमा किशोरी केटीलाई बाह्र दिनसम्म सूर्यको प्रकाश र लोग्नेमान्छेबाट अलग्गै राख्ने र त्यसपछि सूर्यसँग विवाह गर्ने परम्परा) राखिएको थियो। हुनत लोग्नेमान्छेहरू उक्त कोठामा जान वर्जित हुन्छन् तर म साह्रै सानो भएकोले मलाई चैं हुलियो। त्यहाँ त ठूला ठूला दिदीहरू नाच्न लागेका रहेछन्। हामीलाइ देखेर उनीहरू ‘बाबूऽऽऽ! मैंयाऽऽऽ!’ भन्दै हामी तर्फ आए। उनीहरूले मेरी दिदीलाइ नाच्न आग्रह गरे, तर उनी लजाइन् र कति कर गर्दा पनि नाचिनन्। त्यसपछि उनीहरूको ध्यान मतिर गयो र मलाई नाच्न भने। मलाइ पनि पहिले त लाज लागिरहेको थियो तर जब गीत बज्न थाल्यो मेरा हात खुट्टा आफसे आफ चल्न थाले, म फूर्तिसाथ नाच्न थालें। उनीहरूले खूब थपडी बजाए, आमा छक्क पर्नुभयो तीन वर्षको बच्चा त्यसरी नाचेको देखेर होला। उनीहरूले मेरो नृत्य औधी मनपराए र ‘ओन्स् मोर!’ भने। तर त्यसपछि भने म डेग चलिनँ। अफिस भन्दा अलि माथि बायाँतिर यौटा चिया पसल थियो जुन एक परिवारद्वारा सन्चालित थियो। उक्त घरकि एक छोरी बुबाको अफिसमा काम गर्ने भएकीले हामी कहिलेकाहीं त्यहाँ जान्थ्यौं र चकचक गर्थ्यौं। त्यहाँका दिदीहरू र दाइसँग घुम्न पनि जान्थ्यौं। एकदिन हामी नजीकैको बाँसघारीतिर हिंड्दै थियौं, एकजना मानबहादुर भन्ने मानिस आयो र हामी बच्चाहरूलाई तर्साउने उद्देश्यले डरलाग्दो अनुहार बनाएर ठूलो स्वरले करायो। म खूब तर्सें र रून थालें। पछि दिदीहरूले सम्झाई बुझाई गरेर घर पुर्याइदिनुभयो। त्यसबेलादेखि म त्यो मान्छेको ‍अघि नै पर्नसक्दिनथें, डरले भागिहाल्थें। हाम्री जेठी दिदी काठ्माडौंमै थिइन्, ठूलोबुबा र ठूलीआमासँग बसेर स्कूलमा पढ्थिन्। आमाले भन्नुभयो उहाँहरू एक महिनाको लागि धनकुटा घुम्न आउँदैहुनुहुन्छ। म र दिदी खुशी भयौं अनि बाटो हेरेर पर्खिरह्यौं। नभन्दै हाम्रो घर नजिकैको चौताराबाट बिस्तारै हाम्रो घरतिर अघि बढिरहेका तीनओटा आकृति हामीले देख्यौं जुन हामीलाइ ठम्म्याउन गाह्रो भएन। म र दिदी उहाँहरूलाई देखेर हाँसिरह्यौं, उहाँहरूपनि हाँस्दै अघि बढ्नुभयो। उहाँहरू नजीक आइपुग्दासम्म त म यति हाँसिसकेछु कि मरो आँखाबाट आँसु नै बग्न थाल्यो। उहाँहरूले धनकुटा बजारबाट सिङ्गे माछा किनेर ल्याउनुभएको रहेछ, त्यो पकाएर खायौं। जेठी दिदीलाइ पहिलो पल्ट धनकुटामा देख्दा हामी साह्रै रमायौं र पिङ् खेलायौं। उहाँहरूलाइ हिले घुमाउन बुबा जानुभयो तर म चैं कुनै कारणवश जान पाइनँ। दुइ वर्षको धनकुटा बसाईमा पनि म एकपल्ट पनि हिले गइनँ, सायद त्यतिबेला सानो भएर होला। म अहिलेसम्म हिले पुग्न पाएको छैन। हामी काठमाडौं फर्किने समय पनि आयो। मैले बीचका धेरै घटनाहरू भुलेकोछु र कतिपय खासै महत्वपूर्ण नभएर वर्णन नगरेको पनि छु। काठमाडौं आउँदा बसपार्कमा रोकेर राखिएका बसहरू कति अजंगका लाग्थे, सायद कलिलो आँखाबाट हेर्दा पनि त्यस्तो लागेको हुनसक्छ। रात्रीबसको यात्रा पछि काठमाडौंको बसपार्कमा बिहानको झिसमिसेमा पुग्दा बसपार्क वरिपरि पसलहरूको झिलिमिलि र मानिसहरूको भीड देखेर अनौठो आनन्दको अनुभूति भयो। हामी शहरभित्रको हाम्रो घर नजिक आइपुग्यौं, म र मेरी दिदी अघि अघि दौडिंदै ‘दिदी! दिदी!’ भन्दै यौटा घरको ढोका ढक्ढकाउन लाग्यौं। मेरी हजूरआमाले बरन्डाबाट हेरिरहनुभएको रहेछ। उहाँले, ‘ए चित्रे! त्यता होइन, यता हो!’ भनी बोलाउनुभयो। हामीले त धनकुटाबाट फर्केर आफ्नो घर पनि बिर्सेका रहेछौं! मेरी जेठी दिदी हरेक बिहान ठूलोबुबासँग पढ्थिन्, हामी पनि एकाबिहानै उठेर पढ्ने कोठातिर लाग्यौं। ठूलोबुबाले दिदीलाइ यौटा पाठ पढेर सुनाउन भन्नुभयो। दिदीले ठूलो र स्पष्ट आवाजमा बोल्न थालिन्, ‘ मेरो नाम (चित्रेकी दिदी) हो। म कक्षा ३ मा पढ्छु। मेरो पाठको शीर्षक छ ‘गोनु झा र चोरहरू’, एकादेशमा गोनु झा नाम गरेका मानिस बस्दथे……………..’।
Read Full Discussion Thread for this article