Posted by: Ok April 13, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
झोला बोकेर म बाटो लागेँ। हिड्ने बेलामा मेरा आँखा फल्दैगरेका काँक्रामा परे। आमाले मेरा आँखा हेरीरहनु भएको रहेछ। मैले काक्राका झेलमा आँखा लगाउने बितिक्कै बोल्नुभो “ए पख् पख्, बाटामा तिर्खा लाग्छ, यो काँक्रो बोक त झोलामा। यत्रो दुःख गरेर रोपिस्, मलजल गरिस्, खान पनि नपाईकन हिड्न लागिस्”। आमाले एउटा काँक्रो टिपेर दिनुभो। झोला त निकै गरुंगो भैसकेको थियो, तर पनि आमाले हिड्ने बेलामा भनेको कुरा काट्न सकिन र काँक्रो समाए। “छोरा, तँलाई केहि गारोसारो प-यो भने घर सम्झेर फर्केर आईज। सकेसम्म छिटो तेरो खबर पठा है। काहाँ जान्छस्? के खान्छस्? सुनेर भएपनि हामी चित्त बुझाउँछौँ नि!” विदाईको बेदना मिसाएर बोलिएका यी बोलीहरु मेरा लागि धेरै पछिसम्म पनि आमाको सम्झनासँगै कानमा गुञ्जिरहे। तलको वरपिपल चौतारोमा पुगेर फर्केर हेरेँ, आफ्नो घरलाई। अनि सरासर बाटो लागेँ। बिहानको १० बजे स्कुलको चौतारोमा भेट्ने कुरा थियो, डम्मर र हेमसँग। घरश्यामसरको घरमा निस्केर जाने कुरा पहिले नै मञ्जुले मलाई मनाईसकेकी थिईन्। म हिड्दा, छ्यांग्गै उज्ज्यालो भैसकेको थियो। हतारहतार नै पाईला चालेँ। बिहानको नौ जति भएको हुँदो हो, घनश्यामसरको घरमा म पुग्दा। म आज आउने कुरा घनश्यामसरका घरका सबैलाई थाहा थियो। मञ्जु बहिरको खाटमै बसेर पढिरहेकी रहिछिन्। म त्यहाँ पुगेको देखेर मञ्जु हत्त न पत्त उठीन् र भनिन् “ओमदाई पनि आईपुग्नु भयो!”। उनले पढ्दै गरेको कितावलाई बन्द गरेर सिरानीमुनि राखिन्। बोकेको झोलालाई बाहिर खाटैको एकछेउमा राखेँ मैले, मञ्जुले थेगिदिईन्। “ओमदाई, निकै पो ठूलो छ त झोला, के-के बोकेर हिड्नु भो हँ तपाईँ?” मेरो झोलामा थोरै समय र मेरो अनुहारमा बढि समय खर्चेर भनिन् मञ्जुले। "खै आमाले के-के के-के हालिदिएर गह्रौँ नै भको छ" मैले पसिना पुछ्दै मञ्जुको अनुहार पढेँ। एसएलसी सकेर हिड्दाको जस्तो धेरै पीर गरेको जस्तो लागेन मञ्जुले। सायद समय बित्दै जाँदा भुल्दै गईछिन् क्यारे। अथवा विचविचमा भईरहेका भेटघाटले 'भेट त भैहाल्दो रैछ नि’ भनेर ढुक्क मानेकी पनि हुन सक्छिन्। मञ्जुको ममी पनि भित्रबाट निस्कँदै भन्नुभो "ल बाबु त कति छिट्टै आईपुगेछन्, आमालाई सन्चै छ बाबु?"