Posted by: Ok April 13, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
बाटोमा पनि जे पायो त्यहि गफ भए। उरेन्ठेउला ठेट्ना केटाहरु बाटो हिड्दा कस्ता गफ हुन्छन्, त्यस्तै भए। मञ्जुसँगै स्कुलसम्म आएको देखेर केटाहरुले मलाई जिस्काए पनि। “त्यो केटी (मञ्जु) त ठीक छ यार। राम्री पनि छे। जात मिल्ने भए मै बिहे गर्दिन्थेँ। ओमे तैँले त बिहे गरे हुन्छ यार। जात पनि मिल्छ। घनश्यामसरकी एक्ली छोरी, घरज्वाईँ नै बसे पनि हुन्छ” हेमलाई पनि उछिन्दै डम्मरेले फष्ट गर्यो यस्ता कुरा गर्न। “म पनि बेरलाउदिनथेँ, जात मिल्ने भए त। त्यस्तो राम्रो शिलस्बभाव भकि केटी पाए कस्ले बिहे नगरोस्। ल ओमे तेरै दिन छ।” हेम पनि के कम, राईको छोरो न प-यो। केटाहरुले म र मञ्जुका बारेमा यस्ता कुरा गर्दा मञ्जुको हँसिलो अनुहार आँखामा नाच्थ्यो। कुरा मात्र गर्दा पनि मख्ख पर्थेँ। मनमनै खुशि लागे पनि बाहिर चाहिँ देखाउन चाहिन। “मलाई मञ्जु मन परेको कुरा कसैलाई पनि थाहा नहोस्” भन्ने लाग्थ्यो। “न जिस्काउन केटा हो। मञ्जुले मसँग के बिहे गर्थिन्?” आफूलाई अति नै मन परेपनि मञ्जुले मसँग बिहा गर्न मान्छिन् जस्तो कहिल्यै लागेन। “मेरो सम्पूर्ण आन्द्राभुँडि नै थाहा पाईसकेकी थिईन् मञ्जुले। उनीबाट लुकेको कुनै कुरा वाँकी थिएन। अनि पनि मसँग मञ्जुले बिबाह गर्न मान्नु भनेको त अचम्मको कुरा भैगो नि” मनमनै गुन्थेँ। पानी धारा भको ठाँउमा एकैछिन बसेर मैले बोकेको काँक्रो, डम्मरेले ल्याएको आलुका भुटेका चाना र हेमले बोकेका उसिनेका स्कुस खायौँ। अनि फेरी बाटो लाग्यौँ। हामी तीनैजना काठमाण्डौ हिडेको पहिलो पटक थियो। डम्मरकी दिदी र भिनाजु पनि काठमाण्डौको जोरपाटी भन्ने ठाँउमा छन् रे। ठेगाना र फोन नंम्वर पनि टिपेर ल्याएको रहेछ डम्मरेले। हेमको चाहीँ कोहि पनि चिनेको मान्छे छैन रे काठमाण्डौमा। एउटा गाँउको चिनजानको छाउनीमा आर्मी छ रे। उसको पनि फोन चाहिँ बोकेर हिडेको रहेछ। तर “फोनमा बोलाई दिन्न रे गाँठे” भन्यो। त्यसदिन बेलुका हामी बलौटे भन्ने ठाँउमा बास बस्यौँ। भोलिपल्ट बेलुका कटारी पुगेर कटारी-काठमाण्डौ रात्रीसेवाको लालीमा यातयातको टीकट काट्यौँ, पर्सिपल्टको रातीको लागि। एउटा मात्र बस चल्थ्यो, त्यसबेला कटारी-काठमाण्डौ। त्यसदिनको त सबै बुकिंग भैसकेको रहेछ। फेरी हामी आईपुग्ने बितिक्कै त्यस दिनको बस पनि छुटिहाल्यो। एउटा टिकटको रु १२० रुपैँया लाग्यो। त्यतिखेरसम्ममा मेरो २०० रुपैंया सकियो। अब मसँग घनश्यामसरले दिएको ५०० रुपैंया र आफूसँग बाँकी रहेको ५० रुपैंया गरेर ५५० रुपैंया बाँकि थियो। खाना चाहिँ त्यहि घरबाट ल्याएका मकै-भटमास खाँदै बस्यौँ। बस देख्ने बितिक्कै मलाई त डर लाग्यो। “त्यस्तरी कुद्दा भिरबाट खस्यो भने?” मेरो आङ नै सिरंग भयो। पर्सिपल्ट बेलुकाको बसमा हामी तीनजना सिट नं ७, ८ र ९ मा बस चढ्यौँ। अघिल्यै दिन टिकट काटेकोले राम्रै सिट पायौँ। हेम र डम्मर सँगै बसे, अगाडिको ७ र ८ नंम्वर सिटमा। म पछाडिको झ्यालछेउकै ९ नंम्वर सिटमा बसेँ। बेलुकाको ४ बजे बस कटारीबाट हिड्यो। सुरुमा बस चढ्दा डर-डर लागेको थियो, कतै लगेर लडाईदिने हो कि भनेर। तर कजवेहरुमा तल र माथी गर्दा त क्या मज्जा पो आयो, लिंगेपिङ खेलेजस्तो। “आहा, क्या रमाईलो!” डम्मर कार्कीले ठूलै आवाज निकालेर खुशि ब्यक्त ग-यो। बसमा भएका अरु मानिसहरुले डम्मरेलाई हेरे। अर्को कजवेमा बस पुग्यो। “मलाई त पिंग खेलेजस्तै लाग्यो” हेमले अति खुशि भको छनक दियो। “मलाई त के गनायो यार। वाकवाकी लाग्ला जस्तो छ” मैले गाडिबाट निस्केको गन्ध आफूलाई मन नपरेको कुरा सुनाएँ। “नकारा, क्या मीठो वास्ना आएको छ!” डम्मरेलाई गन्ध मन परेछ। हामी निकै नै ठूल्ठूलो आवाज निकालेर गफ गर्दै थियौँ। हाम्रो नजिक भएका बसभित्रका मान्छेहरु हामीलाई हेरेर हाँस्तै थिए। “ए भाईहरु हो, खिर खाए जस्तै मज्जा आयो कि कुराउनी खाएजस्तो?” पल्लो सिटतिरको सुकिलो कपडा लगाएको मान्छेले हाम्रा गफ सुन्दै हामीलाई जिस्कायो। हाम्रो बोलीचाली र लुवाई देखेर उस्ले हामीलाई पाखे भनेर जिस्काएको पनि हामीले बुझेनौँ। नचिनेको मान्छे हामीसँग बोलेको देखेर हामी छक्क प-र्यौँ। एकछिन कोहि पनि बोलेनौँ, चुपचाप बस्यौँ। क्रमशः
Read Full Discussion Thread for this article