Posted by: Ok April 13, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
बोलेर नथाक्ने हामीहरु चुपलागेर किन बस्न सक्थ्यौँ र? डम्मरेले भन्यो “ए केटाहरु हो, मकै-भटमास झिक्। यस्तो रमाईलो बेलामा त मकै-भटमास खाएर मज्जा गर्नु पर्छ”। डम्मरेको कुरा सुनेर पल्लोतिरको सिटमा बस्ने बैनी खित्का छोडेर हास्न थाली। रोक्तारोक्तै खितिति निस्किएको हाँसोले उस्को नाकबाट फूत्त सिगान निस्कियो। हतारहतार ओढ्नेको छेउले पुछि। अब चाहिँ सबै जना हामीलाई हेर्दै हास्न लागि सकेका थिए। उनीहरु किन हाँसे, हामीलाई के थाहा? “छ्या, मलाई त क्या वाकवाकीलाग्ला जस्तो भाको छ। म त खान्न तिमीहरु नै खाओ खाने भए” मैले उनीहरुसँग मकै-भटमास नखाने कुरा गरेँ। हेमेले मकै-भटमासको पोको फुकायो। उनिहरु दुबैजाना मकै-भटमास खान लागे, तिघ्रमाथी रुमाल फिँजाएर। “खा न खा ओमे, यस्तो मज्जा लागेको बेलामा त मकै-भटमास खानुपर्छ” डम्मरेले मलाई कर गर्यो। “तिमीहरुनै खाओ। म चाहिँ खान्न” मैले खान मानिन। बस चुरे पहाड काटेर बाहिरी मधेशतिर लाग्यो। ओरालो लाग्ने बितिक्कै मलाई भमिट हुन सुरु भयो। झ्याल खोलेर भमिट गरेँ। धन्न झ्यालकै सिटमा परेँछु। “यस्तो मज्जा लागिरको बेलामा छादेर क्या बोर गर्यो यार यो ओमेले” डम्मरेलाई मैले भमिट गरेकोले नराम्रो लागेछ। मैले केहि पनि भनिन। बोल्नै नसक्ने भैसकेको थिएँ। “ए भाई, मुख छोपेर निदाउने कोशिष गर। पर ढल्केबर पुगेर कागति र भिक्स चकलेट किनेर खानु” मेरो छेउमा बस्ने मान्छेले मप्रति दया देखायो। मैले टाउको मात्र हल्लाएँ, केहि पनि बोलिन। बोल्यो कि भमिट भैहाल्थ्यो। केटाहरु चाहिँ गफ गर्दै मकै-भटमास खाईरहे। उनीहरुले करामकराम मकै-भटमास खाको आवाज बसभरि सुनियो। “भाईहरु काहाँ सम्म जाने?” म नबोलेको देखेर मेरो छेउमा बस्ने मान्छेले डम्मरे र हेमसँग सोध्यो। म हेर्न नसकेपनि गफ चाहिँ सुनिरहेको थिएँ। “हामी काठमाण्डौ जाने” हेमले मकै-भटमास चपाउँदै बोल्यो। “काठमाण्डौ काहाँ?” त्यो मान्छेले फेरी सोध्यो। “काठमाण्डौ भन्छु, फेरी काहाँ भन्छ यार यो दाई त। काठमाण्डौ भनेपछि काठमाण्डौ नि!” हेमेले त्यो मान्छेले काठमाण्डौ नै थाहा पाको रैनछ भन्ने सोचेजस्तो गरेर जबाफ फर्कायो। “हैन, काठमाण्डौको कुन ठाँउ भनेर सोधेको नि” त्यो मान्छेले कुरा क्लियर गर्यो। “थाहा छैन, काठमाण्डौ भनेपछि काठमाण्डौ नि!” डम्मरे जान्ने पल्ट्यो। त्यो मान्छे पनि चुप लाग्यो। केहि बेरपछि म त भुसक्कै निदाएँछु। बिउझिँदा