। मञ्जुको ममीलाई नमस्कार गर्दै भनेँ “सबैलाई सन्चै छ”। “अनि सर हुनुहुन्न कि क्या हो?” मैले घनश्यामसरको चालचुल नदेखेर सोधेँ। “बाबा, तलामाथि हुनुहुन्छ, म बोलाउँछु है?” मेरो कुरा पनि सबै नसुनि मञ्जु कुद्दै भित्र बसिन्, घनश्यामसरलाई बोलाउन। घनश्यामसर पनि तलामाथीबाट झर्नुभयो। हर्के पनि घाँसबाट आईपुग्यो। घरबाहिरको खाटकै छेउमा कोहि बसेर र कोहि उभिएरै धेरै किसिमका गफगाफ भए। घनश्यामसरले काठमाण्डौमा उहाँका सालाको ठेगाना पनि लेखेर दिदैँ भन्नु भयो “केहि गाह्रोसारो परे, मञ्जुका मामालाई यो फोन नंम्बरमा कन्ट्याक्ट गर्नु”। फोन भन्ने कुरा चाहीँ सुनेको थिएँ अलिअलि, तर कसरी गर्ने र के गर्ने भन्ने कुरा चाहीँ थाहा थिएन। घनश्यामसरले मञ्जुका मामाको बारेमा पनि अलिअलि बताउनुभयो। उनका मामा परराष्ट्रमन्त्रालयमा अधिकृत रहेछन्। पुरानो बानेश्वरमा घरै बनाएर बसेका छन् रे। “ओमदाई, मैले मामालाई चिठ्ठीलेखेकि छु लगिदिनुस् है, अनि अर्को बर्षबाट भाञ्जी पनि काठमाण्डौमा पढ्न आउने रे भनेर सुनाईदिनु होला” मामाको कुरा गर्नासाथ मञ्जुले मुसुक्क मुस्काउँदै बोलिन्। “भैहाल्छ नि, तर खै घर नै पत्ता लगाउन सक्छु कि सक्तिन?” आफूले नजानेको ठाँउको बारेमा निश्चित नभएपनि मञ्जुले भनेको मैले नाई भन्ने कुरै थिएन। मञ्जुको ममीले पनि भाईलाई भनेर अलिकति कुराउनी र अमिलो ठीक्क पारिदिनु भएको रहेछ। हामी सबैजनाले खाना खायौँ। मञ्जुको ममीले मलाई समेत भात पकाउनु भएकोरहेछ। हुनत मैले घरमा नै खाएर हिडेको थिएँ, तरपनि सबैको करले मलाई केहि गाँस खान बाध्य बनायो। भात खाँदा पनि काठमाण्डौकै गफभए। घनश्यामसरले करेन्टबाट र बाटो काट्दा पु-याउनुपर्ने ख्यालको बारेमा मलाई बताउनुभयो। दश पनि बज्नै लाग्यो। मेरो पनि साथीहरुलाई भेट्ने समय हुनलाग्यो। हिड्ने बेलामा घनश्यामसरले रु ५०० दिनुभयो। मैले समाउन नमान्दा नमान्दै पनि “आपतमा काम लाग्छ” भन्दै कर गर्नुभयो। घनश्यामसरसँग बिदा मागेँ। मञ्जुको ममीसँग पनि बिदा मागेँ। हर्केसँग पनि। मञ्जु पनि “म पनि ओमदाई सँगै स्कुलसम्म जान्छु” भनेर मसँगै हिडिन्। बाटोमा चाहीँ मञ्जुले अलिक पीर गरिन्। तर पनि “म अर्को बर्ष काठमाण्डौ आँउछु, अनि सँगै पढ्ने” भनेर उनी आफैंले आफ्नै चित्त बुझाईन्। मैले पनि उनको कुरामा सहि थपेँ “अब एक बर्षपछि त तिमी पनि आईहाल्छेउ नि काठमाण्डौ”। स्कुलको चौतारोमा मञ्जु र म पुग्दा डम्मर कार्की र हेम राई पहिल्यै आएर बसिरहेका रहेछन्। अरु साथीहरुको छेउमा लाज लागेछ क्यारे, मञ्जु पनि “म गएँ है, राम्ररी जानुस् काठमाण्डौ” भनेर बिस्तारै परैबाट बिदा भईन् र स्कुल भित्र पसिन्। बाईबाई पनि विस्तारै गरिन् कसैले नदेख्ने गरेर, तर मैले त देखि गएँ नि। हामी तीनजना पनि बाटो लागेउँ। क्रमशः
Read Full Discussion Thread for this article