Posted by: gaalab April 7, 2006
Login in to Rate this Post:
0
?
धारो आयो
महिनौदेखि सुकेको मेरो घरको धारो,
आज फेरि फोहोराहरु झार्न थालेछ,
कस्तो अचम्म !
कस्तो अचम्म, जबकि यो चैते खडेरीमा,
"काकाकुल! काकाकुल!!" एकनासे प्यासी स्वरको साथी म छु
कान्तिपुरका हरेक कलधाराअगाडिका सुख्खा गाग्रीका साक्षी पनि छु
तर मेरो घरको धारो किन आएछ?
बच्चीले हतपत फिर्का घुमाउदै धारो खोली
"ओहो अंकल, कस्तो धमिलो पानी!! किन यस्तो रातो?"
"हैन छोरी!" मैले भनें, "यो धमिलो पानी हैन"
"यो त सोझा दुखियाको सङ्ग्लो रगत हो,
ठुला ठुला साँढेहरु जुध्दा, बिचमै परेका निमुखाहरुको शरीरको फगत कञ्चन रगत हो।"
"ओहो, किन यस्तो नुनिलो अंकल?" उसले सोधी
"यसमा आँसु मिसिएको छ, छोरी, ती साना मानिसको
जसले जीवनभर चेपमा परेरपनि कालोलाई कालो भन्न सक्तैन
यसमा पसिना मिसिएको छ, तिनै श्रमिकको
जसले दिनभरि माटोमा डटेर पनि माटोलाई आफ्नो भन्न सक्तैन"
"उसो भए धारो बन्द गरौं अंकल?"
"हो छोरी, यो जनताको रगत आउने धारो,
आँसु र पसिनाको फोहोरा आउने धारो,
हामीलाई खोल्नु छैन,
आऊ हामी सबै मिलेर यो फोहोर धारोलाई
टम्म पारेर टालिदिऔं, सधैंलाई माया मारिदिऔं।"
अस्तु: