Posted by: world_map July 14, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
गाम्लेहरू नमस्ते है! अनि धन्यवाद मेरो कथा पढिदिनुभएकोमा कुम्ले, तितौरी, ठूल्नानी, मास्टर्नी दिदी, गालब, दादा, गोतामे ज्यू, र अरू सबैलाई। अर्को हप्तादेखि त मेरो नि फुर्सदै हुन्न, त्यसैले जति लेख्नु छ, रमाइलो गर्नुछ यही दुइ तीन दिन हो अब। बल्ल लेख्न सकाएँ दोस्रो भाग कथाको। ठूल्नानी धन्यवाद है, मेरो लागि सुइटर बुनिदिएकोमा, म तिम्रोलागि अरू पनि कविता लेख्नेछु पछि। :) ल, यो चैं दोस्रो भाग। धनकुटाको ढुक्ढुकी बुबाको कार्यालय देव्रेवासको चौताराबाट करीब सय मिटरको दूरीमा थियो। लामो दुई तले घरमा अफिस थियो, पछाडी चौडा जग्गा सहित यौटा दुइ तलेकै नेपाली परम्परागत घर थियो जुन हामी बस्ने क्वाटर थियो। खरले छाएको उक्त घर ग्रामीण ढाँचाको प्रतिनिधि थियो। घरको अघिल्तिरको जग्गामा फूलबारी, अझै अगाडि काउली, बन्दा आदी तरकारी लगाइएका थिए। घरको देब्रेपट्टी केराको बोट र सागहरू लगाइएका थिए। सुन्तलाका करीब तीन चार रूखहरू यत्रतत्र छरिएका थिए। घरको पछाडीपट्टी पनि तरकारी लगाउने जग्गा थियो र ठूलो अमलाको रूख पनि थियो जसमा घिरौंलाको लहरा बेरिएको थियो। हरेक विहीवार धनकुटामा हाटबजार लाग्ने गर्थ्यो जहाँ आधा घण्टा जति पहाडैपहाडको बाटो हिंडेर मात्र पुगिन्थ्यो। हाटबजारको रमझममा रमाइने र विभिन्न प्रकारका फलफूल तरकारी किन्न र देख्न पाइने हुनाले म विहिवारलाइ सधैं उत्सुकताका साथ पर्खिरहेको हुन्थें। मलाइ वारहरूमा सबैभन्दा मनपर्ने नै विहिवार थियो। हाटबजार जाँदा बाटोमा एक ठाउँमा पहिरो गएर बाटो निकै साँघुरो भएको थियो, मुनिपट्टी हेर्दा अत्यन्त गहिरो थियो त्यहाँबाट खस्यो भने त हाडखोर पनि गायब हुन्थ्यो होला। मलाइ त्यो ठाउँमा आइपुग्दा डरले थिच्न थाल्थ्यो, पाइला अघि बढ्नै छोड्थ्यो, आमाले बिस्तारै हात समातेर तान्नुहुन्थ्यो, तर मेरो मुटू चैं झन् झन् बेगले ढुक्ढुकाउँथ्यो। त्यो भीर काटीसकेपछि मलाई ठूलो काल कटेजस्तै अनुभव हुन्थ्यो। हाट बजारमा सुन्तला, जुनार, आँप, केरा, भुईँकटहर अनि विभिन्न तरकारीहरूको रास देख्दा मेरो कलिलो बालमन खुशीले प्रफुल्लित हुन्थ्यो, अत्यन्त मनोरन्जित हुन्थ्यो। तर घर फर्किंदा फेरी त्यही पहिरो गएको भीर सम्झेर म फेरी आतंकित हुन्थें। सौभाग्यवश आमाको धनकुटा बजारमा केही काम भएको हुनाले हामी लामो बाटो फर्किन्छौं र त्यो कहालीलाग्दो भीरबाट मैले एकपटक छुट्कारा पाउँछु। घरमा म र मेरी दिदी सँगै खेल्थ्यौं, कहिले पानीमा चल्थ्यौं, कहिले यताउति दौडिन्थ्यौं। बुबाले हाम्रो लागि बारीमा पिङ् राख्न लगाइदिनुभएको थियो। पिङमा बसेर मच्चिने मात्र होइन आफूले लगाएको चप्पल कति टाढासम्म हुर्याउन सक्ने भनेर होडबाजी गर्थ्यौं, मेरो चप्पल एकपल्ट बार नाघेर तल बाटोमा झर्दा मेरो खुशीले पनि सीमा नाघेको थियो। हाम्रो घरको पश्चिमपट्टी मासुको पसल थियो जहाँ हरेक शनिवार बिहानै खसी काटिन्थ्यो, म र मेरी दिदी खसी काटेको देखि पोलेको, सफा गरेको सम्म हेर्दै मनोरन्जित हुन्थ्यौं। त्यसभन्दा अलि माथि आर्मीको कार्यालय थियो, एकजना सैनिक सधैं पहरा दिइरहेका देखिन्थे, समय समयमा हरियो हेलिकप्टर पनि अवतरण गर्थ्यो, हामी ‘आँ’ गर्दै अचम्मित परेर हेलिकप्टरलाइ हेर्थ्यौं। साँझमा आमा माथि भान्छामा खाना पकाउँदै गर्नुहुँदा म र मेरी दिदी बुबासँग तल कोठामा गफगाफ गर्थ्यौं, बुबाले हामीलाइ ‘लाटोबुङ्गो’ को कथा सुनाउनु हुन्थ्यो, हामी सुनेर दंग पर्थ्यौं। लाटोबुंगो ससुराली जाँदाका हाँस्यास्पद क्षणहरू अनि दुइटा अन्डा एकै पल्ट मुखभित्र हाल्दा दुबै गाला फुलेर हनुमानको झैं भएको प्रसंग आउँदा खाना पकाउँदै गर्नुभएकि आमा पनि भान्छामै मरिमरि हाँस्नु भएको आवाज आउँथ्यो, हामी अझै हाँस्न थाल्थ्यौं। त्यसपछि हामी गीत सुन्न् थाल्थ्यौं, ‘एउटाऽऽऽलाई होईन, दुईटाऽऽऽलाई होइन, कतिऽऽऽलाइ पुर्याउने सोध रामालाइ…………….आहा…कलिऽऽऽलो तामालाइ सोध रामालाइऽऽऽऽऽऽ‘।
Read Full Discussion Thread for this article