Posted by: Ok March 22, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
बाटाभरी अनुमानको काठमाण्डौको मात्र कुरा खेल्यो मन्मा? 'कस्तो होला काठमाण्डौ? म काठमाण्डौ गएँ भने कसरी पढ्ने होला?' धेरै अनुमान पनि गरेँ, ठाँउको अनि मैले गर्नु पर्ने सँघर्षको। बेलुका आमालाई सबैकुरा भने। म यहिँ बसेपनि माष्टरको जागिर खान नसकिने जस्तो लागेको कुरा गरेँ। सबैले काठमाण्डौ गएर धेरै पढ्न मात्र सल्लाह दिएको कुरा पनि गरेँ। 'त्यतिकै यहाँ बस्नु भन्दा त काठमाण्डौ जान्छु, दुख गर्छु, पढ्न सकेँछु भने पढ्छु सकिनछु भने पनि एकदुईपैसा कमाएर ल्याउँछु' भन्ने आसयको कुरा पनि गरेँ आमासँग। मेरा यी काठमाण्डौ जाने भन्ने कुराले हो या किन हो, आमाले त्यो दिन साह्रै पीर गर्नु भयो "छोरा, अब तँ पनि हिडिस् भने त हाम्रो यहाँ पनि बिजोक हुँदो हो? मैले गर्न सकिन भने त हामी पनि भोकभोकै मर्छौँ होला! के खाएर बस्छन् यिनीहरु पनि? पढाई पनि छुट्दो हो। झन् तेरो त कस्तो कन्त बिजोक हुँदो हो त्यो पराया ठाँउमा। न आफ्ना नातेदार कोहि छ, न त एकदुई पैसा नै दिएर पठाउन सक्छु म तँलाई। खान नपार नेपालको सडकमा लम्पसार पर्दा पनि कसैले तँलाई हेर्दैन होला। शहरिया मान्छेहरु त हामी गाँउले जस्ता दयावान् हुँदैनन् छोरा। उनीहरुलाई त केबल धनको मात्र लोभ हुन्छ, आफ्नो मात्र स्वार्थ हुन्छ। बरु हामी यहाँ त मरिउँ भने पनि गाउँले मिलेर अन्तिम कार्य त गरिदेलान् कमसेकम, त्यो शहरमा त वल्लोघर पल्लोघरका मानिसहरुको पनि चिनचान बोलचाल हुन्न रे!" उहाँले मनका कुरा भन्दैजानु भयो "म त यस्तै कर्मलिएर जन्मेकि, जे लेखेको छ त्यहि हुने त हो नि। बाँचुन्जेल दशनंग्रा ख्याउँछु, सक्न छोडेका दिनबाट म बुढिको के नै काम छ र यो सँसारमा? तर तिमीहरुको कन्तबिजोक हुने भो। यी साना भाईबैनीको बिजोक हुने भो। तिमीहरुका बाउले छोडेर गए मेरो जिम्मामा। मैले तिमीहरुलाई केहि दिन सकिन। मैले केहि गर्न सकिन छोराछोरी हो। मलाई गालि नगर है!" यति भन्दा भन्दै आमा आफैँ रोईरहनु भको थियो। भाईबैनी पनि चुपलागेर हामी आमाछोराका कुरा सुनिरहेका थिए। उहाँको भक्कानिएको बोलीले मलाई अति नै नरामाईलो लाग्यो। यसो सोचेँ 'यत्रो पढे पनि अलिकति कमाई गरेर आमालाई एउटा खदरको फरिया किन्न सकिन, त्यहि दश ठाँउमा जोडेर आफैँले सिलाएको लगाईरहनु भएको छ। म जान्ने भएदेखि आमाको जीउले एउटै पनि नयाँ चोलोको अनुहार देखेको छैन, त्यहि टाल्दा टाल्दा बाक्लो भैसकको थोत्रे चोलो नै लगाउनु भको छ। चप्पलको कुरा त परै जाओस्, पटुका पनि फाटेका खोललाई जोडेर बनाउनु भको छ। मैले बरु आलु बेचेर केहि कपडा किनेर लगाएँ, भाईबैनीलाई पनि यसो हेर्नु हुने कपडा किनिदिएँ। तर आमाले कहिले पनि यो चिज किनेर मलाई ल्याईदे छोरा भनेर भन्नु भएन। हामीले खाँदा नै उहाँ अघाउनु भयो, आफू खाली पेट बसेपनि। हामीले लगाउँदा नै उहाँले न्यानो महसुस गर्नुभयो, आफू नांगै भएपनि। हाम्रो खुशिमा रमाउनु भयो, आफ्नो दुखलाई दबाएर। आफ्नो पुरै जीवन दुखमा काट्नु भयो, हामी छोराछोरीका लागि।' मलाई भित्रैबाट भक्कानो छुटेर आयो। बोल्न पनि नसक्ने भएँ। जुरुक्क उठेर सुत्न गएँ, केहि पनि नबोलि। सुत्दा सुत्दै अठोट गरेँ 'अब चाहिँ मैले दुईचार पैसा कमाउनु पर्छ, जसरी भए पनि। यहाँ जागिर नपाउने भएपछि म यहाँ बसेर केहि काम छैन, कतै केहि पार पनि लाग्दैन। म काठमाण्डौ नै जानु पर्छ र केहि गर्नु पर्छ। म हिँडेको केहि समयसम्म नराम्रो लाग्छ आमालाई, भाईबैनीको पनि पढाई छुट्छ होला। तर पनि मैले केहि त नगरी भएकै छैन। छिट्टैनै केहि काम गरेर अलिअलि भएपनि पैसा कमाउन सकेँ भने त सबै कुरा राम्रो हुँदै जान्छ नि। जिशिअ सरले भनेजस्तो दिँउसो काम गरेर राति पढ्न पाएँ भने त दुबैतिर पो काम बन्छ त!' म निकै एकोहोरो किसिमले आमाको कुरा पनि नसुनि काठमाण्डौ जाने निर्णय गरेँ। म यति धेरै निश्चित थिएँ कि मलाई काठमाण्डौ जान कसैले रोक्न सक्तैनथ्यो। तीन दिन ओखल्ढुंगा धाएर नागरिकता बनाएँ। यताउति खोजखबर गरेर काठमाण्डौसम्म पुग्नको लागि २५० रुपैँया जम्मा पारेँ। आमाले नमान्दा नमान्दै पनि रामपुरमा सँगै पढेका साथी डम्मर कार्की र हेम राईसँग २०४८ साल असौज ४ गते काठमाण्डौ जाने निधो गरेँ। त्यस दिन बिहान घनश्यामसरकोमा पनि निस्केर रामपुर स्कुलको चौतारोमा भेटेर काठमाण्डौ हिड्ने सल्लाह भयो। साझाल्याण्ड ८ चैत्र, २०६२
Read Full Discussion Thread for this article