Posted by: Ok April 13, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
सम्पूर्ण साझाबासी साथीहरुलाई नयाँ वर्ष २०६३ को शुभ-कामना। मैले त जनआन्दोलनमा घाईतेहरुको उपचार कोषमा सहयोग गरीसकेँ, तपाईँले नि? नेपालमा चलिरहेको जनआन्दोलनको पूर्णसफलता (Democratic Republic of Nepal) को कामना सहित मेरो कथाको अर्को भाग- ओके मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके भाग २ खण्ड ३५ २०४८ साल असोज ४ गते बुधबार। आज म मेरो जीवनको नयाँ यात्रा तय गर्दैछु। कहिल्यै नदेखेको र नभोगेको ठाँउमा जान लाग्दैछु म। न त गएको दिन बेलुका सुत्ने कुनै ठाँउको ठेगान छ, न त कोहि चिनजानको आफन्त नै। न त आफूसँग यसो एकदुई दिन खान पुग्ने पैसा नै छ, न त अबर परेको बेलामा यसो ओतलाग्ने ठाउँको ठेगान नै। तर नगैकन पनि भको छैन र मैले जानै पर्छ। मैले जानु मात्र हैन, केहि न केहि गर्नै पर्छ। अन्य कुनै उपाय नै छैन। मैले अठोट गरीसकेको छु, केहि गर्ने र केहि गर्नै पर्ने। अब पनि मैले केहि नगर्नु भनेको म मात्र नभएर मेरी आमाको आसालाई निरासामा बदल्नु हो, मेरा भाईबैनीको पढ्ने ईच्छालाई मार्नु हो, अझ भन्ने हो भने कहालीलाग्दो गरीवीमा सधैँ पिल्सिएर जीवनभरी अभावमै समयकाट्नु हो। झिसमिसमै उठेँ। भाईबैनी सुतिरहेका थिए। म काठमाण्डौ हिड्ने भनेर उनिहरु आज स्कुल नजाने कुरा हिँजै गरिसकेका थिए। म उठ्नुभन्दा अगाडि नै आमा उठेर मलाई पठाउन भनेर सामानहरु पोको पार्दै हुनुहुँदो रहेछ। हिँजो सुत्ने बेलामा आमालाई ‘म भोली एकाबिहानै बाटो लाग्छु है’ भनेको थिएँ। आमाको मन न हो, नचिनेको र नजानेको ठाँउमा जान लागेको छोरालाई सकेसम्म धेरै सामानहरु पठाउन पाए केहि दिनलाई मात्र पुगेपनि मनमा सन्तोक लाग्ने नै भयो। चारमाना गुन्द्रुक, एकपाथी आलुका मस्यौरा, चारमाना घ्यु, चारमाना जति भुटेका भटमास र मकै, एक बट्टा अमिलो, एकमाना जति टिम्मुर हालिदिनु भएछ, त्यहि सिमेन्टको प्लाष्टिकलाई काटेर बनाएको झोलामा। झोलाभरि टन्नै भयो सामान। उठेर गोठको धन्दा गरेँ। तारीगाई दुहेर घाँस हालेँ। पेटारी बाख्रोका आमाछोरालाई पनि घास झुण्डाईदिएँ, एकैठाँउमा। मिलीमिली घाँस खान थाले। घरको पछाडिपट्टीको डिलमा निस्केर यसैबर्ष बिराएर धान रोपेका तीन सुर्का खेतलाई हेरेँ। धान फूल्नै लागेको रहेछ। घर मास्तिरको पछौटे मकैबारीभित्र रोपेको भर्खरै गोडेको कोदोमा पनि नजर पुग्यो। घरैछेउको जँगलतिर पनि मन गयो। चराहरु चिरिंगविरींग गरेर बिहानीको आभास दिँदै थिए। यसपालीको बर्षामा आफैँले लगाएका स्कुस र काँक्राका लटरम्मै फलेका झ्यांगहरुमा पनि आँखा प-यो। गाँउवरिपरिका डाँडाकाँडाहरुलाई हेर्दै एकछिन टोहोलाएँ पनि। आज म यी सबैलाई छोडेर बाटो लाग्दैछु, कहिल्यै नदेखेको बाटो। मैले आज मेरो घरपरिबार छोडेर हिड्दैछु, कहिल्यै नभोगेको बाटो। आज म मेरो प्यारो ठाँउलाई छाड्दैछु, रहरले हैन परिस्थिति अनि बाध्यताले। आमाले मेरो लागि भनेर खाना पनि पकाईसक्नु भएछ, चामलकै भात। दशैँलाई भनेर जम्मा पारेका चामल नै प्रयोग गर्नु भएछ। भाईबैनी पनि उठे। म हिड्ने कुराले हो कि दाजु हिडेपछि पढ्न नपाउने कुराले हो, दुबै खिन्न जस्ता देखिन्थे। सायद दुबै पनि हुनसक्छ। आमाले भात पस्केर मलाई दिँदै भन्नुभो “छोरा, दशैँ नजिक आँउदैछ। परदेशमा भएका फर्केर आफ्नै घर आँउछन् दशैँमा। तँ चाहीँ हिड्न लागिस्। अब तँ ठूलो भैसकिस्। तैँले गर्न आँटेको काममा म तगारो हाल्दिन। आफ्नो जीउको ख्याल गर्नु! गारोसारो केहि परे फर्केर आउनु। यहाँ घर छँदैछ। दुःख गरेर भएपनि सँगै बसौँला”। आमाबाट यस्ता अर्तिहरु बर्सिनै रहे, मैले खाउन्जेल। खान मन त काँहा लागेको थियो र, तर पनि कोशिष गरेँ, खाए जस्तो गरेँ। बोल्न पनि मन लागेन। आमाले भनेका सबैकुराहरुमा सहर्ष स्बिकृतिको टाउको हल्लाएर उहाँलाई आज्ञाकारी छोराको आभास दिएँ। आमाका नजरमा आफ्ना छोराछोरीहरु जतिनै ठूला भएपनि सानै लाग्छन्। म पनि मेरी आमालाई सानै भन्ने सोची “अब म ठूलो भैसकेँ। मेरो चिन्ता नलिनुहोला” भन्दै म ठूलो र सक्षम भैसकेको कुरा गरेँ ताकी उहाँलाई मेरो कम चिन्ता लागोस्। भाईबैनी पनि नबोली छेउमा बसिरहे, कुरा सुनिरहे। “म काठमाण्डौ पुगेर पैसा कमाउन सकेँछु भने छिट्टै पठाउँछु। सकेसम्म भाईबैनीले पढ्न नछोड्नु” भाईबैनीलाई अर्ति पनि दिएँ। तर आफैँलाई थाहा छैन, काठमाण्डौ गएर म पैसा कमाउन पनि सक्छु कि सक्तिन। क्रमशः
Read Full Discussion Thread for this article