Posted by: Nepe April 16, 2006
Login in to Rate this Post:
0
?
मुलुक यसको आफ्नै प्रियतम "लोकतन्त्र" को प्रेमाग्नि र विद्रोहमा जलिरहेको बखत प्रेमका अन्य छुद्र विम्बहरुसंग खेल्दा अलिकति ग्लानि जस्तो पनि हुने रैछ । तैपनि...
(यो डेढ दशक अघि कोरेको गजल हो, छन्द (बहर) विहीन छ । बहर मिलाउने समय र जाँगर पाएको छुईन भन्नपरो । मेरो खासै प्यारो गजल त होईन, तर कुनै कुनै माहोलमा काम आउने रैछ। )
प्रिय आज मैले एउटा काम गरेर फर्कें
तिम्रो बन्द झ्याललाई सलाम गरेर फर्कें
कति कति दिन त म चुपचाप फर्केको हुँ
आज चाहि सलाम खुलेआम गरेर फर्कें
दोबाटो, रूख, पर्खाल, चरा सबैले देखे
आफ्नो इज्जत आफैले लिलाम गरेर फर्कें
न आँखा जुध्यो तिमीसित न घाइते भएँ म
घण्टौं दोबाटोमा आराम गरेर फर्कें
तिम्रो घरको एउटै चक्कर मारी फर्कदा
यस्तो लाग्दैछ म चारधाम गरेर फर्कें
तिम्रो दैलोमै पासो लागेको भए के गर्थ्यौ ?
झण्डै झण्डै मैले त्यो विराम गरेर फर्कें