त बस हेटौँडा पुगेर खान खानको लागि रोकिएछ। सबैजसो मानिसहरु बसबाट झरेर खान खान लागे। हामी तीनजना चाहीँ बसबाट पनि झरेनौँ। “हामीलाई बसले छोडेर हिड्यो भने काहाँ जानु?” भन्ने सोचेर आफ्नै सिटमा बसिरह्यौँ, छोड्दै छोडेनौ। केटाहरुले फेरी मकै-भटमास झिकेर खान थाले। मैले चाहिँ केहि खाईन। त्यतिबेलासम्म मेरो पेटमा भको सबै निस्किसकेको थियो। तरपनि वाकवाकी चाहिँ लागि रह्यो। बस फेरी हिड्यो। म फेरी निदाएँछु। बिउँझिदा त उज्यालो हुनै लागेको रहेछ। “ल थानकोट आउन लाग्यो” खलासीले कराएर एल्समा निदाएका यात्रुहरुलाई बाटो खालि गर्न अर्डर गर्यो। “काठमाण्डौ आउनलाग्यो दाई?” मैले खलाँसीलाई सोधे। “उ उता हेर्त, झिलिमिली देख्दैनस्?” खलासी आफ्नै काममा मस्त थियो। मैले उस्ले देखाकोतिर हेरेँ। झिलीमिली बिजुली बत्ती नै बत्ती बलेका रहेछन्। मनमनै सोचेँ “ओहो, कति धेरै घरहरु? जताततै बिजुलीबति? काठमाण्डौ त कस्तो रमाईलो पो रहेछ!”। मेरो खुसिको सिमा रहेन, काठमाण्डौ शहर हेर्न पाउँदा। कस्लाई सुनाउँ, कस्लाई सुनाउँ जस्तो लाग्यो। अगाडिको सिटमा डम्मरे र हेमे मस्त घुरिरहेका थिए। दुबैको टाउकाको कपाल तान्दै भनेँ “ए केटा हो, हेर त काठमाण्डौ आईसक्यो, के सुतिरका?”। केटाहरुले पनि आँखा मिच्दै भने “खै काहाँ हो?” दुबैले एकैपटक भनेछन्। “उ हेरत, झिलिमिलि बत्ति बलेको” मैले केटाहरुलाई काठमाण्डौ देखाएँ। “ओहो, कस्तो झिलिमिली” केटाहरुलाई पनि काठमाण्डौ मन परेछ। बस थानकोटमा एकछिन रोकियो। पुलिसहरु पसेर चेक गरे। बस अगाडि बढ्यो। छ्यांग्ग उज्ज्यालो पनि भयो। हामी झ्यालबाट बाहिर हेर्दै रमाईरह्यौँ। डम्मरे साईनबोर्डमा लेखेको कुरा पढ्न खोज्थ्यो तर सबै पढ्न भ्याउँदैनथ्यो। म छाना पनि नभएका मुडुला घरहरु हेरेर छक्क पर्थेँ। हेम चाहिँ डम्मरे र मैले जता देखायो उतै हेर्दै मख्ख पर्थ्यो। गाडिहरुले हर्न बजाको हामी सबैलाई मन प-यो, ट्याँट्याँ र टुँटुँ। “अहा, कति धेरै गाडी!” सिटबाट उठेर बसअगाडका गाडिहरु देखाउँदै डम्मरे करायो। हेमे र म पनि जुरुक्क उठेर गाडिका ताँती हेर्दै भन्यौँ “आम्मामा, साँच्चै पो रछ। कतिबिधि गाडि!” बसमा भएका सबैजना मरिमरी हाँसे। हामीले तिनीहरु हाँस्नको कारण बुझेनौ। उनिहरु हाँसेको देखेर हामी पनि हाँस्यौँ। बस पुरानो बसपार्कमा गएर रोकियो। हामी पनि हतारहतार बसबाट झरेर झोला बोक्दै काठमाण्डौ शहर हेर्न निस्कियौँ। साझाल्याण्ड २०६२ सालको अन्तिम दिन
Read Full Discussion Thread for this article