Posted by: Kedar_Sharma May 2, 2006
SAJHA-KO BAREMA ANURODH
Login in to Rate this Post:     0       ?        
(क्रमागत) साइबरस्पेश आधुनिक जीवनका लागि वरदान हो। सञ्चार र विकासका लागि मात्र होइन, यसले मानव मनलाई पनि निकास दिएको छ। हामी पहिचान, उत्तरदायित्व र इज्जत-प्रतिष्ठा नामका रमाइला धागाहरू जम्मा गर्छौँ र तिनै धागाहरूमा जेलिएर बाँच्न थाल्छौँ। जहाँ गए पनि हाम्रो पहिचानले हामीलाई छाड्दैन। यस्तोमा केही छद्मनामहरु बनाएर सामान्य जीवनमा भन्न नसकिने कुरा भन्न रमाइलै हुन्छ। कति जना लेखकहरूले साझकै चौतारामा पनि छद्मनाममा नै राम्रा कृतिहरू सिर्जना गर्नु भएको छ। तर केही मानिसहरूलाई छद्मनामले अलि अनुत्तरदायी बनाइदिएको पनि तपाईँ हामीले देखेका छौँ। कतिपय अवस्थामा छद्मनामले मानिसलाई नामहीन बनाएर अज्ञातबासमा पठाइदिन्छ। साझाका कतिपय लेखकहरूले यो कुरा अनुभव पनि गर्नुभएकै हुनुपर्छ। साझाका संस्थापक-सञ्चालक र सहभागी साथीहरू, साझाको प्रतिष्ठा बढाउनका लागि म यही सूत्र मार्फत केही अनुरोध गर्न चाहन्छु। यो प्रारम्भिक प्रस्ताव मात्र हो। हामी सबै भएर एउटा अनौपचारिक आचारसंहिता नै बनाउन सक्छौँ। आचारसंहिता वाध्यात्मक हुँदैन तर त्यसले हामीलाई हाम्रो कामको गरिमाका बारेमा सम्झना भने गराइरहन्छ। मेरा अनुरोध यसप्रकार छन्: सहभागीहरूसितः १. कुराकानी स्तम्भमा गम्भीर, स्वस्थ, श्लील र गालीगलौजमुक्त सामग्रीहरू मात्र समावेश गर्ने। मर्यादिन भाषाको प्रयोग गर्ने। २. गम्भीर वार्ताका लागि सकेसम्म सबैले नै असली नाम प्रयोग गर्ने तर छद्मनामलाई पनि निषेध चाहिँ नगर्ने, सञ्चालकहरूसितः १. हल्काफुल्का कुराहरूका लागि साझा भित्रै अर्कै मञ्च वा ठाउँ बनाउने, २. सञ्चालकहरूले पुराना र छलफल हुन नसकेका सूत्रहरूलाई हटाउने कृपया तपाईँ पनि आफ्ना बिचारहरू थप्नुहोस्। लोकतन्त्र उत्तरदायी हुन्छ र लोकतान्त्रिक नेपाली समाजको निर्माणमा जुटेका हामी सबै मिलेर साझालाई अझ बढी साझा बनाऊँ। केदार शर्मा
Read Full Discussion Thread for this article