Posted by: world_map July 13, 2006
Chautari XVIII
Login in to Rate this Post:     0       ?        
ल गाम्लेहरू, बाचा गरे अनुसार कथा चैं लेखें तर हतारमा लेखेको, के के भएछ खै, अरू पछि फुर्सदमा लेख्दै गरम्ला। मेरो जिन्दगीको सिनेमा ठूलो पर्दामा जब सिनेमा आरम्भ हुन लाग्छ, मधुरो संगीत सँगै कलाकार र अन्य सहयोगीहरूका नाम देखिन थाल्छन्। अनि शुरू हुन्छ पहिलो दृश्य। हरेक मानिसको जीवनको शुरूवात पनि कुनै पहिलो दृश्यबाटै भएको हुन्छ। जब म मेरो जिन्दगीको शुरूवातको स्मरण गर्छु, मलाई त्यो कुनै सिनेमाको शुरूवात जस्तै लाग्छ। त्यो बेला धरान धनकुटा जोड्ने पक्की सडक निर्माण भैसकेको थिएन, हिंडेरै जानुपर्थ्यो धरानबाट धनकुटा उकाली ओराली गर्दै। हुन त म त्यतिबेला करीब दुई या अढाई वर्षको मात्र थिएँ होला, तर मलाइ याद छ त्यो यात्राको आरम्भ जुन मेरो जीवनकै यात्रारम्भ हो मैले सम्झेसम्म। हामी काठ्माडौंबाट उडेर बिराटनगर पुगेका थियौं रे र त्यसपछि बसमा धरान, तर यो पनि आमाले भन्नुभएको मलाई, मैले यसअघिका घटना पटक्कै सम्झेको छैन। जब हामी धरानबाट धनकुटा जान तयार भयौं, मैले केही दूरीमा दुइओटा घोडा देखें, एउटा सेतो र अर्को कालो। मेरी कान्छी दिदीले खुशी हुँदै भनिन्, ‘ हेर त चित्रे, कति राम्रा घोडा, अब हामी मम्मी ड्याडीसँगै चढ्ने घोडामा !’ म पनि खुशी हुँदै कराएँ, ‘म सेतो घोडामा चढ्छु!’ मलाइ बाल्यकालमा चम्किला रंग बढी मन पर्थ्यो, अन्य रंग भन्दा चाँडो छुट्याउन सजिलो भएर होला। म कालो, खैरो भन्दा सेतो, पहेंलो रंग बढी छान्थें त्यो बेला। ती घोडाहरू बुबा र आमाकालागि ल्याइएका थिए, मोटरबाटोको अभावमा पहाडैपहाड धरानबाट धनकुटा पुग्नु निश्चय पनि सहज थिएन। बुबा धनकुटाको कानून कार्यालयमा सरूवा हुनु भएको थियो, त्यसैले हामी सपरिवार त्यतै जाँदै थियौं, जेठी दिदीलाई चैं काठमाडौंमै छाडी। जिन्दगीमा कहिल्यै पहिले घोडा चढेको अनुभव नभएकोले होला बुबा र आमा घोडा चढ्न चाहनुभएन, बरू पहाडको कठीन बाटो नै हिंड्ने विचार गर्नुभयो। म र दिदी चैं साना भएकाले हिंड्न नसक्ने हुनाले घोडा चलाउने दाइहरूका साथ एक एक घोडामा चढ्यौं, म सेतो घोडामा र दिदी कालो घोडामा। म निकै रमाउँदै थिएँ, रमणीय दृश्यको आवरणमा उकाली ओराली गर्दै घोडा लम्किंदै थिए। म बच्चामा आमालाई प्राय: छोड्दिनथें, तर घोडा चढेपछि मख्ख परेर आफैंमा रमाउँदै थिएँ। केही क्षणपछी मेरी दिदी भीरबाट मुनि औंल्याउँदै चिच्याईन्, ‘हेर त चित्रे, मम्मी ड्याडी त कति साना साना देखिनुभएका!’ मैले तल हेरें, पहाडको मुनि टाढा बाटोमा हिंड्दै गर्नु भएका बुबा र आमा साँच्चै सानो आकारमा देखिनुहुन्थ्यो। हामीलाई देखेर उहाँहरूले हात हल्लाउनु भयो तलै बाट। घोडा चढ्नमा रमाइरहेको म आमा बुबालाइ त्यति टाढा देखेर रून थालें, ‘मम्मी, मम्मी!’ भन्दै। घोडामा दाइहरूले सम्झाउनुभयो मलाई तर म चूपै लागिनँ। बल्ल कत्तिबेर पछि हामी धनकुटा पुगेर मात्र उहाँहरूलाइ नजीक पाउँदा खुशी भएँ। जताततै पहाडै र जंगलले घेरिएको धनकुटा, प्राकृतिक रमणीयताको भण्डार थियो। चौतारा, लाहुरे चौतारा, हाट बजार, सरस्वति थान, देब्रेवास मेरा बाल्यकालका प्रथम स्मृति हुन्। क्रमश:
Read Full Discussion Thread for this article