Posted by: abc May 22, 2006
Organzie for Hindu State
Login in to Rate this Post:     0       ?        
धर्मनिरपेक्षताको सान्दर्भिकता: from Kantipur editorial प्रतिनिधिसभा घोषणापत्र- २०६३ ले विभिन्न धर्मावलम्बी, जनजाति तथा अधिकारवादीहरूले लामो समयदेखि गर्दै आएको संघर्षको सम्मान गर्दै नेपाललाई धर्म निरपेक्ष तुल्याएको छ । धर्म आफैंमा आम मानिसको आस्थाको माध्यम हो । सामूहिक भावनामा आधारित हुने हुनाले यो संवेदनशील हुन्छ । धर्मलाई आस्था र सेवाका रूपमा मात्र लिनुपर्ने भए पनि राज्य नीतिका रूपमा अंगीकार गर्ने प्रवृत्ति अझै केही देशहरूमा छ । धर्म र राजनीतिबीचको सम्बन्धले धर्मको व्यापकतालाई कुण्ठित गर्छ । धर्मको महानतालाई सीमित तुल्याउँछ र सेवा भावनालाई लेनदेन बनाइदिनसक्छ । नेपालमा बहुसंख्यक हिन्दु धर्मावलम्बीको बसोवास हुँदैमा यो हिन्दु अधिराज्य रहिआएको होइन । हिन्दु धर्मलाई राज्य नीतिहरूमा समेत समावेश गर्ने मान्यताका कारण धर्मविशेषलाई बढी जोड दिइएको हो । नेपाललाई हिन्दु धर्मावलम्बीहरूको देशका रूपमा विशेषगरी भारतीय हिन्दुहरूले आस्था गर्छन् भने त्यो गर्वकै विषय हो । भारतीय राज्यसभाका भारतीय जनता पार्टी नेता जसवन्त सिंहले नेपालले हिन्दु अधिराज्य हटाउँदा आफूलाई लघुताबोध भएको टिप्पणी पनि गरेका छन् । देशभित्र पनि केही हिन्दु धर्मसम्बन्धी संस्थाहरूले यसको आलोचना गरेका छन् । त्यसो गर्दा हिन्दु कुनै धर्मभन्दा बढी सभ्यता हो भन्ने मान्यता अस्वीकार हुने बुझ्नुपर्छ । हिन्दु राज्यका रूपमा राज्यनीति कायम राखिरहनुको कुनै औचित्य छैन । कुनै धर्मविशेषलाई बढी जोड दिनुको अर्थ अरूलाई कम वास्ता गर्नु हो । हिन्दु धर्मले अरू धर्मलाई अनादर गर्न सिकाउँदैन, बरू धर्मका आधारमा कसैलाई भेदभाव नगर्न सिकाउँछ भन्ने मान्यता राख्न सक्नुपर्छ । हिन्दु हुनु भनेको गौरवको विषय हो भने अरू धर्ममा आस्था राख्ने वा आस्तिकहरूलाई पनि उत्तिकै आदर गर्न सकिन्छ । त्यसो गर्न राज्यलाई कुनै धर्मविशेषसँग जोडिरहनुपर्दैन । धर्मसँग नजोडीकन राज्यलाई जनताका आम आकांक्षामा आधारित राजनीतिबाट मात्र निर्देशित गर्नुपर्छ । प्रतिनिधिसभाले नेपाललाई आधुनिकतम लोकतन्त्रात्मक राज्यव्यवस्थाका जिम्मेवार नागरिकहरूको देश बनाउन उक्त घोषणा गरेको हो भन्ने विश्वासका रूपमा लिन सक्नुपर्छ । बहुसंख्यक हिन्दु रहे पनि तिनै हिन्दुले यहाँ के बौद्धमार्गी, के मुस्लिम, के क्रिस्चियनलाई उत्तिकै सराहना गर्छन् । नेपाली सभ्यता र संस्कृतिको मौलिक पक्ष कुनै पनि धर्मावलम्बी किन नहोस् जीवनपद्धति र सांस्कृतिक व्यवहार एउटै छ । संस्कृतिका दृष्टिले धर्म नछुट्टनिे गरी नेपाली समाज मिसिएको छ । त्यसकारण नेपाली हुनु नै ठूलो धर्म हो भन्ने संस्कार भएको देशमा धर्मनिरपेक्षताको उदाहरण दिन झन् सकिन्छ । त्यसमाथि जाति, जनजाति, भाषाभाषीका दृष्टिले विश्वमै विविधताबीच एकताको नमुना भएको देशले त्यही पहिचानको मर्यादा बढाउन पनि कुनै धर्मप्रति विशेष आग्रह गरिरहनु स्वाभाविक हुँदैन । लोकतन्त्र भनेकै न्याय र समानतामा आधारित राज्य प्रणाली भएकाले त्यस्तो व्यवस्थामा अल्पसंख्यकहरूले लघुताबोध गर्नुपर्ने गरी कुनै धर्मलाई राज्यले अंगीकार गरिरहनु हुँदैन । हिन्दु धर्मले प्रत्यक्ष त्यसको वकालत नगरे पनि कर्मकाण्डीहरूले यसलाई जातीय भेदभावको माध्यम बनाएका छन् । जातीय भेदभाव, छुवाछूतजस्ता आधुनिक समाजले सजिलै दुत्कार्नुपर्ने मूल्यमान्यता धर्मका आडमा संरक्षित रहिआएका छन् । यो देश लाखौं लाख दलितहरूको पनि हो, जसले कुनै पनि क्षण आफू अन्यबाट हेपिएको अनुभूति गर्नु आम नागरिकहरूका लागि लज्जास्पद हो । यो देश बौद्ध धर्मावलम्बीहरूको पनि हो जसका त गौतम बुद्ध स्वयं यहीँ जन्मेका थिए भनेर सारा नेपाली गर्व गर्छन् । यो देश अन्य धर्मावलम्बीहरूको पनि हो, जसले कहिल्यै पनि आस्थाका आधारमा आफूलाई भिन्न सम्भिmनुपर्ने अवस्था हुनु हुँदैन । आफूलाई गर्वसाथ नेपाली नागरिक ठान्नु सबैको समान अधिकारको विषय हो
Read Full Discussion Thread for this article