Posted by: Ignitor May 2, 2006
Dr Sayami's Letter to Baburam
Login in to Rate this Post:     0       ?        
तपाईंले भन्नुहोला, शाही घोषणाबाट स्थापित संसद्ले संविधानसभामा जाने निर्णय गरिसकेको छ नि ? हो, जनदबाबको समर्थन गरेको छ । तर त्यसको साथसाथै राजावादीहरूको पार्टी राप्रपाले पनि संविधानसभाको समर्थन गरेको छ । यहाँसम्म कि सदनमा मृगेन्द्रसिंह यादवहरूले पनि त्यसको विरोध गरेनन् । के थाहा भोलि सत्चितशमशेर, श्रीशशमशेर, भरतकेशर सिंह, कमल थापा, टंक ढकालहरूले पनि समर्थन गर्छन् कि ? तपाईंले ठीकै लेख्नुभएको छ, 'संविधानसभा प्राप्तिपछि सातदलको भन्दा तपाईंको जित हुनेछ' किनकि संविधानसभा तपाईंको पार्टीको मूल एजेन्डा हो ।' त्यसनिम्ति तपाईंलाई धन्यवाद छ । हो, २०५२ सालमा चर्चित ४०-सूत्रीय मागपत्र पेस गर्ने बेलादेखि हामीले संविधानसभाको कुरा उठाएका हौं र दुई पटकसम्मको वार्ता यही विन्दुमा भंग भएको हो । त्यस हिसाबले संविधानसभाको जस स्वतः हामी माओवादीले पाउनुपर्ने हो । अनि संविधानसभाको बाहिरी रूप वा नारालाई मात्र भट्याएर त्यसको सारतत्त्व नष्ट गर्ने प्रयत्न भइरहेछ । संविधानसभाका मूल प्रस्तावक हामी माओवादीसँग वार्ता गरेर संविधानसभा निर्वाचनको बाटोमा अघि बढ्नुको सट्टा प्रमुख संसद्वादी दलको नेतृत्व उही पुरानै संविधान र राज्यसंरचना अन्तरगत सरकार बनाउन तल्लीन हुनु र मन्त्रालयको भागभन्डामा झगडा गर्नुले संविधानसभालाई बीचैमा तुहाउने षड्यन्त्र सुरु भइसकेको पर्याप्त झल्को मिल्छ । यो स्थितिमा तपाईंले बडो सरल ढंगले संविधानसभा प्राप्त भइसकेकाले आन्दोलन सिद्धिसकेको र हामी पनि आरामसाथ बस्न तयार हुनुपर्ने जुन जिकिर गर्नुभएको छ त्यो त्यति वस्तुसंगत छैनमात्र होइन, निकै खतराजन्य र हानीकारक पनि हुनसक्छ । यतिबेला ०७ सालमा राजा त्रिभुवनले घोषणा गरेको संविधानसभा कसरी क्रमशः खोस्दै लगिएको थियो एकचोटि पुनः स्मरण गर्नु उपयुक्त हुनेछ । यसनिम्ति नागरिक आन्दोलनकारी मित्रहरूले तत्काल केही अति महत्त्वपूर्ण कुरा पूरा गर्न जनदबाब सिर्जना गर्नु जरुरी छ । सर्वप्रथम, पुरानो संसद् र पुरानो संविधानको मोहजालमा फस्नुसट्टा माओवादी-संसद्वादी १२-बुँदे समझदारीबमोजिम अघि बढ्न आन्दोलनकारी शक्तिहरू, अर्थात् सात दल, माओवादी शक्ति र नागरिक समाजका प्रतिनिधिहरूको तत्काल भेला गरेर अन्तरिम विधान र अन्तरिम सरकार निर्माण गर्नुपर्छ । दोस्रो कुरा, राजतन्त्र, ऊप्रति बफादार शाही सेना र प्रशासनयन्त्र यथावत् रहेसम्म संविधानसभा निर्वाचन विरुद्ध षड्यन्त्र भइरहनेछ र कथंकदाचित् निर्वाचन भइहाले त्यो स्वतन्त्र, निष्पक्ष र अग्रगामी हुन सक्नेछैन । त्यसैले तत्काल राजा र राजपरिवारका सबै विशेषाधिकार अन्त्य गर्ने, तिनको नाजायज सम्पत्ति जफत गर्ने र सुरक्षा निकाय तथा प्रशासनयन्त्रका प्रमुखहरूलाई बर्खास्त गरेर तिनमा आवश्यक संरचनात्मक परिवर्तनलाई विशेष प्राथमिकता दिनुपर्छ । साथै लोकतान्त्रिक आन्दोलनलाई दमन गर्न सक्रिय तत्त्वहरूलाई तुरुन्त गिरफ्तार गरेर उनीहरूको सम्पत्ति जफत गरिनुपर्छ । तेस्रो, संविधानसभामा उत्पीडित वर्ग, जाति, क्षेत्र, महिला, दलित, अल्पसंख्यक धार्मिक तथा भाषिक समूहको समुचित प्रतिनिधित्व सुनिश्चित गर्न उपयुक्त विधि र प्रक्रिया निर्धारित गरिनुपर्छ । संविधानसभा निर्वाचनका यी अत्यावश्यक न्यूनतम पूर्वाधार पूरा नभएसम्म ढुक्क भएर बस्नु ठूलो ऐतिहासिक गल्ती र महान् जनआन्दोलनप्रति धोका हुनेछ । संसद्वादी राजनीतिक दलहरू पुरानै सत्ता भागबन्डाको खेलमा अल्भिmन सुरु गरिसकेको स्थितिमा नागरिक आन्दोलनहरूको यससम्बन्धी खबरदारी धेरै महत्त्वपूर्ण हुनेछ । जहाँसम्म तपाईंले आफ्नो पत्रमा 'तपाईंले दस वर्ष बन्दुक पड्काएर गर्न नसकेको काम जनताले १९ दिनमा अहिंसा र शान्तिपूर्ण तरिकाले गरेर देखाइदिएका छन्' भनेर लेख्नुभएको छ त्यसबारे पुनः एकपटक गहिरिएर चिन्तनमनन गर्न म तपाईंलाईर् आग्रह गर्छु । यसबारे तपाईं अलि बढी भावुकतामा बगेर मनोगत पो बन्नुभयो कि ? के यो आन्दोलन साँच्चिकै अहिंसात्मक र शान्तिपूर्णमात्रै थियो त ? स्वतन्त्र पर्यवेक्षकहरूकै अनुसार पनि चैत्र २४ गतेदेखिको १९ दिने आमहडतालको क्रममा मात्रै १९ जना जनआन्दोलनकारीको मृत्यु भएको छ, दर्जनौं बेपत्ता भएका छन्, पाँच हजारभन्दा बढी घाइते भएका छन् र असंख्य मात्रामा आगजनी, तोडफोड भएको छ । के यसलाई अहिंसात्मक र शान्तिपूर्ण संघर्षमात्र भन्न मिल्छ ? सुरुदेखि शाही सुरक्षाबलको अत्यधिक बलप्रयोग, कफ्र्यु, निषेधाज्ञा जनसमुदायले जमेर प्रतिरोध नगरेको भए आन्दोलन क्रमशः चुलिँदै गएर उत्कर्षमा पुग्ने थिएन । यो आन्दोलन दस वर्षको जनयुद्धविरुद्ध नभएर त्यसैको जगमा निर्माण भएको बिर्सन वा अवमूल्यन गर्न मिल्दैन । ०७, ०३६ र ०४६ का आन्दोलनभन्दा ०६२/०६३ को आन्दोलनको मुख्य भिन्नता यसमा गाउँले गरिब किसान, बेरोजगार युवा, महिला, जनजाति, दलित आदि शोषित-उत्पीडित जनसमुदायको बढी सहभागिता हो । साथै विगतको आन्दोलन काठमाडौं उपत्यकामा सुरु भएर बाहिर र मुख्यतया तराईका सहरतिर विस्तार हुन्थ्यो भने यसपटक पचहत्तरै जिल्लामा भएको छ र पहिले बाहिरी जिल्लाहरूबाट सामन्तवादको जरा काटिदिएकाले यो सम्भव भएको हो भन्ने सहज ज्ञानको विषय हो । काठमाडौं उपत्यकामा पनि विगतमा सहरको केन्द्रबाट आन्दोलन सुरु हुन्थ्यो भने यसपटक काँठबाट चक्रपथ हुँदै सहरको केन्द्रतिर पसेको छ । यो गाउँले सहर घेर्ने दीर्घकालीन जनयुद्ध रणनीति अन्तर्गत थियो भन्ने जोकसैले सहजै बुझ्न सक्छ । त्यसैले तपाईंले रूप र अंशलाई मात्र हेर्नुको सट्टा सार र समग्रलाई हेर्नुभयो भने सत्य सजिलोसँग उद्घाटित हुनेथियो कि ? अन्त्यमा तपाईंले कलम र बन्दुकलाई एक अर्काका पूरकको सट्टा निषेधार्थीका रूपमा प्रस्तुत गरेर वैज्ञानिकज्ञान सिद्धान्त र इतिहासको नियमलाई अलि उपेक्षा गर्नुभयो कि ? तपाईंले 'युद्ध भिन्न प्रकृतिको -अर्थात् रक्तपातसहितको) राजनीति हो' भन्ने प्रस्सियन युद्धशास्त्री कार्ल वन क्लाजविजको प्रसिद्ध भनाइलाई एकपटक स्मरण गर्नुपर्छ ? निश्चितरूपमा हामी सबैखाले बन्दुकको अन्त्य र पूर्ण शान्ति चाहन्छौं । बन्दुकको अन्त्य गर्न बन्दुकै उठाउनुपर्छ भन्ने वैज्ञानिक सत्यलाई पनि बिर्सने गल्ती चाहिँ नगरौं । हामीले बन्दुक छोडे पनि जर्ज बुस, मुसर्रफ, राजा ज्ञानेन्द्र-युवराज पारसहरूले छोड्ने छैनन् । वर्गीय समाज रहेसम्म निरपेक्ष शान्ति जतिसुकै पि्रय लागे पनि त्यो असम्भव परिकल्पना मात्र हुनेछ ।
Read Full Discussion Thread for this article